स्वास्थ्यकर्मी नै संक्रमित हुन थाले, बिरामीसँगै अस्पताल पनि मारमा

यतिबेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेका छन्। बिरामीको उपचारमा दिनरात खटिनुपर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएर आइसोलेशनमा बस्नुपर्दा बिरामीसँगै अस्पताल पनि समस्यामा परेको छ।  

स्वास्थ्यकर्मी नै संक्रमित हुन थाले, बिरामीसँगै अस्पताल पनि मारमा
फाइल तस्वीर

काठमाडौं। कोरोना संक्रमण बढ्न थालेपछि अस्पतालमा कार्यरत हुने स्वास्थ्यकर्मीको संख्या पनि बढ्न थालेको छ। जसले गर्दा अस्पताल प्रशासनलाई बिरामीको सेवा प्रवाहमा चुनौती थपिएको छ।

काठमाडौं उपत्यकामा रहेका सरकारी तथा निजी अस्पतालहरूमा कोरोना संक्रमितहरूको चाप बढिहरेको छ। जसका कारण यतिबेला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू नै संक्रमित हुन थालेका छन्। बिरामीको उपचारमा दिनरात खटिनुपर्ने स्वास्थ्यकर्मी नै संक्रमित भएर आइसोलेशनमा बस्नुपर्दा बिरामीसँगै अस्पताल पनि समस्यामा परेको छ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ हजार पाँच सय स्वास्थ्यकमीमध्ये तीन सयभन्दा बढी संक्रमित भइसकेका अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए। भने, “स्वास्थ्यकर्मी संक्रमित हुँदा सिफ्ट ड्युटी गर्ने, अप्रशेन थिएटरमा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ। रुटिन अप्रेशन गर्ने पनि समस्या भएकाले एकदमै जरुरत भएका बिरामीको मात्र अप्रेशन गरिरहेका छौं।”

मिर्गौला रोग विभाग, न्युरो सर्जरी विभागका डाक्टरहरू पनि संक्रमित भएर उपचार प्रवाहमा समस्या भएको उनले जानकारी दिए। “नर्सिङ कर्मचारी र हेल्पर नभएर वार्डहरू बन्द भएका छन्। अहिले अस्पतालको सेवा प्रवाहमा असहज अवस्था छ।”

वीर अस्पतालका स्वास्थ्यकर्मीको अवस्था पनि उस्तै छ। अस्पतालका एक हजार पाँच सय स्वास्थ्यकर्मीमध्ये १ सय ८० जना संक्रमित भइसकेका अस्पतालका सहनिर्देशक डा प्रज्ववल श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अस्पताललाई अहिले कोभिड-१९ अस्पताल बनाइएकाले नियमित सेवा दिन एकदमै गाह्रो भएको छ। कुनै विभागका त सबैजसो स्वास्थ्यकर्मी संक्रमित भएर होम आइसोलेसनमा बसेका पनि उनले बताए। अस्पतालले प्रदान गर्दै आइरहेको सेवा प्रवाहमा चुनौती थपिएको उनी पनि बताउँछन्।

भन्छन्, “पुरानो भवनमा दुई-तीन ओटा वार्ड मर्ज गरेर स्वास्थ्यकर्मी व्यवस्थापन गरिरहेका छौं। नर्सिङ स्टाफ र मेडिकल अधिकृत करारमा लिन लागेका छौं।” ओमिक्रोन भेरिएन्ट संक्रमणले अस्पताल उपचार प्रभावित हुनसक्ने डा श्रेष्ठले संकेत गरे। भने, “यो लहरमा भौतिक संरचना अभाव नभए पनि स्वास्थ्यकर्मीको अभाव हुनसक्ने देखिएको छ।”

त्रिवि शिक्षण र वीर अस्पतालको जस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी पनि कोभिड-१९ संक्रमित भएका छन्। पहिलो लहरदेखि नै अग्रपंक्तिमा खटिएर काम गरेका उक्त अस्पतालका ३१५ जना स्वास्थ्यकर्मीमध्ये १५ जना संक्रमित भएका अस्पतालमा सूचना अधिकारी नवराज गौतमले जानकारी दिए। भने, “अहिलेसम्म उपचारमा केही समस्या आएको छैन, थप स्वास्थ्यकर्मीलाई पनि संक्रमण भए अवस्था जटिल हुन सक्छ।”

मीनभवनस्थित निजामती कर्मचारी अस्पताल (सिभिल) को अवस्था अझै जटिल छ। कोरोनाको चपेटामा अस्पताल फसेको अस्पतालका डा विदेश विष्टले जानकारी दिए। अस्पतालका २५६ जना स्वास्थ्यकर्मीमध्ये ११५ जना संक्रमित भएका उनले जानकारी दिए।

“अस्पतालका ६० प्रतिशत स्वास्थ्यकर्मी संक्रमित भएका छन्। अहिले अस्पतालले दिँदै आएको सेवा दिन निकै समस्या भएको छ”, उनले भने, “अस्पतालको ओपीडी बिरामी भरिभराऊ छ। त्यहाँ थेग्न नसकेर अर्को वार्ड खोलेका छौं, अर्को वार्ड थपेका छौं, अहिले ओपीडी वार्डमा स्वास्थ्यकर्मीको अभाव छ।”

स्वास्थ्यकमी संक्रमित भएको पाँच दिनपछि बोलोएर उपचार काममा खटाउने अस्पताल प्रशासनले निर्णय गरेको उनले जानकारी दिए। भन्छन्, “स्वास्थ्यकर्मी थप्न अस्पतालले धान्न सक्दैन, पाँच दिनपछि संक्रमित स्वास्थ्यकर्मीलाई नै काममा बोलाउन लागेका छौं।”

पाटन विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी पनि संक्रमित छन्। अस्पतालका कार्यरत १२ सय स्वास्थ्यकर्मीमध्ये एक सय बढी संक्रमित भएका अस्पतालका डा. रवि शाक्यले जानकारी दिए। “स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रवाहमा चुनौती थपिएको छ त्यसैले कोरोनाका लक्षणहरू कम भएपछि (संक्रमण भएको १० दिन) अस्पताल आउन भनिएको छ।” उनी भन्छन्, “साना विभागका प्रायः सबै स्वास्थ्यकर्मीलाई एकैपटक संक्रमित हुनुभयो, काम गर्न निकै गाह्रो भएको छ।”

ननकोभिड सेवा लिन आउने बिरामी घटेकाले उताको स्वास्थ्यकर्मी कोभिड वार्डमा परिचालन गरेर सेवा दिनुपरेको उनले बताए। “चुनौती थपिए पनि बन्द नै गर्नुपर्ने गरी जनशक्ति अभाव भएको भने छैन। कतिपय संक्रमित स्वास्थ्यकर्मी फर्किन थाल्नुभएको छ,” उनले बताए।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालका स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। अस्पतालका ३०० जना स्वास्थ्यकर्मीमध्ये ६० जना स्वास्थ्यकर्मी संक्रमित भएको प्रहरी उपरीक्षक डा प्रवीन नेपालले जानकारी दिए।

स्वास्थ्यकर्मी सक्रमित हुँदा अस्पतालमा उपचार दिन चुनौतीपुर्ण भएको उनी बताउँछन्। उनी भन्छन्, “अहिले स्वास्थ्यकर्मीलाई डबल ड्युटीमा खटाएका छौं।” नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मीहरूको अवस्था पनि उस्तै छ। अस्पतालमा कार्यरत ४६० स्वास्थ्यकर्मीमध्ये ६७ जना संक्रमित भएको डीआईजीपी डा सुन्दर हैजुले जानकारी दिए। भने, “अहिले अस्पतालमा स्वास्थ्यकर्मी कमी छ त्यसैले करारमा कर्मचारी थप्न विज्ञापन गर्न लागेको छौं।”

कोरोना उपचार गर्ने अस्पतालका स्वास्थ्यकर्मी संक्रमित भएर सेवा प्रवाहमा चुनौती थपिएको प्रस्ट छ।

स्वास्थ्यकर्मी संक्रमित हुनु गम्भीर अवस्था भएको जनस्वास्थ्यविद् शरद वन्त बताउँछन्। भन्छन्, “स्वास्थ्यकर्मी नै संक्रमित भएर सेवा प्रदान गर्न समस्या पर्न आउँछ भन्ने कल्पना वा प्रक्षेपण गरेभन्दा फरक हो। स्वास्थ्यकर्मीलाई सुरक्षित गराउने विधिलाई कार्यान्वयन गर्नुपर्छ।”

अस्पतालहरूमा स्वास्थ्यकर्मी अभाव हुन थाले त्यसको विकल्पमा पनि सोच्नपर्नेमा उनले जोड दिए। अस्पतालमा स्वास्थ्यकर्मी अभाव भए तुरन्त व्यवस्थापन गरि परिचालन गर्न उनले सुझाएका छन्।
स्वास्थ्यकर्मीलाई सुरक्षित राख्ने विधि, गाइडलाइन्स र निर्देशिका छन्। त्यसका लागि प्रविधिहरू पनि छन्। ती प्रविधिको सही प्रयोग भयो भने स्वास्थ्यकर्मीलाई संक्रमण हुनबाट बचाउन सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved