सरकारले मूल्य तोकेसँगै धान बेच्न किसानहरुको भीड

कम्पनीले अहिले दुई हजार ९०० रुपैयाँ प्रतिक्विन्टलको दरले धान खरिद गर्दै छ। निजी स्तरको उद्योगमा प्रतिक्विन्टल दुई हजार २०० देखि दुई हजार ४०० सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नको लागि प्रतिस्पर्धा गरेका हुन्।

सरकारले मूल्य तोकेसँगै धान बेच्न किसानहरुको भीड

जनकपुधाम। सरकारले धानको खरिद गर्ने मूल्य निर्धारण गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामको कार्यालयमा किसानहरुको ठूलो भीड लागेको छ।

मूल्य निर्धारण गरी मंगलबारदेखि धान खरिद गर्न टोकन वितरण गर्ने भएपछि धान बिक्री गर्न किसानहरुको भीड लागेको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जनकपुरधाम कार्यालयका प्रमुख उपेन्द्र लिम्बुले चालु आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले १५ हजार क्विन्टल मात्रै धान खरिद गर्ने जानकारी दिए। तर, गत आर्थिक वर्ष २०७७/०७८ मा यस कम्पनीमा १६ हजार क्विन्टल धान खरिद गरेको थियो।

कम्पनीले अहिले २ हजार ९०० रुपैयाँ प्रतिक्विन्टलको दरले धान खरिद गर्दै छ। निजी स्तरको उद्योगमा प्रतिक्विन्टल २ हजार २०० देखि २ हजार ४०० सम्मको दर मात्र दिने भएपछि किसानले आफ्नो धान कम्पनीमा बेच्नको लागि तछाड मछाड गरेका हुन्।

यता कम्पनीले सीमित परिमाणमा धान खरिद गर्ने भएपछि किसानहरु बीच आफ्नो धान बेच्नको लागि प्रतिस्पर्धा नै देखिएको छ।

कम्पनीका प्रमुख लिम्बुले भने, “निजी स्तरभन्दा कम्पनीको धानको मूल्य बढी भएको र कम्पनीले सीमित धान मात्रै खरिद गर्ने जानकारी भएपछि टोकन लिन किसानहरुबीच प्रतिस्पर्धा भएको छ।”

लक्ष्मीनियाँ गाउँपालिकाका किसान लक्ष्मेश्वर यादवले निजी स्तरका उद्योगी व्यापारीभन्दा यसपटक सरकारले धान खरिद गर्ने मूल्य केही बढी रहेकाले किसानलाई ठूलो राहत भएको बताए।

यता खाद्य व्यवस्था तथा व्यापार कम्पनीले व्यापारीको धानमा मिसावट हुने भएको हुँदा प्रत्यक्ष रुपमा किसानसँग धान खरिद गर्दा मिसावट नहुने भएकोले बजारको भन्दा बढी मूल्य निर्धारण गरेर किसानलाई हौसला प्रदान गरिएको जनाएको छ।।

कार्यालय प्रमुख लिम्बुले सबै किसानको धान बिक्री गर्ने मौका उपलब्ध हुने उद्देश्यले कम्पनीले यस वर्ष प्रतिकिसान बढीमा ४० क्विन्टलको दरले धान खरिद गर्ने निति लिएको जानकारी दिए।

तर, यसरी अुनपातमा कम्पनीले धान खरिद गर्ने भएपछि धनुषाको ३५० जना किसानले मात्रै कम्पनीलाई धान बेच्न सक्ने भएकोले टोकन लिनका लागि अहिले किसानहरुबीच प्रतिस्पर्धा हुँदा भीड बढेको हो।

कार्यालय प्रमुख लिम्बुले भीड नियन्त्रण गर्न कार्यालय व्यवस्थापनलाई हम्मे हम्मे परेको बताए। उनले बुधबार भीड नियन्त्रण गर्नको लागि प्रहरी बोलाउनु परेको बताए।

लिम्बुका अनुसार प्रहरी आउन ढिला भएपछि करीब एक घण्टासम्म कार्यालय परिसर अस्त व्यस्त बनेको थियो। आज बिहानैदेखि लाइन लगाएर अलि व्यवस्थित पार्ने प्रयास गरिएको उनले बताए।

अहिले कोरोना संक्रमण फैलिरहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने अवस्था रहेको तर किसानहरुले आफ्नो धान बेच्नका लागि टोकन लिन प्रतिस्पर्धा चल्दा भीड अनियन्त्रित भएर होहल्ला हुने गरेको लिम्बुले बताए।

बुधबारसम्मा जिल्लाका २०० किसानहरुले टोकन लिइसकेका कार्यालय प्रमुख लिम्बुले बताए। सीमित स्रोतको आधारमा ३५० बाहेकका किसानहरुको लागि यसवर्ष पनि कुनै व्यवस्था गर्न नसकिने कार्यालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved