प्रचण्डको प्रस्तावः समाजवाद उन्मुख समृद्धि (प्रतिवेदनको मूल पाठसहित)

समाजवाद उन्मुख समृद्धिलाई ‘स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पूँजीको विकास प्रक्रिया’को रूपमा व्याख्या गरिएको छ।

प्रचण्डको प्रस्तावः समाजवाद उन्मुख समृद्धि (प्रतिवेदनको मूल पाठसहित)

काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको अबको कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ हुनुपर्ने प्रस्ताव गरेका छन्।

नेकपा (माओवादी केन्द्र)को जारी आठौं महाधिवेशनको बन्द सत्रमा प्रतिवेदन प्रस्तुत गर्दै प्रचण्डले उक्त प्रस्ताव गरेका हुन्।

‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा उनले लोकतान्त्रिक गणतन्त्रको आन्दोलनलाई ‘पूँजीवादी जनवादी क्रान्ति’ को संज्ञा दिएका छन्। माओवादीको चाहना ‘नयाँ जनवादी क्रान्ति’ गर्ने भए तापनि त्यस्तो हुन नसकेको निष्कर्ष उनले निकालेका छन्।

‘नेपालमा सामन्तवाद र साम्राज्यवादका विरूद्ध पूँजीवादी जनवादी क्रान्तिलाई सर्वहारा वर्गको नेतृत्व, मजदूर, किसान एकता र समाजवादी क्रान्तिको अंगका रूपमा अर्थात नयाँ जनवादी क्रान्तिका रूपमा सम्पन्न गर्ने हाम्रो पार्टी र सबै कम्युनिष्ट क्रान्तिकारीहरूको चाहना र प्रयत्न थियो। तर वर्ग-संघर्ष र राजनीतिक संघर्षको प्रक्रिया हामीले चाहे जस्तो नभएर आफ्नो मौलिक बाटो पक्डँदै आधारभूत रूपले पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भयो’ – प्रतिवेदनमा उल्लेख छ।

उनले उक्त क्रान्तिका दुई सीमा रहेको उल्लेख गरेका छन्। प्रतिवेदनमा उल्लेख भएका ती सीमा हुन्-
१. क्रान्तिले सामन्तवादलाई समूल नष्ट गर्न सकेको छैन।
२. क्रान्तिले दलाल-नोकरशाही पूँजीवाद र वैदेशिक हस्तक्षेपलाई रोक्न सकेको छैन।

तथापी वर्तमान संविधान गतिशिल रहेको उल्लेख गर्दै उनले यसका १० वटा विशेषता उल्लेख गरेका छन्।

वर्तमान संविधानले नै ‘समाजवाद उन्मुख अर्थ-राजनीति हुँदै वैज्ञानिक समाजवादमा अगाडि बढ्ने आधार प्रदान गरेको’ र ‘दलाल-नोकरशाही पूँजीपति वर्ग, तिनका वैदेशिक प्रतिक्रियावादी मालिकहरू यो संविधान नै खारेज गर्ने र नेपाललाई पुनः निरंकुशताको बाटोमा धकेल्न’ लागिपरेको प्रचण्डको ठम्याई छ।

उक्त विश्लेषणको आधारमा पार्टीको रणनीति वैज्ञानिक समाजवादको स्थापना गर्ने र कार्यनीति ‘समाजवाद उन्मुख समृद्धि’ को प्रस्ताव प्रचण्डले गरेका छन्। कम्युनिष्ट शब्दावलीमा रणनीतिको अर्थ दीर्घकालीन लक्ष्य र कार्यनीतिको अर्थ तत्कालीन लक्ष्य बुझिन्छ।

‘राष्ट्रिय पूँजीको विकासको कमजोर स्थिति, अर्थतन्त्रमा दलाल नोकरशाही पूँजीवादको बलियो पकड तथा सामन्ती अवशेष र वैदेशिक हस्तक्षेपका विरूद्ध संघर्षको आवश्यकताका कारण तत्काल समाजवादमा जान तथा समाजवादी कार्यक्रम लागू गर्न सम्भव नभएको’ उनको निष्कर्ष छ।

समाजवाद उन्मुख समृद्धिलाई भने ‘स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पूँजीको विकास प्रक्रिया’को रूपमा व्याख्या गरिएको छ।

यो लक्ष्य शान्तिपूर्ण प्रक्रियाबाटै हासिल हुने उनको ठम्याई छ।

पढ्नुहोस् प्रचण्डको प्रतिवेदनको पूर्ण पाठ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved