योगी आदित्यनाथ फेरि बन्लान् त उत्तर प्रदेशको मुख्यमन्त्री ?

अघिल्लो पटक जस्तै यसपटक पनि हिन्दुत्वकै एजेण्डा बोके पनि भाजपालाई यसपटकको विधान सभा निर्वाचनमा उत्तर प्रदेशमा पूर्ववत् सफलता हासिल गर्न हम्मेहम्मे पर्ने देखिन्छ।

नेपालभ्युज

योगी आदित्यनाथ फेरि बन्लान् त उत्तर प्रदेशको मुख्यमन्त्री ?

काठमाडौं। आगामी महीना भारतका पाँच राज्यमा विधान सभा निर्वाचन हुँदैछ। ती निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले चार स्थानमा हाल मुख्यमन्त्री रहेका व्यक्तिलाई नै मुख्यमन्त्रीका रूपमा अघि सार्दैछ।

विधानसभा निर्वाचन अन्तर्गत उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भाजपाले पुरानै मुख्यमन्त्रीलाई दोहोर्‍याउने भएको हो।

पार्टीका निर्वाचन प्रचार सामग्रीमा पनि बहालवाला मुख्यमन्त्रीकै तस्वीरलाई प्राथमिकता दिइएको छ। यसको अर्थ हो, निर्वाचनको परिणाम भाजपाको पक्षमा आएमा सरकारको नेतृत्व बहालवाला मुख्यमन्त्रीले नै गर्नेछन्। पार्टीले स्पष्ट बहुमत नपाएको अवस्थामा समीकरण बद्लिन सक्ने अवस्थालाई भने नकार्न सकिँदैन।

पार्टी नेतृत्वले नै विधानसभा निर्वाचन अन्र्तगत चार राज्यमा हाल रहेका मुख्यमन्त्रीकै नेतृत्वमा निर्वाचनमा सहभागी हुने घोषणा गरेको हो।

भाजपाका तर्फबाट उत्तर प्रदेशमा योगी आदित्यनाथ, उत्तराखण्डमा पुष्कर सिंह, गोवामा प्रमोद सावंत र मणिपुरमा बिरेन सिंह चुनावी अभियानको केन्द्रमा छन्।

भाजपाले हरेक निर्वाचनमा भिन्दाभिन्दै रणनीति लिने गरेको यसअघिका चुनावी अभ्यासले देखाएका छन्। यसअघि आसाममा भएको विधानसभा निर्वाचनमा पार्टीले तत्कालीन मुख्यमन्त्री सर्वानन्द सोनोबाललाई मुख्यमन्त्रीका रूपमा प्रस्तुत गरेको थिएन। निर्वाचन अभियानमा नै स्पष्ट रूपमा मुख्यमन्त्रीको फैसाला निर्वाचन परिणामपछि तय गर्ने बताइएको थियो।

आसामको विधानसभा निर्वाचनमा पार्टीले सामूहिक रूपमा निर्वाचनमा प्रतिस्पर्धा गर्दै पार्टीको निर्वाचन चिह्न कमलमा भोट मागेको थियो। यसले निर्वाचन परिणामपछि नै पार्टीले आवश्यक परेको अवस्थामा आफ्नो नेतृत्व चयन गर्ने संकेत दिएको थियो। निर्वाचनमा विजय हासिल गरेपछि हेमन्त विश्वा शर्मालाई पार्टीले मुख्यमन्त्री बनायो।

तर, अगामी महीना हुने निर्वाचनमा भने भाजपाले आफ्ना वर्तमान मुख्यमन्त्रीलाई नै अघि सार्ने निर्णय गरेको छ। पार्टीले अपनाएको यो कदमले उसको निर्वाचन प्रचार अभियान प्रभावकारी हुने र निर्वाचनपछिको स्थितिमा के हुन्छ भन्ने सन्देह नरहने विश्वास गरिएको छ। विधानसभाको पाँच स्थानमध्ये उत्तर प्रदेशको निर्वाचनलाई सबैले महत्वका साथ हेरेका छन्।

उत्तर प्रदेशको मुख्यमन्त्री को हुने भन्ने विषयमा पार्टीभित्र कुनै प्रकारको आशंका थिएन। आदित्यनाथलाई नै पार्टीले मुख्यमन्त्रीका रूपमा दोहार्याउने प्रस्ट थियो। यद्यपी पार्टीले उत्तर प्रदेशमा स्पष्ट बहुमत नल्याएको अवस्थामा भने मुख्यमन्त्री अरू नै बन्न सक्ने सम्भावना छ।

भारतको लोकसभाको कुल सिटमध्ये ८० सिट उत्तर प्रदेशबाट मात्रै आउने हुँदा उत्तर प्रदेशको विधानसभा निर्वाचनलाई ‘मिनी’ लोकसभा निर्वाचन पनि भनिन्छ। त्यसैले उत्तर प्रदेशको निर्वाचनलाई केन्द्रका सत्तारुढ र विपक्षी दल दुवैले महत्वका साथ लिने गरेका छन्। चार सय तीन सदस्यीय उत्तर प्रदेशको विधानसभा निर्वाचनका लागि १० फेबु्रअरीबाट सात चरणमा निर्वाचन हुँदै छ। निर्वाचन ७ मार्चमा सम्पन्न हुनेछ।

उत्तर प्रदेशको विधानसभालाई भारतमा महत्व दिनुको अर्को कारण त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथ हुन्। आदित्यनाथ भाजपाका एक प्रभावशाली नेता हुनुका साथै भारतको भावी प्रधानमन्त्रीका दाबेदार पनि हुन्। त्यसैले भाजपाले विधानसभा निर्वाचनमा उत्तर प्रदेशमा कस्तो प्रदर्शन गर्छ भन्ने सबैको चासोको विषय बनेको छ।

सन् २०१७ मा हिन्दूत्वको नारा सहित उत्तर प्रदेशको सत्तामा उदाएको भाजपाले आफ्नो सार्ख जोगाउन सक्छ? यो महत्वपूर्ण प्रश्न हो। यसको उत्तर भने भाजपा अनुकुलको देखिँदैन।

उत्तर प्रदेशमा जातको विषयले राजनीतिमा महत्वपूर्ण स्थान राख्छ। मौर्यदेखि नोनियास, जाटदेखि राजभार्स जातिले उत्तर प्रदेशको राजनीतिमा धेरै महत्व राख्छन्। उनीहरूले निर्वाचन परिणाममा पनि ठूलो अर्थ राख्छन्।

पछिल्लो समयमा यी जात (ओबिसीएस) लाई प्रतिनिधित्व गर्ने व्यक्तिहरूले भाजपासँगको आफ्नो सम्बन्ध बिच्छेद गरिरहेका छन्। भाजपा परित्याग गर्दै यी जातका नेताहरू अखिलेश यादवले नेतृत्व गरेको समाजवादी पार्टी प्रवेश गरिरहेका छन्। स्यामी प्रसाद मौर्य, दारा सिंंह चौहान जो यसअघि भाजपामा थिए र मौर्य र नोनियास समुदायलाई प्रतिनिधित्व गर्थे उनीहरू अखिलेश यादवको पार्टी प्रवेश गरेका छन्।

२०१७ को विधानसभा निर्वाचनमा अखिलेश यादवले आफ्नो पार्टी ‘मुश्लिम–यादव’ समुदायमा मात्रै नटिकेको प्रमाण दिन सकेनन्। अखिलेश असफल हुँदा भाजपाले भने गैर–यादव समूहलाई आफ्नो पकडमा लिएको थियो। त्यसकारण पनि त्यो विधानसभाको निर्वाचनमा अखिलेश यादवको पार्टी भाजपासँग निर्वाचनमा पराजित भएको थियो।

तर परिस्थिति फेरिएको छ। अखिलेशले उत्तर प्रदेशमा क्रियाशील साना पार्टीलाई आफ्नो पक्षमा ल्याएका छन्। शदर पावरको एनसीपीले अखिलेशको समाजवादी पार्टीसँग गठबन्धन गरेको छ। त्यस्तै स्थानियस्तरमा राम्रो प्रभाव पार्ने साना राजनीतिक दलसँग पनि अखिलेशले वार्ता गर्दै गठबन्धन बनाइरहेका छन्। यी सबै पार्टीले समाजवादी पार्टीसँग गठबन्धन गर्दा अखिलेशलाई फाइदा पुग्छ नै। त्यसका अलावा उनीसँग आफ्नो परम्परागत मुश्लिम–यादवको भोट त छँदैछ।

भाजपाले पनि जातिवादी साना पार्टीसँग गठबन्धन गर्दै राजनीतिक नोक्सानीलाई कम गर्ने प्रयत्न गर्दैछ। यद्यपि, भाजपाको गठबन्धनको प्रभाव उत्तर प्रदेशमा खास नदेखिएको राजनीतिक विश्लेषकहरूको मत छ। भाजपाले पृथ्वीराज जनको शक्ति पार्टीसँग गठबन्धन गरेको छ। शक्ति पार्टीको मुख्य प्रभाव नोनियास जातिमा छ। भाजपाले शक्ति पार्टीसँग गठबन्धन गरे पनि नोनियास जातिको ठूलो नेता दारा सिंह चौहान हुन् जसले अखिलेश यादवलाई समर्थन गर्दैछन्।

यी सबै अवस्थाका कारण आदित्यनाथलाई यो विधानसभाको निर्वाचन त्यति सहज हुने देखिएको छैन। सन् २०१४ को निर्वाचनमा सामाजिक इन्जिनियरिङ गर्दै निर्वाचनमा विजय हासिल गरेका थिए, यो पटक उत्तर प्रदेशको राजनीतिक समिकरणले उनीहरूलाई नै अप्ठेरोमा पारेको छ।

आगामी विधानसभाको निर्वाचनमा भाजपा र राष्ट्रिय स्वयंम सेवक संघ (रासस) ले मेटा हिन्दू पहिचानको नारालाई अघि सारेका छन्। तर, ओबिसीएस जातिबीचको भिन्नताका कारण भाजपालाई नै त्यो अनुकुल नबन्न सक्छ। यी सबका अलावा शिवसेनाले पनि उत्तर प्रदेशमा स्वतन्त्र हिसाबमा निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ। यसले भाजपाको निर्वाचनमा प्रभाव पार्ने देखिन्छ।

– एजेन्सीको सहयोगमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved