खोप नलगाएकाहरू ओमिक्रोनबाट जोखिममा छन्

खोप लगाएको खण्डमा डेल्टा वा अरू भरिएन्टभन्दा ओमिक्रोनले पार्ने असर कम देखिएको छ ।

खोप नलगाएकाहरू ओमिक्रोनबाट जोखिममा छन्

काठमाडौं। कोरोना भाइरस फैलिएको झन्डै दुई वर्ष पुग्नै लाग्यो यस बीचमा कोरोना भाइरस आफ्नो स्वरूप बदल्दै विभिन्न भेरिएन्टमा परिवर्तन भयो। केही निकै घातक बन्यो। कहिले त्यति असर पुर्‍याउन सकेनन्। अहिले विश्वभर धेरैजसो डेल्टा र नयाँ मानिएको ओमिक्रोन भेरिएन्ट सक्रिय बनिरहेको छ।

अहिलेसम्म विश्वमा फैलिएको कोरोना भाइरसको भेरिएन्टहरु मध्ये ओमिक्रोनलाई केही कम घातक मानिएको छ। संक्रामक हिसाबले हेर्दा अरूभन्दा छिट्टो फैलन सक्ने भएपनि घातक भने नरहेको विभिन्न अध्ययनहरूले देखाएको छ। कोरोनाबिरुद्धको खोप नलगाएकाहरू यद्यपी अझै पनि यसको उच्च जोखिममा नै छन्। विश्वभर संक्रमणबाट मृत्यु हुने र जटिल स्वास्थ्य अवस्था भएर अस्पताल भर्ना हुनेमा खोप नलगाएका व्यक्तिहरू नै बढी छन्।

बेलायतमा ओमिक्रोनबाट सङ्क्रमित हुनेको सङ्ख्या लाखौैं रहेको छ। तर, सङ्क्रमित कति भएभन्दा पनि त्यसले कतिको असर गर्‍यो भन्ने कुरामा विशेष जोड दिनु पर्छ। किनभने बेलायतमा गम्भीर समस्या भने अहिलेसम्म देखिएको छैन। सकेसम्म डेल्टा जस्तै हुबहु समस्या ओमिक्रोनबाट नहोला। डेल्टा भेरिएन्टबाट सङ्क्रमित भएर अस्पताल आएकाहरू मध्ये धेरै जसो एक मात्र डोज खोप पनि नलगाएका नै थिए। खोप लगाएको खण्डमा डेल्टा वा अरू भरिएन्टभन्दा ओमिक्रोनले पार्ने असर कम देखिएको छ।

डा. शेरबहादुर पुन

नेपालको जनसङ्ख्याको आधा प्रतिशतले पनि खोप लगाएका छैनन् उनीहरूलाई जुनसुकै भेरिएन्टले पनि संक्रमण गर्न सक्ने भएकाले सक्दो छिटो सबैले कोभिड विरुद्धको खोप लगाउन आवश्यक देखिएको छ।

खोप लगाउने कार्य निकै सुस्त देखिरहेको छ। किन खोप अभियान सुस्त भइरहेको छ भनेर पनि अध्ययन हुन आवश्यक रहेको छ। जतिसक्यो छिटो धेरै जनसङ्ख्यामा खोप लगाउन सक्यो उति नै अस्पताल भर्ना हुने बिरामीको सङ्ख्यामा कमी आउने सम्भावना रहन्छ। बेलायतमा पनि पूर्ण मात्रा खोप ८६ प्रतिशतले लगाएको देखिन्छ र कतिपयले त बुस्टर डोज पनि लगाइसकेका छन्। त्यस कारण पनि अस्पताल भर्ना हुने सङ्ख्या निकै कम रहेको देखिन्छ भने दिन प्रतिदिन मृत्यु हुने सङ्ख्या पनि निकै कम नै छ।

त्यस्तै ओमिक्रोन पुष्टि भएकाहरूमा डेल्टा भेरिअन्ट जस्तो सिधै फोक्सोमा असर गरेको देखिँदैन। ओमिक्रोनले नाक र श्वास नली बाहिर असर गरेको अध्ययन बाहिर आएको छ।
म्युटेसन (आनुवंशिक उत्परिवर्तन) परिवर्तन आएपछि यसको हर्कतमा केही परिवर्तन आउँछ नै वा त्यो उग्र हुन्छ वा अघिल्लो भेरियन्टभन्दा कम हुन सक्छ।

हङकङमा गरिएको एक अनुसन्धानले ओमिक्रोन डेल्टा भन्दा छिटो फैलिने भएता पनि अरू भरिएन्टभन्दा यो १० गुणाले कम घातक रहेको प्रमाणित पनि भइसकेको छ। त्यस्तै इम्पेरियर कलेज अफ लण्डनले गरेको एक अनुसन्धानमा ओमिक्रोन सङ्क्रमित भएर अस्पतालै जानुपर्ने अवस्था २५ प्रतिशतले कम र अस्पताल भर्ना भएकाहरू पनि एक दिन वा सो भन्दा बढी दिन अस्पताल बस्नु परेको समस्या ४५ प्रतिशतले कम भएको देखाएको छ भने एक पटक ओमिक्रोन भेरिएन्ट सङ्क्रमित भइसकेपछि दोस्रो पटक सङ्क्रमित हुँदा ६० प्रतिशतले अस्पताल भर्ना हुने दरमा कमी ल्याउने देखाएको छ।

विभिन्न देशहरूले ओमिक्रोन भेरिएन्ट माथि गरेको अनुसन्धान थोरै सङ्क्रमितहरूमा गरेका भने होइनन्। उनीहरूले धेरैमा गरेर नै ओमिक्रोन संक्रामक भएपनि कम घातक रहेको प्रमाणित भइसकेको छ। डेल्टाभन्दा ओमिक्रोन भेरियन्टले विश्वभर नै ६ गुणाले मृत्युदरमा कमी ल्याएको छ।
फ्रान्समा ओमिक्रोनका कारण सङ्क्रमित बनेर आइसियुहरू प्याक भएका छन् तर, ती गम्भीर बनेका बिरामीहरू मध्ये धेरै जसोले खोप नै नलगाएको चिकित्सकले विभिन्न सञ्चार माध्यममा बताएको उल्लेख छ। विश्वमा दैनिक लाखौँको सङ्ख्यामा ओमिक्रोन सङ्क्रमित थपिए भनिएता पनि उनीहरु उच्च जोखिममा रहेर काम गर्ने समूह हो जसले हप्तामा तीन पटकसम्म पनि पीसीआर परीक्षण गर्नुपर्छ। त्यस्तो समूह बढी सङ्क्रमित बन्न पुगेको हो।

सङ्क्रमित भएर मृत्यु हुने र अस्पताल भर्ना हुने सङ्ख्या ह्वात्तै बढ्यो भने त्यसलाई अलि बढी ख्याल गर्नु पर्ने हुन्छ। त्यो अवस्था अहिलेसम्म देखिएको छैन। तर पनि नेपालमा खोप लगाउनेको सङ्ख्या निकै कम देखिएकाले हामी जोखिममै छौँ।

भारतमा ओमिक्रोन तीव्र गतिमा फैलिरहेको छ केही गरी भारतले लकडाउन गर्‍यो भने छिट्टो नै नेपालमा तरङगीत हुन आइपुग्छ। किन भने विगतको पाठले सियाएको यही हो। नेपालमा ढिलो चाँडो ओमिक्रोन तीव्र बन्नुमा भारतले के गर्छ भन्ने कुरामा भर पर्छ। भारतले लगालग नै लकडाउन गरिहाल्यो भने कमाउन गएका नेपालीहरू नेपाल आएसँगै सङ्क्रमित सङ्ख्या पनि बढ्दै जान्छ तर, मुख्य कुरा सङ्क्रमित सङ्ख्या बढ्छ भन्दा पनि यसले अस्पतालसम्म पुर्‍याउछ कि नाई भन्ने कुरा ठुलो हो।

खोप लगाएका कारण भाइरस भित्रसम्म पुग्न नसक्ला कि भन्ने मेरो बुझाइ छ। टेस्ट गर्‍यो भने बाहिरी सतहमा त देखाउला तर त्यति असर गर्छ जस्तो लाग्दैन। सङ्क्रमित सङ्ख्या बढे भने तथ्यसङमा देखाउँछ त्यस कारण त्यसलाई तेस्रो ओइभ भन्न मिल्ला तर त्यसले अस्पताल नै भरिभराउ गराउन सक्ने अवस्था र मृत्युदरमा के गर्छ भन्ने कुरा चाहिँ बुझ्न आवश्यक छ।
विश्वको अवस्था हेर्ने हो भने ओमिक्रोनसँग आतिहाल्नु पर्ने देखिँदैन। यदि नेपाल पुग्दासम्म केही टुस्ट भएन भने आत्हिाल्नु पर्ने अवस्था छैन तर पनि सबै क्षेत्र सचेत हुन चाहिँ निकै आवश्यक छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनसँग समृद्धा केसीले गरेको कुराकानीमा आधारित


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved