सेनाको होस्टलबाट हराएका एमबीबीएस विद्यार्थी चार महीनादेखि बेपत्ता, न्याय पाएन परिवारले

निराश हुँदै पिताले भने, "अब न्याय खोज्न कहाँ जाने?"

सेनाको होस्टलबाट हराएका एमबीबीएस विद्यार्थी चार महीनादेखि बेपत्ता, न्याय पाएन परिवारले

काठमाडौं। हराएको भनिएको चार महिनासम्म छोरा नभेटिएपछि सुर्खेतकी कृष्णा शाही र उनका पति दानबहादुरको अहिले पनि दिनरात आँशुमै बित्छ। दैलेख गुराँस गाउँपालिका-२ मा पुरानो घर रहेको उनको परिवार अहिले भने सुर्खेतको वीरेन्द्रनगरमा बस्छ। एक मात्र छोरा राजेश शाही काठमाडौँको सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानबाट हराएपछि परिवारमा चैन छैन।

राजेश एमबीबीएस चौथो वर्षमा अध्ययनरत थिए। सोही संस्थानकै होस्टेलमा बस्दै आएका २४ वर्षीय राजेश हराएको चार महिना बित्दा न भेटिएका छन्। न त सम्बन्धित निकायले नै खोजीमा चासो दिएका छन्।

बुबा र आमाको साथमा राजेश शाही

१६ भदौमा हराएका उनीबारे २१ गते मात्रै नेपाली सेनाले परिवारलाई खबर गरेको थियो। खबर पाउनेबित्तिकै परिवारले काठमाडौं आएर सेना र महानगरीय प्रहरी परिसरमा खोजतलासका लागि सामान्य निवेदन दिएका थिए।

तर, आफ्नो स्वामित्वमा रहेको कलेजबाट राजेश बेपत्ता हुँदा खोजीमा चासो नदिएपछि सेनाविरुद्ध परिवारले किटानी उजुरी तयार गरेका छन्। तर, न त प्रहरीले दर्ता गरेको छ न सरकारी वकील कार्यालयले नै।

सानोभर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान

राजेशका बुवा दानबहादुर छोराकै खोजीमा तीन महिनासम्म काठमाडौंमा बसे। तर केही लछारपाटो नलागेपछि विरक्तिएर घर फर्किए। सेनामाथि अनुसन्धान हुनुपर्ने माग गर्दै दानबहादुरले उजुरी लिएर प्रहरी कार्यालयदेखि सरकारी वकील कार्यालयसम्म धाए। तर, सेनाविरुद्ध अनुसन्धान गर्ने लफडामा नफस्ने भन्दै कुनै निकायले आफ्नो पीडा नसुनेको दानबहादुर बताउँछन्।

दानबहादुर शाही, राजेशका बुबा

‘‘छोरा भेटिने आश गर्दागर्दै श्वास जान लागिसक्यो। न सेनाले छेरा खोज्छ। न पुलिसको सहयोग मिल्यो न सरकारी वकील कार्यालयबाट न्यायको नै बाटो भेटियो’’, उनी भन्छन्, ‘‘मेरो छेरालाई सेनाले बेपत्ता बनायो। तर, सेनाविरुद्ध उजुरी प्रहरीले लिएन। सरकारी वकील कार्यालयले पनि लिएन। राज्यका सबै संयन्त्र मिलेर हामीलाई अन्यायमा पारे।’’

न्यायको आशमा गाउँको कुनादेखि सिंहदरबारको ढोका ढकढक्याउन पुगे पनि पीडित परिवारका लागि त्यो न्याय आश्वासनमै सीमित भयो। गृहमन्त्री बालकृष्ण खाँडदेखि सेना प्रमुखसम्मलाई बिन्ती बिसाए पनि बेवास्ता गरिएको उनीहरूको गुनासो छ। सबै पक्षले गरेको बेवास्ताले पीडित परिवार निराश छन्।

दानबहादुर भन्छन्, ‘यो मुलुकमा न्याय रहेछ भने पाइएला। तर, न्याय ठूलाबडाको पहुँचमा रहेछ भने त के पाइएला र?’

 

सेनाको स्वास्थ्य विज्ञान संस्थानको हेस्टेल, जहाँ राजेश बस्दै आएका थिए

सरकारी वकील कार्यालयद्वारा सेनाकै बचाउ, भन्छ, “सेनाविरुद्ध प्रमाण पुग्दैन”

राजेशको पढाइ सोही कलेजमै हुने भएकाले बाहिर जानुपर्ने थिएन। परीक्षा दिन उनी साथीहरूसँगै कलेजकै गाडीमा जान्थे। उनी सेनाले नै सञ्चालन गरेको होस्टेलमा बस्थे। बाहिर निस्कन नपाउने कडा अनुशासन थियो। अत्यावश्यक कामले बाहिर जानुपर्दा गेटमा सबै विवरण टिपाएर मात्रै निस्कन पाउने नियम नै छ। विद्यार्थीको अस्वाभाविक अवस्था तथा कुनै समस्या आएमा तुरुन्त अभिभावकलाई जानकारी दिनुपर्ने नियम कलेज प्रशासनले नै बनाएको छ।

गंगाप्रसाद पौडेल, सहन्यायाधिवक्ता, सरकारी वकील कार्यालय

यस्तो कडाइ रहेको होस्टेलले आफ्नो विद्यार्थी हराएको भन्दै गैरजिम्मेवार जवाफ दिनु नै शंकास्पद छ। तर, सरकारी वकील कार्यालयले सेनाले नै राजेशलाई बेपत्ता बनाएको भन्ने प्रमाण नपुगेको भन्दै बचाउ गर्दै आएको छ।

काठमाडौं जिल्लाकाे सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले दर्ताका लागि प्रमाण नपुगेको बताए। ‘‘राजेशका परिवार आउनुभएको थियो। प्रहरीले उजुरी दर्ता गरेन भन्नुभयो। हामीले पनि नेपाली सेनालाई घटनाबारे सोध्यौं। प्रहरीलाई पनि सोध्यौं,’’ उनले नेपाल भ्यूजसँग भने, ‘‘एकतातिर खोजी जारी छ भन्ने जानकारी आयो, अर्कोतर्फ राजेशको परिवारले ल्याएको उजुरीमा सेनाविरुद्ध मुद्दाका लागि प्रमाण पुगेन। यसैले मुद्दा दर्ता गरेनौँ। अहिले राजेशको खोजी जारी छ।’’

काठमाडौं प्रहरी प्रमुख भन्छन्, “मलाई केही थाहा छैन”

२२ भदौमै परिवारले महानगरीय प्रहरी परिसर काठमाडौँमा ठाडो निवेदन दिए पनि प्रहरी निष्क्रिय छ। सेनाविरुद्ध अनुसन्धान र छानबिन नहुने उसले बताइसकेको छ।

सुदीप गिरी, एसएसपी, काठमाडौं

सेनाले घटनाको छानबिन आफ्नो क्षेत्राधिकारभित्र पर्ने दाबी गर्दै प्रहरीलाई पनि अनुसन्धान गर्न रोकेको छ। तर पनि पीडित परिवारले किटानी जाहेरी लिएर प्रहरी कार्यालय धाएकै धायै छन्।

महानगरीय प्रहरी परिसर काठमाडाकौं एसएसपी सुदीप गिरीले उजुरीबारे आफूलाई जानकारी नभएको बताए। आफूले केही दिनअघि मात्रै कार्यभार सम्हालेकाले खोजतलासका लागि निवेदन आए/नआएको जानकारी भइनसकेको बताए।

भने, ‘‘यो घटनाबारे मैले सुनेको हुँ। तर म आएपछि भने यसबारे कोही निवेदन दिन आएको छैन। म यहाँ आउनुअघि के-के भएको थियो मैले राम्रोसँग हेर्न भ्याएको छैन। यस विषयमा निवेदन, उजुरी परेको भए म अध्ययन गर्छु।’’

जवाफदेहिताबाट भाग्दै सेना

आफ्नै कलेजबाट विद्यार्थी हराएको चार महिना बित्दा पनि यस विषयमा नेपाली सेना भने मौनझैं छ। घटनाबारे औपचारिक धारणा सार्वजनिक गरेको छैन। यसै घटनापछि सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले एकपटक रासस (राष्ट्रिय समाचार समिति) सँग प्रतिक्रिया दिएका थिए। त्यसपछि कुनै मिडियासँग केही बोलेको छैनन्।

नेपाली सेनाको हेडक्वार्टर, भद्रकाली काठमाडौं

सेना प्रवक्ताले बोक्ने मोबाइल फोन दुई महिनायता उठ्दैन। कार्यालयको फोन नम्बरमा पटकपटक फोन गर्दा सेना प्रवक्ता पौडेलका सहयोगीले फोन उठाउँछन्। तर, उनले ‘जरसाप व्यस्त हुनुहुन्छ, उहाँ बोल्न मिल्ने अवस्थामा हुनुहुन्न’ भन्दै आएका छन्।

दुई महिनायता सैनिक प्रवक्ता पौडेलले संस्थानको गेटबाट निस्किएपछि शाही सम्पर्कविहीन भएका र अहिलेसम्म अवस्था थाहा हुन नसकेको बताएका थिए।

उनले भनेका थिए, ‘‘राजेश गेटबाट निस्किएपछि सम्पर्कमा आएका छैनन्। अहिलेसम्म फेला नपर्नुमा विडम्बना हो। उनको खोजीका लागि प्रधानसेनापति प्रभुराम शर्माबाट स्पष्ट निर्देशन आएको छ।’’

यो पनि पढ्नुहोस्

सेनाको कलेजबाट विद्यार्थी बेपत्ताको नालीबेली


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved