माओवादी महाधिवेशन

अमेरिकाले शीत युद्ध चाहेको प्रचण्डको दाबी

नेपालभ्युज

अमेरिकाले शीत युद्ध चाहेको प्रचण्डको दाबी

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पेश गरेको राजनीतिक प्रतिवेदनमा अमेरिकाले शीतयुद्धकालिन मानसिकता नत्यागेको दाबी गरिएको छ। शीतयुद्धकालीन मानसिकताकै कारण चीन र रसियासँगको प्रतिस्पर्धा चर्काएर लैजाने पक्षमा अमेरिका रहेको प्रतिवेदनमा दाबी गरिएको छ।

संयुक्त राष्ट्रसंघको ७६ औँ महासभालाई सेप्टेम्बरमा सम्बोेधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले शीत युद्धको अवस्था नचाहेको बताएका थिए। अमेरिका–चीनबीच प्रतिस्पर्धा बढ्दै जाँदा विश्वमा नै फेरी शीत युद्धकालीन अवस्था आउन सक्ने आकलन हुँदै गर्दा अमेरिकी राष्ट्रपतिले यस्तो बताइएका थिए। अन्तरनिर्भरतामा अगाडि बढेको विश्वमा शीतयुद्धको अवस्था नरहेको उनको दाबी थियो। यद्यपि, माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रस्तुत गरेको आफ्नो राजनीतिक प्रतिवेदनमा भने विश्व शीत युद्धकालीन अवस्थामा प्रवेश गरेको दाबी गरिएको छ।

प्रतिवेदनमा भनिएको छ, “वाइडेन प्रशासनले अमेरिका र चीनबीचको संघर्ष लोकतन्त्र र निरङकुशताको लडाइँको रूपमा लिएको छ।” गत वर्ष अमेरिकी राष्ट्रपतिमा निर्वाचित वाइडेनले ९–१० डिसेम्बरमा विश्व प्रजातन्त्र सम्मेलनको आयोजना गरेका थिए। भर्चुअल माध्यमबाट सञ्चालित उक्त कार्यक्रममा विश्वभरका करिब एक सयभन्दा बढी प्रजातान्त्रिक देश सहभागी भएका थिए। उक्त सम्मेलनमा नेपालबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी थिए।

माओवादी अध्यक्ष दाहालको प्रतिवेदनमा सो सम्मेलनको उल्लेख नगरिए पनि चीन र रसियाबीच लोकतन्त्रको संघर्ष अमेरिकाले गर्न खोजेको भन्दै त्यही कुरालाई उल्लेख गर्न खोजेको बुझ्न सकिन्छ। यस्तै अमेरिकाको रक्षा मन्त्रालयले ‘हिन्द–प्रशान्त क्षेत्रका सहयोगी एवं साझेदार देशलाई सहकार्य गर्न निर्देशन दिएको’ उल्लेख गरिएको छ। प्रतिवेदनले चीन र रसियाविरुद्ध अमेरिकी कदमका रूपमा व्याख्या गरेको छ।

पूँजीवादी विकासको जुन चरणमा पुगेपछि युद्ध अपरिहार्य बन्न जान्छ यसबाट बच्ने चिनियाँ प्रयास प्रशंसनीय रहेको उनले बताएका छन्। विश्वमा चीनलाई एक्ल्याउन भइरहेका खेलले भने भविष्यमा चीनलाई कुन प्रकारका रणनीति अख्तियार गर्न बाध्य पार्ला त्यो भने अनिश्चित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अमेरिका, अष्ट्रेलिया, जापान र भारतबीचको क्वाड र अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको ओकस सम्झौता सबै चीन विरुद्धको अमेरिकी कदमका रूपमा प्रतिवेदनमा उल्लेख छ। अमेरिका–भारतबीचको सम्बन्ध सुधार हुन पछाडीको कारणका रूपमा पनि प्रतिवेदनले चीन विरुद्धको नीतिकै रूपमा उल्लेख गरेको छ।

माओवादी अध्यक्ष दाहालको प्रतिवेदनमा विश्व एक धुव्रबाट बहुधुव्रमा गएको बताइए पनि माओवादी नेता राम कार्कीले ल्याएका पुरक प्रतिवेदनमा भने त्यसलाई अस्वीकार गरिएको छ। कार्कीको प्रतिवेदनमा भनिएको छ, “वैचारिक,सैद्धान्तिक रूपमा विश्व पूँजीवादी व्यवस्थालाई चुनौती दिने अर्को ध्रुव टड्कारो रूपमा देखा परिसकेको स्थिति छैन।” यद्यपि, योे अवधिमा विश्व राजनीतिक शक्ति सन्तुलनलाई नै हेरफेर गर्न सक्ने केही महत्वपूर्ण आर्थिक, राजनीतिक र सामरिक विकासहरू भएको उनले स्वीकार गरेका छन्।

पूँजीवादी विकासको जुन चरणमा पुगेपछि युद्ध अपरिहार्य बन्न जान्छ यसबाट बच्ने चिनियाँ प्रयास प्रशंसनीय रहेको उनले बताएका छन्। विश्वमा चीनलाई एक्ल्याउन भइरहेका खेलले भने भविष्यमा चीनलाई कुन प्रकारका रणनीति अख्तियार गर्न बाध्य पार्ला त्यो भने अनिश्चित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै माओवादी अध्यक्षको प्रतिवेदनमा जलवायु परिवर्तनलाई विश्व सुरक्षा चुनौतीका रूपमा लिइएको छ। “आधुनिक खेतीका नाममा प्रयोग गरिएका जैविक इन्धनबाट चल्ने मेसिनहरुको प्रयोग, रासायनिक मल, कीटनाशक औषधीको प्रयोग आदिले समेत वातावरणलाई प्रदूषित गर्दै वायु मण्डलमा अत्याधिक कार्बन उत्सर्जन गरिरहेको छ,” प्रतिवेदनमा भनिएको छ। यस्तै पृथ्वीमा बढ्दै गएको तापक्रममा यातायतको साधनको प्रयोगबाट निस्किने कार्बन उत्सर्जनलगायत कारण रहेको पनि प्रतिवेदनमा भनिएको छ।

प्रकृति र मानव जातिमा देखिएको सबै समस्यालाई भने माओवादी अध्यक्षको प्रतिवेदनमा पुँजीवादको उत्पादन र वितरण प्रणालीलाई कारण देखाइएको छ। सबै समस्याको कारण पुँजीवादलाई देखाउँदै गर्दा समस्यालाई कसरी समाधान गर्ने भन्ने ठोस समाधानको उपाय भने प्रतिवेदनमा उल्लेख भएको छैन।

प्रतिवेदनमा प्रधान शत्रु र वर्ग शत्रुको किटान भने गरिएको छैन। कम्युनिष्टहरुको प्रतिवेदनमा प्रधान शत्रु र वर्ग शत्रु किटान गर्ने चलन रहे पनि केही समय यता प्रधान र वर्ग शत्रुको वर्गिकरण गर्न छोडिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved