ओरालो लाग्दैछ कोरोना संक्रमण, जोखिम भने कायमै छ

८ माघमा परीक्षण गरिएकामध्ये आधाजसो संक्रमित थिए भने अहिले एक चौथाईजति मात्र। भीडभाड हुने गतिविधि भएनन् भने संक्रमण घट्ने सम्भावना रहे पनि जोखिम भने कायमै रहेको ठम्याई छ स्वास्थ्यविद्हरूको।

ओरालो लाग्दैछ कोरोना संक्रमण, जोखिम भने कायमै छ

काठमाडौं। देश कोभिड महामारीको तेस्रो लहरबाट गुज्रिरहेको छ। कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनका कारण सिर्जित यो लहरबाट बिस्तारै मुक्त हुने संकेत देखा परिरहेछ। पछिल्ला केही दिनको संक्रमण दर ओरालो लागेको छ।

८ माघमा २० हजार एक सय ८७ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५४ संक्रमित थिए। अर्थात् सयमा पचास जना संक्रमित थिए। संक्रमण दर नै ५० दशमलव ८ प्रतिशत थियो।

१६ माघमा भने १३ हजार एक सय ४५ जनामा परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामात्रै संक्रमित छन्। अर्थात् संक्रमण दर आठ दिनमा २७ प्रतिशतमा झरेको छ। सयमा २७ जनामात्रै संक्रमित छन्।

स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रका अनुसार गत हप्ताको तुलनामा यो हप्ता कोरोना संक्रमणको औसत दरमा चार प्रतिशतले कमी आएको छ।

गत हप्ता देशभर एक लाख १६ हजार ६ सय १३ जनामा परीक्षण गर्दा ५५ हजार पाँच सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। अर्थात् सयमा करिब ४८ जना संक्रमित थिए।

यो हप्ता एक लाख एक हजार तीन सय ११ जनामा परीक्षण गर्दा ४२ हजार पाँच सय ९६ जनामा संक्रमण पुष्टि भएको छ। अर्थात् सयमा ४२ जना संक्रमित छन्। पछिल्लो हप्ताको तुलनामा संक्रमण दर ५ दशमलव ६ प्रतिशतले घटेको छ।

संक्रमण दर घटे पनि जोखिम भने कायम नै रहेको डा. मिश्र बताउँछिन्।

“बिस्तारै संक्रमण दरमा कमी आए तापनि अझै जोखिम भने कायमै रहेकाले स्वास्थ्यका मापदण्डहरू पूर्ण रूपमा पालन गर्नुपर्छ”, डा. मिश्र भन्छिन्।

२० पुस देखि ह्वात्तै संक्रमित संख्या बढ्दै गएपछि नेपालमा कोरोना भाइरसको तेस्रो लहर आएको स्वास्थ्य मन्त्रालयले बताएको थियो। तर जति तीव्र गतिमा संक्रमण फैलियो त्यति नै छोटो समयमै संक्रमण दरमा कमी पनि आउँदै जाने स्वास्थ्य विज्ञहरूको भनाइ थियो।

दक्षिण अफ्रिका, फ्रान्स र भारत लगायत देशको पछिल्लो अवस्था हेर्दा पनि ओमिक्रोन तीव्र गतिमा उत्कर्षमा पुग्यो त्यति नै छिटो तल झर्दै गरेको देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका महानिर्देशक डा कृष्णप्रसाद पौडेलले बताए।

अब बिस्तारै तेस्रो लहर उत्कर्षमा नपुगी ओरालो लाग्न सक्ने सम्भावना रहेको उनी बताउँछन्।

“पछिल्लो केही दिनयता संक्रमणदरमा केही कमी भने देखिएको छ”, उनले भने, “अब केही सभा सम्मेलन वा कुनै भिडभाड हुने खालका क्रियाकलाप भएनन् भने यो संख्यामा अझै कमी आउन सक्छ तर, भिडभाडजन्य क्रियाकलाप भयो भने बढ्दै पनि जान सक्छ त्यस कारण अहिले नै यो अवस्था आउन सक्छ भनेर भनिहाल्ने अवस्था छैन।”

अहिले विश्वभर नै फैलिरहेको ओमिक्रोन भेरिएन्ट छिटो फैलिने, छिटो लक्षण देखिने र छिटो निको हुने भएकाले पनि अब नेपालमा संक्रमितको संख्या घट्ने सम्भावना रहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको अनुमान छ।

पछिल्लो एक सातायता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउने बिरामीको संख्यामा आएको कमी र विभिन्न अध्ययन अनुसन्धानको आधारमा उनले त्यस्तो अनुमान गरेका हुन्।

“ओमिक्रोन भेरिएन्टले जति छिटो धेरै जनालाई संक्रमित बनायो त्यति नै छिटो निको पनि भएको र अन्य देशहरूको अवस्था हेर्दा पनि संक्रमण फैलिएको चार,पाँच हप्तापछि बिस्तारै ओरालो लाग्दै गएकाले नेपालमा पनि संक्रमणदर बिस्तारै कम हुने अनुमान लगाउन सकिन्छ”, डा. पुनले भने।

माघ ६ गते एकै दिन १२ हजार तीन सय ३८ जना कोरोना संक्रमित पुष्टि भएको थियो। अब एकै दिन त्यो भन्दा बढी संक्रमित हुने सम्भावना निकै कम रहेको उनले अनुमान गरे।

“मलाई जहाँसम्म लाग्छ यो तथ्यांक बिस्तारै कम हुँदै जान्छ”, उनले भने, “यद्यपि संख्यामा कमी आउँदै जानुको मतलब सबै एकै पटक ठिक हुन्छ भन्ने होइन, अझै पनि जोखिममा रहेका समूहलाई हामीले जोगाउनुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved