निमित्त प्रमुख प्रशासकिय अधिकृतमा संक्रमण देखिएपछि जन्तेढुङ्गा गाउँपालिकाको सेवा बन्द

नेपालभ्युज

निमित्त प्रमुख प्रशासकिय अधिकृतमा संक्रमण देखिएपछि जन्तेढुङ्गा गाउँपालिकाको सेवा बन्द

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गरिएको छ। गाउँपालिकाअन्तर्गतका स्वास्थ्य सेवाबाहेकका सेवा शुक्रबारदेखि भोलि माघ २ गतेसम्मका लागि बन्द गरिएको गाउँपालिका प्रमुख शंखरबहादुर राईले बताए।

हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टिजेन परीक्षण गर्ने काम भइरहेको गाउँपालिका प्रमुख राईले जानकारी दिए। माघ ३ गतेदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोपकार्ड तथा एन्टिजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ। त्यस्तै गाउँपालिकाअन्तगर्तका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोपकार्ड अनिवार्य लिएर आउनुपर्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय जिल्लामा पुनः कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लावासी त्रसित छन्।

यता जिल्ला प्रशासन कार्यालय खोटाङले पनि सात बुँदे स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसीएमसी०को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, सङ्क्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले शुक्रबारदेखि लागू हुने गरी स्वास्थ्य सुरक्षासम्बन्धी सात बुँदे आदेश जारी गरेका हुन्।

प्रशासनले कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी राजनीतिक, आर्थिक, सामाजिक, व्यावसायिकलगायत गतिविधि सञ्चालन गर्दा तथा घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, समय–समयमा साबुनपानीले हात धुन वा स्यानिटाइजरको प्रयोग गर्नलगायत स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्न–गराउन आग्रह गरेको छ। त्यस्तै २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सव एवं सामाजिकलगायत कार्य नगर्न–नगराउन आदेश जारी गरिएको छ।

त्यस्तै धेरै मानिस उपस्थित हुने गरी राजनीतिक, प्रशासनिक, सामाजिक एवं भीडभाड हुने प्रकृतिका कार्यक्रम नगर्न–नगराउन, अत्यावश्यक र नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन आदेशमा भनिएको छ। आगामी माघ ७ गतेदेखि कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्कलगायत सार्वजनिक निकाय तथा स्थलमा प्रवेशका क्रममा अनिवार्य खोपकार्ड देखाउनुपर्ने आदेश जारी गरिएको छ।

साथमा खोपकार्ड नभएको अवस्थामा मोबाइलमा खिचेको खोपकार्डको तस्वीर देखाएर पनि सार्वजनिक स्थानमा प्रवेशको अनुमति दिइने प्रशासनले जनाएको छ। यस्तै सम्बन्धित स्थानीय तहले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा पुस २६ गते जारी गरिएको विज्ञप्तिअनुसार कार्य गराउन, सेवाग्राहीको बढी चाप हुने कार्यालयमा भीडभाड नहुने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनु पर्ने भनिएको छ।

सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुले अनिवार्य मास्क लगाउन, मास्क नलगाउने यात्रुलाई सवारीसाधन प्रवेश गर्न नदिन, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्न, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पञ्जा लगाउन, सवारीसाधनलाई दैनिक स्यानिटाइज गर्न प्रशासनको आदेश गरिएको छ। दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समयमा छ जना सक्रिय सङ्क्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved