सरकारको लक्ष्य अधुरै : पुस मसान्तसम्म नपाउने भए दुई तिहाइले खोप !

सरकारको लक्ष्य अधुरै : पुस मसान्तसम्म नपाउने भए दुई तिहाइले खोप !

काठमाडौं। सरकारले पुस मसान्तसम्म लक्षित समूहको दुई तिहाइलाई कोभिडविरुद्ध खोप लगाइसक्ने भने पनि यो लक्ष्य पूरा गर्न असम्भव देखिएको छ।

सरकारले १८ वर्षभन्दा माथिका एक करोड ९९ लाख २२ हजार १६४ जनलाई खोपको दायरामा राखेको थियो। तर अहिलेसम्म ७३ प्रतिशतले पहिलो मात्रा (१ करोड ४५ लाख ६४ हजार ५३३ जना) लगाए भने ५४ प्रतिशतले पूर्णमात्रा खोप (१ करोड ७ लाख १० हजार ७२१) लगाएका छन्।

९ दिनपछि पुस सकिँदै छ। पुस मसान्तसम्म सरकारले ६६ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको थियो। तर लक्ष्यअनुसार अझै ६८ लाख जनसंख्या खोपको  पहुँचबाहिर छन्। यसका लागि सरकारले दैनिक साढे ६ लाखका दरले खोप लगाउनुपर्ने चुनौती छ। जबकि अहिलेसम्म सबैभन्दा धेरै खोप लगाएको दिन भनेको १२ पुस हो। यस दिन साढे पाँच लाख जनसंख्यालाई सरकारले खोप दिन सफल भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ११ पुसमा स्वास्थ्य मन्त्रालयका सचिवसहित टोली बोलाएर हरेक दिन पाँच लाख जनसंख्यालाई खोप लगाउन आदेश दिएका थिए तर त्यो अझै हुन सकेन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले पनि एकै दिन पाँच लाख बढीलाई खोप लगाएको भनी खुसी व्यक्त गरेका थिए। उनले १२ पुसमा हरेक दिन ५ लाख खोप दिने बाचा पनि गरेका थिए।

तर १२ पुसयता कुनै दिन पनि सचिव पोखरेलले भनेझैं दैनिक पाँच लाख जनसंख्यालाई खोप दिन सरकारले सकेको छैन। १३ पुससम्म दुई करोड ४० लाख २३ हजार ५६१ जनाले खोप लगाए भने १४ पुसमा थप दुई लाख २ हजार ६८७ जनाले मात्र खोप पाएका थिए।

त्यसैगरी १५ पुस‍सम्म दुई करोड ४२ लाख ८२ हजार ३६० जनाले खोप लगाएका थिए भने १६ पुसमा थप १ लाख ९२ हजार ९२४ जनाले खोप लगाएर खोप पाउने कुलसंख्या २ करोड ४६ लाख १४ हजार ४३६ पुग्यो। त्यस्तै २० पुसमा थप ३ लाख १७ हजार हाराहारीले खोप पाए।

समग्रमा हेर्दा दैनिक खोप लगाउनेको संख्या ३ लाख हाराहारी मात्र छ। यसरी दैनिक खोप लगाइएको संख्यालाई आधार मान्ने हो भने खोपमा लक्ष्यप्राप्ति नहुने सम्भावना देखिएको छ।

तर परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल भने लक्ष्य पूरा गर्न सक्दो कोशिस गरिरहेको बताउँछन्। भन्छन्, “दुई तिहाई जनसंख्यालाई खोप लगाउन लागि हामीले आफ्नो तर्फबाट सक्दो कोशिस गरेका छौं, आशा छ कि यो पूरा हुनेछ। उनका अनुसार कतिपय ठाउँमा खोप लगाउने मान्छे नभएका र कतै खोप नै लगाउन नमानिरहेको अवस्था छ।

गत माघदेखि सरकारले कोभिडविरुद्ध खोप लगाउने अभियान बढाएको थियो। चैतताका स्वास्थ्य मन्त्रालयसँग २० लाख डोज खोप हुँदा पनि दैनिक तीन लाखको हाराहारीमा खोप लगाएको थियो तर अहिले सरकारसँग एक करोड खोप मौज्दात छ। त्यै पनि दैनिक खोप लगाउनेको संख्या दुईदेखि तीन लाख नाघ्न सकेको छैन।

किन पूरा भएन लक्ष्य

सरकारसँग प्राप्त मात्रामा खोप भए पनि केन्द्रसम्म खोप लगाउन जान छाडेका कारण खोप लगाउनेको संख्यामा कमी आएको राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. गणेश राई बताउँछन्। भन्छन्, ‘‘खोप केन्द्रमा खोपको असरबारे अफवाह फैलिएपछि मानिस खोप लगाउनै नमानिरहेको पनि देखियो।”

सरकारले निकै प्रचारप्रसार गरे पनि खोप लगाउने मानिस नै नभएको राईले तर्क गरे। “केही राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा खोप लगाएपछि नकारात्मक टिप्पणी पनि आइरहेकाले पनि खोप लगाउने संख्यामा कमी आएको हुन सक्छ,” उनले भने, “त्यसैले दैनिक पाँच लाख खोप लगाउने लक्ष्य अपूरै भएको छ।”

पछिल्लो समय उच्च ओहोदामा रहेका व्यक्तिले पनि खोप नलगाउँदा मानिस विश्वस्त हुन नसकेका पनि उनले बताए। जसका कारण सरकारले लिएको लक्ष्य पूरा हुनेमा उनले आशंका गरे। “अब धेरै दिन बाँकी छैन,” उनले भने, “खोप नलगाएका जनता अब ह्वात्तै खोप लगाउन गए भने लक्ष्य पूरा होला नत्र भन्न सकिने अवस्था छैन र चिसो बढेका कारण पनि खोप लगाउनेको संख्यामा कमी आएको हुन सक्छ।”

खोपमा कुनै पनि समस्या नभए पनि खोप लगाउने/वितरणमा समस्या भइरहेाले अभियान तीव्र गतिमा चल्न नसकेको स्वास्थ्य मन्त्रालयका पूर्वसचिव लक्ष्मण अर्याल बताउँछन्। “कोभिडविरुद्ध खोप लगाउने विषयमा नेपाललगायत संसारभर नै हेजिटेन्सी छ, हेजिटेन्सी रेटलाई कम गर्न सरकारले केही नियम ल्याउनुपर्छ।”

उनका अनुसार धेरैमा खोपको विषयमा विभिन्न प्रश्न उब्जिएका र तर नेपालमा आएका सबै खोप लगाउन मिल्ने प्रमाणित भइसकेका छन्।

“अझै पनि १८ वर्ष माथिका ७५ लाखको जनसंख्याले खोप लगाउँन बाकी छ,” उनले भने, “यसलाई पूरा गर्न कडा नियमहरू ल्याउने, सिहदरबार, सिनेमा हल र सभा सम्मेलनमा जाँदा पनि खोप कार्ड अनिवार्य गरेपछि पनि खोप लगाउनेको संख्या बढ्न सक्छ।” खोप लगाउनै नमान्नेहरूका लागि बाध्यात्मक नियम पनि ल्याउन आवश्यक रहेको उनले सुझाए।

संसारभर नै कोभिड संक्रमणबाट बच्ने पहिलो उपाय भनेकै यसविरुद्ध खोप हो। नेपाल स्वास्थ्य विज्ञहरूले पनि बारम्बार सक्दो छिटो खोपको पहुँचसम्म सबैलाई पुर्‍याउनुपर्ने जोड दिएका थिए।

नेपालमा अहिले ओमिक्रोन भेरियन्टको जोमिख बढेकाले सबैले पहिलो प्रथामिकतामा खोपलाई नै दिनुपर्ने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुन बताउँछन्। भन्छन्, “अहिले कोरोना भाइरसले आफ्नो स्वरुप बदलेर विभिन्न रूपमा देखापरिरहेको छ, ओमिक्रोन भेरियन्टले सबैतिर त्रास फैलिरहेको छ, यसबाट बच्न एक मात्र उपाय भनेको द्रुत गतिमा खोप अभियान अगाडि बढाउनु नै हो।”

नेपालको जनसंख्याका आधा प्रतिशतले पनि खोप लगाएका छैनन्। उनीहरूलाई जुनसुकै भेरियन्टले पनि संक्रमण गर्न सक्ने भएकाले सक्दो छिटो खोप लगाउन आवश्यक रहेको उनको भनाइ छ।

खोप नलगाएकाहरू ओमिक्रोनबाट जोखिममा छन्

कुन प्रदेशमा कतिले लगाए खोप ?

हालसम्म नेपालमा खरिद र अनुदान गरी तीन करोड ९२ लाख ३ हजार ९२७ खोप आइसकेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए।

काठमाडौंलगायत सातै प्रदेशका कोल्ड स्टोरमा अझै १ करोड १० लाख खोप मौज्दात रहेको उनले बताए।

यस्तो छ प्रदेश अनुसारको खोप लगाउने विवरण

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved