एमसीसी संसद्मा ल्याएर सांसद्हरूलाई स्वविवेक प्रयोग गर्न दिनुपर्छ: प्रदीप ज्ञवाली (भिडिओ)

ज्ञवालीले भने, “संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धका कार्यदलहरुको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन।”

नेपालभ्युज

एमसीसी संसद्मा ल्याएर सांसद्हरूलाई स्वविवेक प्रयोग गर्न दिनुपर्छ: प्रदीप ज्ञवाली (भिडिओ)
फाइल तस्वीर

काठमाडौं। नेकपा (एमाले) उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले एमसीसीलाई संसदमा ल्याएर सांसदहरुलाई स्वविवेकले निर्णय गर्न दिनुपर्ने पक्षमा आफ्नो पार्टी रहेको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै ज्ञवालीले एमसीसी संसद्मा आउनुपर्ने बताए।

“सरकार क्लियर होस्, हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ। र, सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ,” नेता ज्ञवालीले भने, “संसदमा आउन नदिने, बन्द कोठामा, बन्द इजलासमा तथाकथित गठबन्धका कार्यदलहरुको त्यो अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न पाइँदैन।”

एमाले नेता ज्ञवालीले एमसीसी परियोजना एउटा विकास परियोजना भएको र त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको पनि प्रष्ट पारे।

“तर, त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ– भर्चुअल मिटिङहरु भइरहेका छन्। विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन्,” उनले भने, “एउटा विकास परियोजनालाई जानीजानी भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ।”

सत्ता गठबन्धनका नेताहरुले एमसीसीलाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको उनले बताए। उपमहासचिव ज्ञवालीले भने, “सत्तामा रहेका नेताहरु जानी–जानी भूराजनीतिक द्वन्द्व निम्त्याउँदै हुनुहुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved