प्रचण्डको प्रतिवेदनमा अमेरिकाको विरोध : थप प्रस्ट्याउन प्रतिनिधिको माग

अध्यक्षको राजनीतिक प्रतिवेदनमा अमेरिकाको आलोचना गरिएको विषयलाई थप प्रस्ट बनाउन प्रतिनिधिले आग्रह गरेका छन्। प्रतिनिधिहरूले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ खारेजीको पनि माग गरेका छन्।

नेपालभ्युज

प्रचण्डको प्रतिवेदनमा अमेरिकाको विरोध : थप प्रस्ट्याउन प्रतिनिधिको माग

काठमाडौं । नेकपा माओवादी (केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत आज (बुधबार) सामूहिक छलफलको निष्कर्ष सुनाउने कार्यक्रम शुरु भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ पुसमा बन्दसत्रको पहिलो दिन आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अध्यक्षको राजनीतिक प्रतिवेदनमा अमेरिकाको आलोचना गरिएको विषयलाई थप प्रस्ट बनाउन प्रतिनिधिले आग्रह गरेका छन्। प्रतिनिधिहरूले अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ खारेजीको पनि माग गरेका छन्।

पार्टीका सोलुखुम्बु प्रतिनिधि गोम्बु शेर्पाले अमेरिकाको आलोचना गर्दै गर्दा कतै चीनलाई खुशी पार्ने प्रयास त गरिएको होइन भन्दै थप प्रस्ट पार्न आग्रह गरेका हुन्। राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले अमेरिकाले चीन र रसियाबीच प्रतिस्पर्धा गरेको आरोप लगाएका छन्।

प्रतिवेदनमा छ, ‘वाइडेन प्रशासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरङकुशताको लडाइँको रूपमा लिएको छ।’ गत वर्ष अमेरिकी राष्ट्रपतिमा निर्वाचित वाइडेनले ९-१० डिसेम्बरमा विश्व प्रजातन्त्र सम्मेलनको आयोजना गरेका थिए। भर्चुअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा विश्वभरका करिब एक सयभन्दा बढी प्रजातान्त्रिक देश सहभागी भएका थिए। उक्त सम्मेलनमा नेपालबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी थिए।

माओवादी अध्यक्ष दाहालको प्रतिवेदनमा सो सम्मेलनको उल्लेख नगरिए पनि चीन र रसियाबीच लोकतन्त्रको संघर्ष अमेरिकाले गर्न खोजेको भन्दै त्यही कुरालाई उल्लेख गर्न खोजेको बुझ्न सकिन्छ। यस्तै अमेरिकाको रक्षा मन्त्रालयले ‘हिन्द-प्रशान्त क्षेत्रका सहयोगी एवं साझेदार देशलाई सहकार्य गर्न निर्देशन दिएको’ उल्लेख गरिएको छ।

प्रतिवेदनले चीन र रसियाविरुद्ध अमेरिकी कदमका रूपमा व्याख्या गरेको छ।

यस्तै अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहको निष्कर्ष सुनाउँदै अर्का प्रतिनिधि सत्यनारायण भगतले अमेरिकालाई साम्राज्यवाद भनेको जस्तै भारतलाई विस्तावादी भन्नुपर्ने माग राखेका छन्।

१२ पुसमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन उपर १३ पुसमा सामूहिक छलफल भएको थियो। २५ समूहमा भएको सामूहिक छलफलको निष्कर्ष सुनाउँने कार्यक्रम शुरु भएको हो।

अमेरिकाले शीत युद्ध चाहेको प्रचण्डको दाबी
प्रचण्डको प्रस्तावः समाजवाद उन्मुख समृद्धि (प्रतिवेदनको मूल पाठसहित)

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved