बढ्न थाले अस्पताल भर्ना हुने संक्रमित, यस्तो छ काठमाडौंका सात सरकारी अस्पतालको अवस्था

बढ्न थाले अस्पताल भर्ना हुने संक्रमित, यस्तो छ काठमाडौंका सात सरकारी अस्पतालको अवस्था

काठमाडौं। कोरोना भाइरसबाट संक्रमित हुने संख्या दैनिक बढ्दो छ। संक्रमितहरू बढेसँगै अस्पतालमा भर्ना हुने दर पनि ह्वात्तै बढिरहेकै छ। महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालले कोभिडकै लागि भनेर एक सय सात वटा बेड छुटाएको छ।

हाल अस्पतालमा ३६ जना कोरोना संक्रमति बिरामी उपचाररत छन् तर स्वास्थ्यकर्मी नै संक्रमित भएकाले थप बिरामी लिन नसक्ने अवस्थामा पुगेको अस्पतालका कोभिड फोकल पर्सन डा.नीरज बमले बताए।

वीर अस्पतालमा पनि ७५ जना भन्दा बढि संक्रमित उपचाररत छन्।ती मध्ये ११ जना आइसीयूमा छन्। ७५ संक्रमित मध्ये ३९ जनाले कोभिड-१९ विरुद्धको खोपको पूर्ण मात्रामा लगाएका छन्। आठ जनाले पहिलो मात्रा खोप लगाएका छन् भने बाँकि २८ जनाले खोप नै नलगाएको अस्पतालका सहनिर्देशक डा.प्रज्ववल श्रेष्ठले बताए।

वीर अस्पतालले कोभिडकै लागि भनेर पाँच सय बेड छुट्टाएको छ मध्ये हाल दुई सय ३० वटा बेड तयारी अवस्थामा राखिएको डा. श्रेष्ठले जानकारी दिए। १० दिनमा अस्पतालमा भर्ना हुन आउने संक्रमित बिरामीको संख्या ८ गुणाले बढेको उनले जानकारी दिए।

त्यस्तै सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा अहिले सयको हाराहारीमा संक्रमितहरू उपचाररत छन्। ती मध्ये सात जना आइसीयू र दुई जना भेन्टिलेटरमा  रहेको प्रहरी उपरीक्षक डा. प्रवीण नेपालले बताए।

कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा अहिले दैनिक ७/८ जनाको हाराहारीमा संक्रमितहरू थपिइरहेका छन्। हाल केन्द्रमा ५७ जना कोभिड संक्रमितहरू उपचाररत रहेको केन्द्रका कोभिड फोकल पर्सन डा.जितेन्द्र श्रेष्ठले जानकारी दिए।

“५७ जना संक्रमित मध्ये ५० जना सामान्य लक्षण रहेको र बाँकि रहेका सात जनालाई अक्सिजन नै दिइहाल्नु पर्ने अवस्था नभए पनि अरू भन्दा अलि कडा लक्षण देखिएको छ”, उनले भने।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड संक्रमितहरूको संख्या त्यति नबढे पनि पीअीआर गर्नेको संख्या भने ह्वात्तै बढेको अस्पताले जनाएको छ। १० दिनअघि दैनिक ९० जना पीसीआर गर्न आउने गरेकोमा अहिले दुई सयको हाराहारीमा आइरहेको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए। “पीसीआर गराउने दुईसय मध्ये ६० प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ”, उनले भने।

अस्पतालमा गतहप्ता ४० जना संक्रमित उपचाररत थिए भने हाल ५० जना रहेको निर्देशक डा. शाक्यले बताए। ५० जना संक्रमितहरू मध्ये पनि धेरै जसो अन्य रोग भएर अस्पताल नै भर्ना गर्नुपरेको उनले बताए।

उनी भन्छन्, “भर्ना दर खासै बढेको छैन्, भर्ना गरिएका संक्रमितहरू पनि अन्य समस्या भएका जस्तो कोहि खुट्टा भाँचिएका, गर्भवती र मानसिक समस्या भएका कारण भर्ना गरिएको छ। कोभिडकै कारण गम्भिर भएर भर्ना गर्नुपर्ने बिरामी निकै कम छन्।”

संक्रमित निकै बढे पनि दोस्रो लहरको जस्तो सिकिस्त भएर अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था नरहेको उनले बताए। त्यस्तै नेपाल निजामती (सिभिल) अस्पतालमा कोभिडसँग मिल्दा जुल्दा लक्षण लिएर उपचार गर्न आउनेको संख्या बढिरहेको अस्पतालका कोभिड फोकल पर्सन डा विदेश बिष्टले बताए।

लक्षण लिएर उपचारका लागि आएका बिरामीमध्ये धेरैले पीसीआर नै गर्न नमानिरहेको उनको गुनासो छ। अस्पतालमा हाल १७ जना संक्रमतिहरू उपचाररत रहेको उनले बताए। समुदायमा संक्रमण निकै फैलिसके पनि अस्पतालमा भर्ना हुनु पर्ने संख्या केहि कम रहेको उनले बताए।

त्यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि अहिले कोरोना संक्रमित बिरामीको चाप त्यति नरहेको अस्पतालको सूचना अधिकारी नवराज गौतमले बताए। हाल अस्पतालमा १२ जना संक्रमित उपचाररत रहेको उनले बताए। “ती मध्ये पाँच जना आइसीयू र १ जना भेन्टिलेरमा छन्”, उनले भने।

तीन दिनदेखि दैनिक तीन सय भन्दा बढिले पीसीआर गरिरहेकोमा ६० प्रतिशत भन्दा बढिमा संक्रमण पुष्टि भइरहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved