व्यापार घाटाको ग्राफ ठाडै उकालो , निर्यात बढे पनि प्रभाव शून्य

चालू आर्थिक वर्षको साउनदेखि पुषसम्मको अवधिमा नेपालमा तरकारी मात्रै २२ अर्ब ५१ करोड ५८ लाख ७१ हजार भन्दा बढी रकमको आयात भएको तथ्यांक छ। सो अवधिमा नेपालबाट ५२ करोड १५ लाख ४८ हजार बराबरको तरकारी निर्यात मात्रै भएको छ।

व्यापार घाटाको ग्राफ ठाडै उकालो , निर्यात बढे पनि प्रभाव शून्य

काठमाडौं। विदेशबाट उपभोग्य वस्तुकाे आयात ह्वात्तै बढेकाे तर त्यसको तुलनामा निर्यात नबढेपछि राष्ट्रिय ढुकुटीमा अमेरिकी डलर सञ्चिति घटेको छ ।

चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो ६ महीनाको वैदेशिक व्यापारको तथ्यांकले विदेशी मुद्राको सञ्चितमा चर्को दबाब झेल्नु परेको हो।

भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालले कूल ११ खर्ब १८ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। यसमध्ये आठ खर्ब ८० अर्ब ४९ करोड व्यापार घाटा व्यहोर्नुपरेको छ। अर्थात्, नेपालले उक्त अवधिमा विभिन्न देशबाट आयात गरेका मालवस्तु मात्रै ९ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रुपैयाँको छ।

नेपाल राष्ट्र बैंकको पाँच महीनाको आर्थिक सर्वेक्षणअनुसार, गत पाँच महीनाको आयातलाई मात्रै आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महीनाको वस्तु आयात धान्न मात्रै पर्याप्त रहने देखिन्छ। विगतका वर्षहरूको तथ्यांक हेर्दा यो अवधिमा एक वर्षभन्दा बढीको आयात धान्न सक्ने सञ्चिति रहन्थ्यो। चालू आर्थिक वर्षको शुरुदेखि नै बढेको उच्च आयातका कारण समग्र अर्थतन्त्रमा तरलता अभाव भइरहेको छ।

चालू आर्थिक वर्षको पुससम्ममा गरिएको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.१३ प्रतिशतले बढेको छ। सो अवधिमा नेपालले झण्डै १० खर्बको सामान आयात गर्दा करिब ९ खर्ब त घाटा मात्रै व्यहोरेको छ।

गत आर्थिक वर्ष २०७७/०७८ को सोही अवधिमा नेपालले विभिन्न देशबाट ६ खर्ब ६१ अर्ब २४ करोड रुपैयाँ बराबरको मालवस्तु मात्रै आयात गरेको थियो भने ६ खर्ब ४४ करोड व्यापार घाटा व्यहोरेको थियो। समीक्षा अवधिमा नेपालले गत आर्थिक वर्षको भन्दा साढे ३ खर्ब बढीको रुपैयाँको आयात गरेको छ।

अघिल्लो आर्थिक २०७६/०७७ को सोही अवधिमा (साउनदेखि पुस) मा नेपालको कूल व्यापार घाटा ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ थियो। सो अवधिमा नेपालले ५७ अर्ब २७ करोड बरारबारको मालवस्तु निर्यात गर्दा ६ खर्ब ९४ अर्ब ६९ करोड बराबरका मालवस्तु आयात गरेको छ।

तरकारी आयातमा पाँच अर्बले वृद्धि

चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा नेपालमा तरकारी मात्रै २२ अर्ब ५१ करोड ५८ लाख ७१ हजारभन्दा बढी रकमको आयात भएको तथ्यांक छ। सो अवधिमा नेपालबाट ५२ करोड १५ लाख ४८ हजार बराबरको तरकारी निर्यात मात्रै भएको छ।

गत वर्षको समीक्षा अवधिमा भने नेपालले १९ अर्ब २२ करोड ३९ लाख ९२ हजार रुपैयाँ बराबरको तरकारी निर्यात भएको थियो।

यस्तै फलफूल १२ अर्ब ८ करोड ७० लाख ६५ हजार रुपैयाँ बराबरको आयात भएको भएको छ। जबकि यो अवधिमा नेपालबाट दुई करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै फलफूल निर्यात गरिएको छ।

गत आर्थिक वर्षको समीक्षा अवधिमा नेपालले ८ अर्ब ४९ करोड ४१ हजार २७ हजार रुपैयाँ बराबरको मात्रै आयात गरेको थियो। विश्व बजारमा कोरोना महामारी फैलिएपछि विभिन्न देशबाट नेपाल फर्किएका युवा खेतीपातीमा लाग्ने कृषिजन्य आयातमा केही कमी आउने अपेक्षा गरिए पनि महामारीपछि आयात झनै बढेको देखिन्छ।

महामारी नआएको समय अघिल्लो आर्थिक वर्ष २०७६/०७७ का पहिलो ६ महीनामा भएको तरकारी आयातको तुलनामा चालू आर्थिक वर्षमा ह्वात्तै आयात बढेको तथ्यांक छ।

सो आर्थिक वर्षको साउनदेखि पुससम्ममा १६ अर्ब ४ करोड १ लाख ९ हजार बराबरको मात्रै आयात भएको थियो। जुन चालू आर्थिक वर्षको ६ महीनाको तुलनामा २७.२७ प्रतिशतले बढी हो।

चालू आर्थिक वर्षका ६ महीनामा एक खर्ब ५३ अर्ब ८१ करोड ६६ लाख बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। यसबाहेक ठूलो मात्रामा खाद्यान्न, खानेतेल, औषधिजन्य उत्पादन, रासायनिक मल लगायतका वस्तु आयात भएको छ।

लामो समयदेखि व्यापार घाटामा परेको नेपालले व्यापार नीतिमा सुधार ल्याउन नसक्दा व्यापार घाटा भने बढ्दो छ। स्वदेशी वस्तुको लागत महंगो पर्नु, अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा आयातको तुलनमा स्वदेशी वस्तुको निर्यात बढ्न नसकेको विज्ञहरू बताउँछन्।

उच्च निर्यातको प्रभाव शून्य

चालू आर्थिक वर्ष ६ महीनाको तथ्यांक हेर्दा वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि ठूलो छ अर्थात् चालू आर्थिक वर्षका पहिलो ६ महीनामा नेपालबाट भएको निर्यातमा ह्वात्तै वृद्धि हुँदै गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा ९५.४८ प्रतिशतले बढेको छ। अन्तर्राष्ट्रिय बजारबाट किनेको मात्रै नभई नेपालबाट बिक्री भएको सामानको मात्रा पनि बढेको छ।

तर, यो अवधिमा नेपालले निर्यात गरेको मालवस्तु स्वदेशी उत्पादन भने निकै कम छ। अर्थात् नेपालले निर्यात गरेको तथ्यांकले नेपालको व्यापारमा त्यति ठूलो योगदान भने दिन सकेको छैन।

नेपालबाट निर्यात भएको सबैभन्दा ठूलो मात्राको वस्तु तयारी घिउ र तेल रहेको छ। समीक्षा अवधिमा विभिन्न देशबाट आयात ७८ अर्ब नौ करोड १९ लाख १२ हजार रुपैयाँ बराबरको घिउ र तेलको कच्चा पदार्थ र तयारी आयात भएको छ भने निर्यात ६७ अर्ब ६७ करोड २३ लाख ०७ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। नेपालबाट सबैभन्दा बढी निर्यात भएको यो वस्तु कच्च्चा पदार्थ आर्यात गरी तयार गरी निर्यात गरिएको हो।

खुला बजार अर्थतन्त्रमा यसलाई नराम्रो नमानिए पनि निर्यातीत तथ्यांकमा खुशी हुनुपर्ने कारण नै नभएको अर्थशास्त्री डिल्ली खनालको तर्क छ। उनी भन्छन्, “तथ्यांक मात्रै बढेको हो। हाम्रो निर्यात भएको ठूलो हिस्सा आयात भएर यता प्याक गरिएको मात्रै हो। यसले समग्र अर्थतन्त्रमा केही पनि सकारात्मक प्रभाव पारेको छैन।”

त्यसपछि बढी निर्यात भएको वस्तु चिया, कफीजन्य वस्तु चार अर्ब ७५ करोड ५० लाख ७५ हजार रुपैयाँ बराबर भएको तथ्यांक छ। यस्तै सो अवधिमा एक अर्ब ८३ लाख ६९ हजार रुपैयाँ बराबरको औषधिजन्य वस्तु, तीन अर्ब ८७ करोड ९२ लाख १८ हजार रुपैयाँ बराबरको तयारी दाना निर्यात गरिएको हो।

नेपालले निर्यात गरी कम आयात हुँदा घाटा नभएको वस्तु कार्पेटजन्य सामग्री छन्। यस्ता सामग्री समीक्षा अवधिमा नेपालले चार अर्ब ६८ करोड २१ लाख २४ हजार बराबरको निर्यात गर्दा ३२ करोड ८९ लाख ३३ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको छ।

यस्तै धागोजन्य वस्तु पनि दुई अर्ब ६३ करोड ५२ लाख ७९ हजार रुपैयाँ बराबरको निर्यात गर्दा ९४ करोड ८३ लाख ४९ हजार रुपैयाँ बराबरको मात्रै आयात भएको तथ्यांक छ।

यो अवधिमा नेपालले चिया, कफी, वनस्पति घ्यु, तेल लगायतका मालवस्तु निर्यात गरेको छ। विभिन्न संगीत उपकरणहरूमा भने आयातभन्दा निर्यात बढी भएको तथ्यांकले देखाएको छ। अन्तरिक्षयान, वायुयान र पार्टपूर्जाको आयात र निर्यात पनि नेपालले गरेको देखिन्छ। नेपालबाट निर्यात भएका अन्य सामग्रीको मात्रा निकै कम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved