सेनाको कलेजबाट विद्यार्थी बेपत्ता

सेनाको कार्यक्षेत्र भन्दै पन्छियो प्रहरी

सेनाको कलेज प्रशासनलाई समेत छानबिन गर्नुपर्ने माग गर्दै दानबहादुर पटकपटक प्रहरी परिसर काठमाडौँ धाइरहेका छन्। तर, प्रहरीले केही दिन कुर्नु भन्दै फर्काइरहेको छ। कहिले सेनाविरुद्ध जाहेरी नै लिन नमिल्ने बताउँदै आएको छ।

सेनाको कार्यक्षेत्र भन्दै पन्छियो प्रहरी

काठमाडौँ। सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत राजेश शाही (२४) हराएको ७० दिन भइसक्दा पनि प्रहरी प्रशासनले जाहेरी समेत नलिएको पीडित परिवारले गुनासो गरेको छ।

‘सेनाको कार्यक्षेत्र भित्रको विषय’ भन्दै प्रहरी पन्छिन खोजेको पीडित परिवारले बताएको छ भने प्रहरीले भने ठाडो निवेदनका आधारमा खोजी कार्य जारी भएको दाबी गरेको छ।

राजेशका पिता दानबहादुर शाही भन्छन्, ‘‘धेरै पटक छोरो बारे बुझ्न प्रहरी कार्यालय पुगिसके तर सेनाको विषय भन्दै फर्काउँछन्।’’
दैलेख गुराँस गाउँपालिकाका ५५ वर्षीय शाही छोरो हराएको खबर पाएपछि दुई महिना अघि काठमाडौँ आएका थिए। ‘‘छोराको खोजीमा गाउँबाट सहर धाएको दुई महिना भयो। कहिले दशै तिहार आयो गयो केही थाहा भएन। खाली छोराको खोजीमै छु’’, उनी भक्कानिन्छन्,‘‘ सेना–प्रहरी सबैले खोजिरहेको भन्छन्। तर राम्रोसँग सोधखोज नभएकोले होला केही पत्ता लागेको छैन।’’

नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान

छोरा हराएको जानकारी पाएलगतै शाही महानगरीय प्रहरी परिसर काठमाडौँ पुगेका थिए। त्यहाँ छोराको विवरणसहित एक पानाको सानो निवेदन दिएका थिए। जुन खोजतलास गर्ने सम्बन्धमा मात्र थियो। प्रहरीले सोही निवेदनको आधारमा केही सोधखोज गरे पनि सेनाको कलेजबाट हराएकाले खोजविनामा खासै तदारुकता नदेखाएको उनको आरोप छ।

एसपी रमेश बस्नेत, प्रवक्ता, महानगरीय प्रहरी परिसर काठमाडौं

तर प्रहरीले भने खाजी कार्य जारी रहेको दाबी गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता रमेश बस्नेतले राजेशको खोजीमा प्रहरी जुटिरहे पनि कुनै संकेत भेट्न नसकेको बताए। ‘किन जाहेरी नै लिनु नभएको ?’ भनी सोधिएको प्रश्नमा बस्नेतले ‘के कारण त्यस्तो भनिएछ, बुझ्नुपर्ने’ बताए। उनले ‘
खोजी गरिदिन निवेदन आए पनि ’ विस्तृत जाहेरी नआएकाले आफूलाई थाहा नभएको सुनाए। उनले नेपाल भ्यूजसँग भने ‘‘जाहेरी परे नपरेको भन्ने विषयमा मलाई जानकारी भएन। मुद्दा शाखामा बुझ्नुपर्ने हुन्छ। एसएसपीसापसँग उहाँहरू बीच कुरा भयो मलाई थाहा भएन।’’

बेपत्ता भएका राजेश सैनिक मेडिकल कलेजमा एमबीबीएस चौथो सेमेस्टरमा अध्ययन गरिरहेका थिए। उनी शाही मेडिकल कलेजको होस्टेलबाटै बेपत्ता भए पनि सेनाले खोजबीनमा उदासीनता देखाएको परिवारले बताएको छ।

 

सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेल, जहाँ राजेश बस्दथे।

सेनाको कलेजको होस्टेलमा अध्ययनरत राजेश कहिलेदेखि हराएका हुन् भन्ने विषयमा कलेजसमेत स्पष्ट छैन। कलेज प्रशासन प्रमुख समेत रहेका प्रमुख सेनानी सुवासजंग थापाले राजेश १६ गते सम्पर्कमा नरहेको बताउँछन्। सोही कलेजमा अध्ययनरत राजेशकै साथीहरूले १७ गते बिहानदेखि हराएको बताउँछन्।

सेनाको कलेजबाट विद्यार्थी बेपत्ताको नालीबेली

यस्तै सेनाको हेडक्वाटरले भने राजेश २१ गतेबाट हराएको बताएको छ। सरकारी समाचार माध्यम राससलगायत विभिन्न सञ्चारमाध्यमसँग सेना प्रवक्ता सन्तोष वल्लभ पौडेलले ‘राजेश २१ गतेबाट हराएका’ बताएका छन्।

दानबहादुर शाही, राजेशका बुबा

कलेज प्रशासन प्रमुख सेनानी थापा भन्छन् ‘‘राजेश १६ गते हराएको हो। उ हराएदेखि खोजी भइरहेको छ। तर अहिलेसम्म केही थाहा हुन सकेको छैन। उ हराए लगतै खोजी जारी छ। प्रहरीसँगको समन्वयनमा खोजी जारी छ।’’

सैनिक स्रोतका अनुसार राजेश बिहान सात बजेतिरको समयमा होस्टेलबाट बाहिर निस्किएको सिसिटिभी फुटेजमा देखिएको छ। तर फुटेजमा देखिएका व्यक्तिको हुलिया अनुसार ती व्यक्ति राजेश नभएको परिवारको दाबी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved