सभामुखले बोलाएको बैठकमा कांग्रेसले दोहोर्‍यायो संसदीय छानबिनको माग

नेपालभ्युज

सभामुखले बोलाएको बैठकमा कांग्रेसले दोहोर्‍यायो संसदीय छानबिनको माग

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसले सहकारीमा जम्मा गरिएको रकममा भएको ठगीको विषयमा छानबिन समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ।’

‘संघीय संसद्को आगामी अधिवेशनको विषयमा छलफल भएको छ। संसदीय छानबिनको कुरा राखेका छौँ। दोहोर्‍याएका छौँ’, कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।

उनले सहकारीमा लाखौँ बचतकर्ताले अर्बौं रुपैयाँ बचत गरेको र त्यसको हिनामिना भएको बताए। ‘त्यसमाथि छानबिन गर्न आवश्यक छ। गृहमन्त्रीको संलग्नता रहेको कुरा चारैतर्फबाट देखिएको छ। उहाँको राजीनामा माग गरेका छैनौँ। तर प्रश्न उठेपछि कमसेकम छानबिन समिति बनाएर छानबिन गर्नुपर्ने कुरा राखेका छौँ। हामीले विश्वास राखेका छौँ’, उनले भने।

उनले संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्री रवि लामिछानेलाई पनि राम्रो हुने बताए। ‘एकजना राम्रो नेतामाथि प्रश्न उठिरहनु राम्रो होइन। उहाँमाथि प्रश्न उठ्नु राम्रो होइन’, उनले भने।

सरकार कसरी प्रस्तुत हुन्छ, सोही अनुसार सदनमा आफूहरू प्रस्तुत हुने लेखकले बताए। ‘एकजना नेता संविधान र कानुनभन्दा माथि छन् भनेर सरकारले सोच बनाउँदैनहोला’, उनले भने, ‘सरकारलाई त्यति अविश्वास नगरौँ। सरकार समिति बनाएर जाँदा हुन्छ भन्ने ठाउँमा पुग्छ होला भन्ने मेरो विश्वासको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved