पारासिटामोलको चरम अभाव

नेपालमा पाइँदैन, भारत जान्छ!

मानिसलाई सामान्य ज्वरो हुँदा चाहिने अत्यावश्यक औषधि हो पारासिटामोल। देशका जुनसुकै भागमा निःशुल्क पाइने यो औषधि यतिबेला भने अभाव छ।

पारासिटामोलको चरम अभाव

काठमाडौं। “दाई मम्मीलाई ज्वरो आएको छ पारासिटामोल दिनु न,” एक महिलाले औषधि पसलेसँग मागिन्। जवाफमा पसलेले भने, “अँह पारासिटामोल त छैन बैनी, पारासिटामोलकै काम गर्ने कोडोमोल छ, यसले रुघाखोकी ज्वरो सबै सन्चो गर्छ।”

सिटामोल माग्ने महिलाले केही नभनी हातमा दुई चक्की कोडोमोल लिँदै पसलेलाई १५ रुपैयाँ थमाइन्। जबकि दुई चक्की पारासिटामोललाई भने दुई रुपैयाँ मात्र पर्छ। त्यो पनि सरकारले निःशुल्क वितरण गरेको ठाउँमा उपलब्ध नभए।

यो दृश्य ललितपुरको पाटनढोका फार्मेसीको भए पनि नेपालका प्रायः फार्मेसीमा यस्तै अभाव देखिन थालिसकेको छ।

मानिसलाई सामान्य ज्वरो हुँदा चाहिने अत्यावश्यक औषधि हो पारासिटामोल। यो नेपालका जुनसुकै भूभागमा राज्यले निःशुल्क वितरण गर्दै आइरहेको छ। जुनसुकै खालका बिरामीलाई ज्वरोको मात्रा बढ्दा प्रायः डाक्टरहरूले यसलाई नै सिफारिस गर्ने गर्छन्। तर अहिले नेपालमा पारासिटामोल नै अभाव छ।

ललितपुरकै चाकुपाटस्थित लसकुस फार्मेसीमा पनि केही दिनदेखि पारासिटामोलको ठाउँमा ‘फ्लेक्जन’ दिने गरिएको त्यसका सञ्चालक बताउने गर्छन्। “उत्पादक कम्पनीहरूले पारासिटामोल नै उत्पादन गर्न छोडिसके, कसरी पाइन्छ?”, उनले हामीलाई अभावबारे उल्टै प्रश्न गरे।

यस्तै काठमाडौंको रातोपुलस्थित रिदम फार्मेसीमा पनि १५-२० दिनदेखि सिटामोल आउनै ठप्प भइसकेको छ। फार्मेसी सञ्चालक भन्छन्, “एक महिना पहिला त केही दिन बिराएर सिटामोल आइरहेको थियो तर पछिल्ला केही दिनयता आउनै छोड्यो। सस्तैमा ग्राहकहरूले पाउँथे, अहिले महँगो पैसा तिरेर पारासिटामोलको काम गर्ने अन्य औषधिहरू किनिरहेका छन्।”

चरम अभाव

२० वर्षदेखि सामाखुसीमा स्वयम्भू फर्मासिटिकल सञ्चालक गरिरहेका शंकर मर्हजन भन्छन्, “पारासिटामोलको चरम अभाव देखिएको छ, एक दुई-वटा कम्पनीले मात्र उत्पादन गरिहेकाले शून्य अवस्थामा पुग्न पाएको भने छैन।”

उनले थपे, “बजारमा एक-दुई वर्षदेखि नै पारासिटामोल अभाव देखिरहेको छ, तर हामीजस्ता वितरकहरूको दबाबले गर्दा मात्र केही औषधि उत्पादन कम्पनीहरूले उत्पादन गरिहेका छन्।”

उत्पादकहरूले पारासिटामोल बनाउँदा एक लाख खर्च गर्छन् भने त्यसलाई बेच्दा ४०-५० हजार मात्र आउँछ। जसले गर्दा लागत खर्च नै नउठेपछि उनीहरूले उत्पाद नै गर्न बन्द गरेको हुन सक्ने महर्जन अनुमान गर्छन्।

उत्पादकहरूले पारासिटामोल बनाउन प्रयोग गर्ने कच्चा पर्दाथ अन्तर्राष्ट्रियस्तरमै बढिरहेको र यही अवस्थामा पुरानै मूल्यमा बेच्न नसक्ने भन्दै उत्पादन नै नगर्ने गुनासो गरेका पनि उनको बुझाइ छ। पहिला आफूले पाँच वटा कम्पनीबाट पारासिटामोल ल्याउने गरेकोमा अहिले एउटा कम्पनीको निको ट्याब्लेट मात्र आएको त्यो पनि २० लाखमा माग गर्दा २० हजार मात्र पाइरहेका उनले गुनासो गरेका छन्।

मानिसलाई सामान्य ज्वरो हुँदा चाहिने अत्यावश्यक औषधि हो पारासिटामोल। यो नेपालका जुनसुकै भूभागमा राज्यले निःशुल्क वितरण गर्दै आइरहेको छ। जुनसुकै खालका बिरामीलाई ज्वरोको मात्रा बढ्दा प्रायः डाक्टरहरूले यसलाई नै सिफारिस गर्ने गर्छन्। तर अहिले नेपालमा पारासिटामोल नै अभाव छ। 

उनी नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका उपभोक्ता अध्यक्ष सदस्य पनि हुन्। उनीहरूले पटक पटक औषधि व्यवस्था विभागलाई पारासिटामोलमा भएको अभावबारे दबाब दिए पनि निर्णय नआइसकेको उनले बताए।

महर्जन थप्छन्, “पटक पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र औषधि व्यवस्था विभागसँग सिटामोल नपाएर जनता मर्ने अवस्थामा पुगिसके भन्दा पनि उनीहरूले केहि निर्णय लिन सकिरेका छैनन्।”

सात/आठ वटा पसल धाएपछि मात्र सिटामोल पाइने अवस्था रहेकाले प्रस्ट रुपमा बजारमा परासिटामोलको चरम अभाव रहेको नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ बताउँछन्। उनको बुझाइअनुसार उत्पादक कम्पनीहरूले १२-१३ वर्ष पहिलेकै एक रुपैयाँ मूल्यमा सिटामोल उत्पादन गर्न नसक्ने गुनासो गरेका छन्।

“कुनै पनि कम्पनीले घाटा खाएर उत्पादन गर्न चाहँदैनन्, लगत्तै उठ्न सकिरहेको छैन भने राज्यले यसमा ध्यान पुर्‍याएर उनीहरूलाई केही समयका लागि भए पनि मूल्यमा केही सहयोग गरेर पारासिटामोलको अभावलाई कम गर्न सकिने धारण उनले राखे।

“बिरामीको होस् वा उपभोक्तको, औषधि पाउनु उनीहरूको नैसर्गिक अधिकार रहेकाले राज्यले यसमा छिटो ध्यान पुर्‍याउनुपर्छ”, उनले सुझाए।

अभाव हुने कारण

कोरोना संक्रमणकालमा विश्वभर पारासिटामोल बनाउने कच्चा पर्दाथको मूल्य ह्वात्तै बढ्यो। पारासिटामोल र जीवनजललगायत अत्यावश्यक औषधि २०६४ सालमा मूल्य निर्धारण भएयता मूल्य समायोजन हुन नसकेको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए।

सिटामोल उत्पादन गर्न चाहिने कच्चा पर्दाथको मूल्य बढिरहेको अवस्थामा अहिले पुरानो मूल्यमा सिटामोल दिन नसकिने स्वदेशी उत्पादकहरू बताउँछन्। “उहाँहरूको कुरा स्वाभाविक पनि हो,” केसीले भने, “तर कोरोना महामारीको समयमा सिटामोलको मूल्य बढाउँदा जनमानसमा नकारात्मक असर पर्न जान्छ, त्यसैले मूल्यवृद्धि समायोजन रोकिएको छ।”

औषधिको उत्पादन, वितरण र मौज्दात सन्तुलन कायम गर्न विभागले निर्देशनसमेत दिएको उनले जानकारी दिए।

सरकार पनि मृल्यवृद्धि समायोजनमा सकारात्मक देखिएको र अहिलेको परिस्थितिलाई मनन गर्दै उत्पादक कम्पनीहरूले सिटामोल उत्पादन कार्यलाई रोक्न नहुने उनले तर्क गरे। भन्छन्, “केही कम्पनीलाई सिटामोल उत्पादन गर्ने निर्देशन दिसकेका छौं।”

एक दुई दिनमै सहज रूपमा पाउन सकिने उनले बताए। उनका अनुसार नेपालमा हालसम्म ३३ वटा कम्पनीले पारासिटामोल उत्पादनका लागि अनुग्यपत्र दिइसकेका छन् तर आठ वटा कम्पनीहरूले मात्र सक्रिय रूपमा उत्पादन गरिरहेका छन्।

तत्कालै पारासिटामोल अभाव टार्न दुई-तीन दिनमै विराटनगरबाट सातदेखि आठ लाख ट्याब्लेट ल्याउन लागिएको पनि उनले जानकारी दिए।

भारत लगिँदै नेपाली पारासिटामोल

नेपाल औषधि उत्पादन संघ (एपोन) का महासचिब विप्लव अधिकारीका अनुसार नेपाली उत्पादन कम्पनीहरूले पहिले आठ करोड सिटामोल तयार गर्थे। तर कोरोनाकाल अर्थात् यो दुई वर्षमा ३० करोड पारासिटामोल उत्पादन भएका उनले दाबी गरे।

गएको साउनदेखि भदौसम्म एक करोड पारासिटामोल बजारमा गइसकेका र भदौको अन्तिम (शुक्रबार) तिर ५० लाख सिटामोल बजारमा लगिएको उनले बताए। यसरी बजारमा प्राप्त पारासिटामोल पठाउँदा पनि अभाव देखिनुको प्रमुख कारण अस्वाभाविक रूपले मानिसले घरमा स्टोर गर्नाले पनि भएको अधिकारी तर्क गर्छन्।

“अहिले बजारमा पारासिटामोल अभाव छ, तर छिमेकीसँग माग्यो भने पाइन्छ,” उनले घुमाउरो पाराले भने, “नेपालमा अभाव देखिनुको अर्को कारण भनेको नेपालमा उत्पादित पारासिटामोल भारत जानु हो।”

भारतमा बेच्दा दोब्बर मूल्य पाउने भएपछि केहीले गुपचुप तरिकाले ‘तस्करी’ गरिरहेको उनले तर्क गरे। तर यस विषयमा आधिकारिक तथ्य भने फेला नपरेको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved