डब्ल्यूएचओको चेतावनीः कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’

टेड्रोसले नियन्त्रणका उपायलाई अझै प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, “अझै बढी कोभिड–१९ सङ्क्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो।”

नेपालभ्युज

डब्ल्यूएचओको चेतावनीः कोभिडमाथि अहिल्यै विजय घोषणा गर्नु ‘असामयिक’

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले कोभिड–१९ माथि विजय घोषणा गर्न वा फैलावट रोक्ने उपायहरूको अहिल्यै अन्त्य गर्नु असामयिक हुने बताउनुभएको छ।

“कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ,” डब्ल्यूएचओ प्रमुख टेड्रोसले सञ्चारकर्मीसँग भने, “यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक पटक फरक फरक रूपमा विकसित भएर आएको छ।”

कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गर्ने यूरोपेली मुलुकको पहिलो सदस्य राष्ट्र डेनमार्कले मंगलबार ओमिक्रोन भेरिएन्टको सामान्य प्रभाव देखिएकै समय देशमा कोभिड नियन्त्रणका लागि सबै घरेलु उपायहरूलाई अन्त्य गरेको घोषणा गरेसँगै उनको यो भनाइ सार्वजनिक भएको हो।

डेनमार्कसँगै अन्य धेरै देशहरूले यस्तै सोच बनाइरहेका भन्ने समाचारहरू सञ्चारमाध्यममा आइरहेका छन्। यही विषयमा टेड्रोसले भने, “कुनै–कुनै देशहरूमा खोप र ओमिक्रोनको उच्च सङ्क्रमण र स्वास्थ्यमा गम्भीर समस्या देखिएन भन्दैमा कोभिड सङ्क्रमण अब फैलिँदैन भनिहाल्नु असामयिक र चिन्ताको विषय हो।”

टेड्रोसले नियन्त्रणका उपायलाई अझै प्रभावकारी रूपमा लागू गर्नुपर्नेमा जोड दिँदै भने, “अझै बढी कोभिड–१९ सङ्क्रमणको अर्थ अझ बढी मृत्यु हुनसक्ने सम्भावना हो।”

संयुक्त राष्ट्रसंघीय स्वास्थ्य निकायका प्रमुखले औंल्याएअनुसार १० हप्ताअघि दक्षिण अफ्रिकामा पहिलो पटक ओमिक्रोन देखिएदेखि सन् २०२० को तुलनामा करिब नौ करोड व्यक्ति सङ्क्रमित भएको रिपोर्ट छ।

यस्तो अवस्थामा नयाँ कोभिड विविधता हल्का छ भन्ने जानकारी भए पनि अहिले पनि संसारका अधिकांश क्षेत्रहरूमा अत्यधिक मृत्युमा घटना देखिइरहेका छन्। टेड्रोसले यो भाइरसलाई पूर्ण रुपमा रोक्न प्रयास गर्नु अत्यावश्यक रहेको बताए।

टेड्रोसले कुनै पनि देशलाई बन्दाबन्दीमा फर्कन आह्वान नगरेको भन्दै सबै देशहरूलाई खोप मात्र नभई हरेक उपकरण प्रयोग गरेर उनीहरूको जनताको सुरक्षा गर्न आह्वान गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved