प्रधानमन्त्री ओलीले भने – जनयुद्ध हिंसा हो

नेपालभ्युज

प्रधानमन्त्री ओलीले भने – जनयुद्ध हिंसा हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र सङ्घर्ष जनयुद्ध नभएर हिंसा भएको बताएका छन् ।

सिंहदरबारमा प्रजातन्त्र दिवसको सन्दर्भमा आयोजित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमासमेत मनाउन आग्रह गरे ।

उनले भने, “यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ ।”

“मुलुकका लागि यो सबैभन्दा ठुलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरु छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरु छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।” उनले थपे ।

साथै, प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।

प्रधानमन्त्रीका अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु एवं राज्यमन्त्रीहरु, काठमाडौं महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुखहरु रहनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved