सिटामोल अभाव, आजबाट केही सहज हुने विभागको आश्वासन

घर–घरमा जम्मा गरेकाले कोभिड महामारी बढेसँगै सिटामोल अभाव भएको अधिकारीहरूको तर्क छ। यद्यपी उत्पादन र आयात बढाउन निर्देशन दिएको विभागले बताएको छ।

सिटामोल अभाव, आजबाट केही सहज हुने  विभागको आश्वासन

काठमाडौं। कोभिड महामारी दिन दुगुना, रात चौगुनाको दरले बढ्दो छ। कोरोना संक्रमणको प्रमुख लक्षणमध्ये एक हो, ज्वरो। र, ज्वरो घटाउन सामान्यतः प्रयोग गरिने औषधी हो, सिटामोल।

विडम्बना अहिले बजारमा त्यही सिटामोलको अभाव छ।

कपनको सरस्वतीनगरस्थित गिता फार्मेसिमा एक हप्तादेखि सिटामोलको अभाव भएको त्यहाँ कार्यरत एक कर्मचारीले बताइन्। उनले आफ्नो फार्मेसीमा मात्रै नभई बजारमा नै अभाव सिर्जना भएको जानकारी समेत दिइन्।

“दैनिकजसो ३० देखि ३५ जना सिटामोल किन्न आउँछन रित्तो हात फर्काउनुको विकल्प छैन”, उनले भनिन्।

काठमाडौंकै गोपीकृष्णस्थित देव दर्शन फामेर्सीमा पनि उस्तै समस्या छ। एक सातादेखि सिटामोल अभाव भएको फार्मेसी सञ्चालक बिष्णु अधिकारीले जानकारी दिए।

“अहिले बजारमा कहाँ छ त सिटामोल ?”, प्रतिप्रश्न गर्दै उनले भने, “हिजो कलङ्कीमा गएर साथीकोबाट एक बट्टा लिएर आएको त्यहि पनि सकियो।”

थोक विक्रेताकहाँ नै सिटामोल उपलब्ध नभएको उनले जानकारी दिए।

चावहिलको चारु फार्मेसिमा पनि उस्तै समस्या छ। फार्मेसिका एक कर्मचारीले भने, “अहिले बजारमा सिटामोल सटेज छ। एकवर्ष भइसक्यो बजारमा सिटामोल अभाव भएको अहिलेसम्म स्टक राखेको सिटामोल बिक्रि गरिरहेका थियौं।”

कोभिड फैलिएर अचानक सबैलाई चाहिएकाले स्टकमा रहेको सिटामोल सकिएको उनको तर्क छ।

पुरानो बानेश्वरस्थित नकुल फार्मेसिमा पनि सिटामोलको अभाव छ। सिटामोल धेरैले प्रयोग गर्ने औषधी भए पनि अहिले केही मात्रामा अभाव सिर्जना भएको फार्मेसीमा कार्यरत प्रदिप घर्ति मगर बताउँछन्।

“हामीसँग केही मात्रा स्टक थियो आजबाट त्यो पनि सकियो”, मगरले भने।

माग गरे अनुसार सिटामोल आपूर्ति नभएको उनको गुनासो छ।

चाकुपाटस्थित पाटनढोका फार्मेसिमा पनि एक हप्तादेखि नै सिटामोलको अभाव छ। फार्मेसिका एक कर्मचारीले ६ वटा ट्याबलेट देखाउँदै भने, “हामीसँग अहिले भएको सिटामोल यत्ति नै हो बजारमा सिटामोलको चरम अभाव छ। जताततै बुझिसक्यौ काहि छैन औषधि दैनिक ४० देखि ४५ जना सिटामोल खोज्दै आउँछन् रित्तो हात फर्किन्छन्।”

अहिले सिटामोलको अभाव यी फार्मेसिमा मात्र नभई काठमाडौं उपत्यकामा नै सिर्जना भएको समस्या हो।

कोरोना महामारीका कारण माग र पूर्ती नमिलेका कारण बजारमा सिटामोलको अभाव देखिएको औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेयर श्रेष्ठ बताउँछन्।

ओमिक्रोन भेरिएन्टबाट संक्रमित हुनेको संख्या वृद्धि भएपछि धेरैजसो व्यक्तिले सिटामोल किनेर स्टक राख्दा बजारमा अभाव सिर्जना भएको उनको तर्क छ।

बजारमा सिटामोल अभाब हुन नदिन औषधिसँग सम्बन्धित निकायहरूबिच छलफल गरि स्वदेशी कम्पनीले उत्पादन गर्ने, आयातकर्ताहरूले आयात गरेर भए पनि बजारमा अभाव सिर्जना हुन नदिने निचोड निकालिएको उनले जानकारी दिए।

“अबको दुई चार दिनमा पाँच सात लाख ट्याब्लेट बजारमा पठाउँछौ भनेर आश्वासन पाएका छौं। दुई–चार दिनमा अलि सहज हुनेमा हामी विश्वस्त छौं”, उनले भने।

अहिले स्वदेशी २५ ओटा कम्पनीहरूले सिटामोल उत्पादन गर्छन्। त्यस्तै भारत र बंगलादेशका पाँचवटा कम्पनिका सिटामोल आयात हुने श्रेष्ठ बताउँछन्।

औषधी व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले पनि घरघरमा जम्मा गर्ने क्रम बढेकाले सिटामोलको अभाव भएको तर्क गरे। उनले आज (६ माघ)बाटै सहज उपलब्ध हुने दाबी गरे।

“उत्पादनमा समस्या थियो र समस्या पनि हो त्यति लागतमा हामी उत्पादन गर्न सक्दैनौ भन्ने उत्पादकहरूको भनाई हो। आज (५ माघ) विभागले उत्पादकसँग छलफल गरी परासिटामोल उत्पादन गर्ने र थोक बिक्रेता मार्फत पठाउने सहमती भएको छ”, केसीले भने।

सिटामोलको अभाव भएको यो पहिलोपटक भने होइन। चार महीनाअघि पनि सिटामोलको अभाव भएको समाचार नेपाल भ्यूजले प्रकाशन गरेको थियो।

पारासिटामोलको चरम अभाव

सिटामोलको अभाव हुनुको मुख्य कारण मूल्य समायोजन नभएको उत्पादकर्ताहरूको तर्क छ। सिटोमोल उत्पादकहरू यसको मूल्य समायोजन गर्न सरकारसँग माग राख्दै आइरहेका छन्।

कच्चा पदार्थको मुल्यवृद्धि भएकाले घाटामा सिटामोल उत्पादन गरिरहेको गुनासो उत्पादकहरूले गर्दै आइरहेको श्रेष्ठ बताउँछन्। भन्छन, “१५ वर्ष पहिला तोकेको मुल्यमा दिन गाह्रो छ भनेकाले पनि अलिकति समस्या आइरहेको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved