भुसाल भन्छिन्- महासचिवमा मेरो पनि दाबी छ, गुरुङले भने- मैले दाबी गरेको हैन

माओवादीभित्र भुसाल, पुन र गुरुङका अलावा जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेतालाई पनि महासचिव पदको दाबेदारका रुपमा प्रस्तुत गरिएको छ। तर, गुरुङ र बस्नेतले भने औपचारिक रुपमा आफूलाई त्यो कित्तामा उभ्याएका छैनन्।

भुसाल भन्छिन्- महासचिवमा मेरो पनि दाबी छ, गुरुङले भने- मैले दाबी गरेको हैन

काठमाडौं। नेकपा माओवादी (केन्द्र) की नेतृ एवं उर्जामन्त्री पम्फा भुसालले पार्टी महासचिव पदमा आफ्नो पनि दाबी रहेको बताएकी छिन्। अर्का नेता देव गुरूङले भने आफूले नभई साथीहरूले पार्टीभित्र रस्साकस्सी हुँदा विकल्पका रुपमा आफ्नो नाम प्रस्ताव गरेको बताए।

नेता वर्षमान पुनले चीनमा उपचारपश्चात् सोमबार स्वदेश फर्किने क्रममा पार्टीका महासचिव पदमा आफ्नो दाबेदारी स्वभाविक भएको प्रतिक्रिया दिएका थिए।

नेतृ भुसालले महासचिवका लागि निर्वाचन नहोस् भन्ने चाहे पनि सहमतिका आधारमा महासचिव चयन नहुने अवस्था आएमा आफ्नो पनि दाबेदारी रहने उनले बताइन्।

“हाम्रो चाहना सहमतिमै महासचिव तय होस् भन्ने हो,” नेतृ भुसालले नेपालभ्यूजसँग कुरा गर्दै भनिन्, “तर सर्वसम्मति नहुने अवस्थामा महासचिव पदका लागि मेरो पनि दाबेदारी रहन्छ।”

माओवादी केन्द्रका नेताहरुले सहमतिको आधारमा महासचिव लगायत पदाधिकारी चयन हुने बताउँदै गर्दा चीनबाट स्वदेश फर्किने क्रममा नेता पुनले भने आफू महासचिव पदको दाबेदार भएको बताएका थिए।

महासचिव पदकै लागि चर्चामा रहेका अर्का नेता देव गुरुङले भने आफू कुनै पदका लागि माग दाबी गर्ने पक्षमा नभएको बताउँछन्। महासचिवका लागि आफ्नो नाम पनि चर्चामा रहे पनि आफूले कुनै दाबी नगरेको गुरुङको भनाइ छ।

“महासचिव पदका लागि पार्टीभित्र रस्साकस्सी हुँदा पार्टीका नेताहरुले विकल्पका रुपमा मेरो नाम अघि सार्नुभएको हो,” माओवादीका मुख्य सचेतक समेत रहेका गुरुङले भने, “तर म आफैले भने कुनै दाबी प्रस्तुत गरेको छैन।”

११ देखि १८ पुससम्म पार्टीको आठौँ महाधिवेशन गरेको माओवादी पार्टीले अध्यक्षबाहेकको पदाधिकारी चयन गर्न बाँकी रहेको छ। चीनको सेञ्जनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचारर्थ नेता पुन स्वदेश फर्किएपछि पदाधिकारी चयन गर्ने पार्टीले बताएको थियो।

पार्टीको महाधिवेशन अन्तर्गत १२ गतेबाट बन्दसत्र शुरु हुँदा चीनमा रहेका नेता पुनले सोही दिन चिनियाँ उपमन्त्री चेन झाओसँग भेट गरेका थिए।

यस्तै उनले यसबीचमा चीनका अन्य अधिकारीसँग पनि भेटघाट गरेका छन्। पार्टीका अध्यक्ष दाहालसँगको सहमतिमा नै पुनले चिनियाँ नेताहरुलाई भेटे गरेको बताइए पनि उनले चीनबाट आफू महासचिव पदको दाबेदार भएको संकेत दिएको विश्लेषण हुने गरेको छ।

पार्टीको बन्दसत्रले पहिलो केन्द्रीय कमिटीको बैठकले अध्यक्ष सहित पदाधिकारी र स्थायी समिति सदस्य चयन गर्ने निर्णय गरेको थियो। तर, पार्टीको पहिलो केन्द्रीय कमिटीको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्दा पदाधिकारी र स्थायी समिति सदस्यको चयन भने ८ माघमा बस्ने केन्द्रीय कमिटीको अर्को बैठकले गर्ने निर्णय गर्‍यो। तर, कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन तीव्रगतिमा फैलिँदा पार्टीको केन्द्रीय कमिटीको बैठक नै बस्ने सकेको थिएन।

पार्टीले २७ माघमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ। उक्त बैठकले पार्टीका १४ पदाधिकारी लगायत स्थायी समिति सदस्यको नाम टेंगो लगाउने पार्टीका नेता हरिबोल गजुरेलले बताए। यद्यपि, कोरोना संक्रमण दर नघटेको अवस्थामा बैठक स्थगित हुनसक्ने सम्भावना पनि हुने नेता गजुरेलको दाबी छ।

माओवादीभित्र भुसाल, पुन र गुरुङका अलावा जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेतालाई पनि महासचिव पदको दाबेदारका रुपमा प्रस्तुत गरिएको छ। यद्यपी, गुरुङ र बस्नेतले भने औपचारिक रुपमा आफूलाई त्यो कित्तामा उभ्याएका छैनन्।

नेतृ भुसालका हकमा उपाध्यक्ष पद प्राप्त गरेको अवस्थामा महासचिव पद छोड्न सक्ने सम्भावना रहेको पार्टीका नेताहरुको दाबी छ।

महासचिव पदका प्रमुख दाबेदारका रुपमा अघि आएका शर्मासँग भने सम्पर्क हुन सकेन। यद्यपी, पार्टीको महाधिवेशन शुरु हुनुअघि सञ्चारमाध्यम मार्फत शर्माले महासचिवमा आफ्नो दाबी प्रस्तुत गरेका थिए। उनले भनेका थिए, “पार्टीका अध्यक्षलाई वैचारिक हिसाबमा चुनौति दिन सक्ने नेता नै म हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved