एमाले पराजयको कारण धाँधली कि अन्तर्घात ?

“मुख्यतः स्थानीय निर्वाचनमा भएको धाँधलीका कारण एमाले पछि परेको हो। धाँधलीसँगै केही ठाउँमा पार्टीभित्रैबाट भएको अन्तर्घातले पनि पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेल्यो।”

एमाले पराजयको कारण धाँधली कि अन्तर्घात ?

काठमाडौं। नेकपा एमाले नेताहरूले ठाउँ  र व्यक्तिअनुसार स्थानीय निर्वाचनमा आफ्नो पार्टी पराजित हुनुका फरक–फरक कारण बताएका छन्।

परिणाम पूरै आइनसक्दै ११ जेठमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैको अन्तर्घात भएका कारण स्थानीय निर्वाचनमा आफ्नो पार्टीको नतिजा राम्रो नआएको बताए।

संसदीय दलको बैठकमा पराजित हुनुको कारण अन्तर्घात बताएका अध्यक्ष ओलीले संसदलाई सम्बोधन गर्ने क्रममा भने निर्वाचन र मत गणनाका क्रममा भएको धाँधलीका कारण आफ्नो पार्टीको राम्रो नतिजा नआएको दाबी गरेका छन्।

ओलीको प्रश्न : उम्मेदवारको घरमा बम पड्काइयो, कसरी भयो शान्तिपूर्ण निर्वाचन ?

अघिल्लो दिन पार्टीको संसदीय दलमा अन्तरघात भएको बताउँदा १२ जेठमा संसदलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीलाई हराउन निर्वाचनमा धाँधली भएको आरोप लगाए।

सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा संघीय संसद्मा आफ्नो धारणा राख्ने क्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले निर्वाचनमा धाँधली भएको, मतगणनाका क्रममा आफ्नो पार्टीले अग्रता लिइएको स्थानमा मतगणना ढिलो गरेको जस्ता आरोप सरकारमाथि लगाए।

स्थानीय निर्वाचनमा एमालेले दशैभरि सोचेजस्तो नतिजा ल्याउन सकेन। आफूले सोचेजस्तो नतिजा नआउँदा एमाले नेताहरूले निर्वाचनमा धाँधली भएकोदेखि आफ्नै पार्टीभित्र अन्तर्घात भएको टिप्पणी गरेका छन्। महासचिव शंकर पोखरेलले त विस्तृत विवरणसहितको प्रेस विज्ञप्ति नै निकालेर सत्तारुढ गठबन्धनले धाँधली गरेको आरोप लगाए।

एमालेको बुझाइमा धाँधली र अन्तरघातमध्ये स्थानीय तहको निर्वाचनमा पार्टी पराजित हुुनुको कारण के हो? एमाले सचिव पद्मा अर्याल धाँधलीलाई पार्टी पराजित हुुनुको प्रमुख कारण भएको बताइन्। उनले भनिन्, “मुख्यतः स्थानीय निर्वाचनमा भएको धाँधलीका कारण एमाले पछि परेको हो। धाँधलीसँगै केही ठाउँमा पार्टीभित्रैबाट भएको अन्तर्घातले पनि पार्टीका उम्मेद्वारलाई हराउन भूमिका खेल्यो।”

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल भने स्थानीय तहको निर्वाचनमा पार्टी पछाडि पर्नुमा निर्वाचनमा भएको धाँधली र पार्टीभित्रै भएको अन्तरघातसँग अन्य कारण पनि रहेको ठहर छ।

“पार्टीले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा निकाल्न नसक्नुमा कांग्रेस नेतृत्वको सरकारले अध्यादेशमार्फत गरेको एमाले विभाजन, निर्वाचनमा भएको गठबन्धन र निर्वाचनका क्रममा भएको धाँधली पराजयका कारण हुन्,” रिजालले भने, “नेपाली कांग्रेसले भनेको ठाउँमा पुनः निर्वाचन भयो। पुनः मतगणना पनि भयने तर एमालेले  निर्वाचनमा धाँधली भएको बताउँदा सुनुवाई भएन।”

विगतका चुनावहरूमा कांग्रेसभित्र अन्तर्घात भएको सुन्ने गरेको बताउँदै रिजालले भने, “यस पटक एमालेमा पनि अन्तर्घात भएको सुन्नमा आएको छ। पार्टीभित्रको अन्तरघात पार्टी पराजित हुनुको कारण हुनु पुग्यो।”

निर्वाचन प्रचारका समयमा एमालेका नेताहरूले पार्टी विभाजन र गठबन्धनले आफ्नो विजयको यात्रलाई रोक्न नसक्ने दाबी गरेका थिए तर निर्वाचनपछि भने उनीहरू पार्टी विभाजन र गठबन्धनका कारण आफ्नो पार्टी निर्वाचनमा पछि परेको बताउँछन्।

नेताहरूले धाँधलीका कारण एमाले पराजित भएको दाबी गरे पनि महानगरपलिकाभित्र अन्तर्घातका कारण एमाले पराजित भएको छ। काठमाडौँ, भरतपुर र पोखरा यसका उदाहरण हुन्। पार्टीभित्रको आन्तरिक किचलोका कारण काठमाडौंको मेयर पदमा पार्टीले केशव स्थापितलाई उम्मेदवार बनाउने निर्णय गर्यो।

पार्टीको एउटा तप्काले स्थापितलाई मेयर पदमा अगाडि सार्दा असन्तुष्टि बनेको अर्को पक्षले काठमाडौंको महानगरको निर्वाचनमा स्थापितलाई सहयोग नगरेको स्पष्ट देख्न सकिन्थ्यो जसको प्रतिफल स्वतन्त्र व्यक्तिले काठमाडौं महानगरपालिकाको मयर पद जित्दा कांग्रेस दोस्रो स्थानमा रह्यो भने एमाले तेस्रो स्थानमा खुम्चियो।

यस्तै, पोखरा महानगरपालिकामा मेयर पदमा कुन नेतानिकट व्यक्तिलाई उम्मेद्वार बनाउने भन्ने विषयमा भएको अन्तर्विरोध स्पष्ट रुपमा बाहिर आएको थियो। पार्टीका एक तप्काका नेताले उम्मेदवार बनाउने निर्णय गरेको व्यक्तिलाई सुन चोरीको आरोप लगाउँदै अर्को खेमाले कृष्ण थापालाई मेयर पदको उम्मेदवार बनायो। पार्टीले मेयर पदमा थापालाई उम्मेदवार बनाए पनि पोखराको स्थानीय राजनीतिमा प्रभाव पार्ने पार्टीका केन्द्रीय नेताहरूकै सहयोगका कारण पोखरामा एमाले पराजित भएको हो।

स्थानीय तहको निर्वाचनको प्रचार चल्दै गर्दा एमाले भरतपुरको मेयर पद जित्नेमा विश्वस्त देखिन्थ्यो। भरतपुरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल र गठबन्धनबाट मेयर पदकी साझा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहालप्रति कांग्रेस कार्यकर्ताको बढ्दो असन्तुष्टिका कारण पनि भरतपुरको मेयर पद जित्नेमा एमाले ढुक्क थियो। निर्वाचन जित्नेमा ढुक्क देखिएको एमालेले मतपरिणाम आउँदा कम्जोर देखियो।

२०७४ को स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयर पदमा एमालेका प्रतिस्पर्धीले ल्याएको मत जति मत पनि यो पटक ल्याउन सकेन। अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर निर्वाचित रेनु दाहालले ४३ हजार १२७ मत प्राप्त गर्दा एमालेका मेयर प्रतिस्पर्धी देवी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए। यो पटक मेयरमा निर्वाचित रेनु दाहालले ५२ हजार २८ मत प्राप्त गर्दा एमालेबाट मेयर पदमा प्रतिस्पर्धा गरेका विजय सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरे।

केन्द्रबाट एमालेले स्थानीय तहको निर्वाचनमा पार्टी पराजित हुनुमा धाँधलीलाई प्रमुख कारण बताउँदा भरतपुरमा भने एमालेभित्र अन्तर्घात भएको एमाले चितवनका स्थानीय नेताहरू स्वीकार गर्छन्। मेयर पदमा सुवेदीलाई सर्वसम्मत उम्मेदवार बनाइए पनि संघीय सांसद एवं भरतपुरका स्थायी बासिन्दा कृष्णभक्त पोखरेलदेखि अघिल्लो पटक मेयर पदमा प्रतिस्पर्धा गरेका ज्ञवालीसम्मले मेयर पदमा आकांक्षा राखेका थिए। केन्द्रले सुवेदीको नाम अनुमोदन गर्दा पोखरेल र ज्ञवालीले केन्द्रको निर्णय मानेका थिए।

पोखरेल र ज्ञवालीबाट भन्दा भरतपुरमा पार्टीका युवा नेताहरूबाट पार्टीलाई अन्तर्घात भएको चितवनका एमाले कार्यकर्ता बताउँछन्। “केन्द्रीय राजनीतिमा अघि बढेका व्यक्तिहरू फेरि स्थानीय राजनीतिमा फर्किन खोज्दा आफ्नो पालो नआउने देखेर कतिपय पार्टीका युवा कार्यकर्ताहरूले पार्टीका मेयर पदका उम्मेदवारलाई भोट हालेनन्,” चितवनका एक एमाले कार्यकर्ता बताउँछन्।

एमालेले भरतपुरको मेयर पदमा प्रतिस्पर्धा गराएको सुवेदी बागमती प्रदेश सांसद थिए। यस्तै २०६४ मा भएको संविधानसभाको निर्वाचनमा पनि उनलाई पार्टीले अवसर दिएको थियो। यद्यपि, सुवेदी उक्त निर्वाचनमा पराजित भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved