प्रचण्डको प्रतिवेदनमा एमसीसीदेखि ओलीसम्मको चर्चा

प्रचण्डले पेश गरेको प्रतिवेदनमा एमसीसीलाई यथास्थितिमा पारित गर्न नसकिने उल्लेख छ। एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्रै पारित गर्ने नीति पार्टीले लिएको हो।

प्रचण्डको प्रतिवेदनमा एमसीसीदेखि ओलीसम्मको चर्चा

काठमाडौं । नेकपा माओवादी (केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत सोमबार शुरु भएको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदन वाचन गरे। अध्यक्ष दाहालले तयार पारेको सय पृष्ठको प्रतिवेदनमा सेना समायोजन गर्नु पार्टीको गल्ती भएको उल्लेख छ।

‘२१ औँ शाताब्दीमा सजमाजवादको नेपाली बाटो’ शीर्षक दिइएको प्रतिवेदन पढ्न दाहालले झन्डै डेढ घण्टा लगाए। उनले सेना समायोजन गर्दा आफ्नो तर्फबाट गल्ती भएको स्विकारेका छन्।

अध्यक्ष दाहालले तयार पारेको प्रतिवेदन अझै सार्वजनिक भइसकेकाे छैन। तर, बन्दसत्रमा सहभागी एक नेताका अनुसार दाहालले सेना समायोजनको विषयलाई प्रतिवेदनमा समेटेका छन्। अध्यक्षलाई उधृत गर्दै ती नेताले भने, “सेना समायोजन गर्दा एकल निर्णयका आधारमा गरियो, केन्द्री समितिको राय सुन्ने काम पनि नहुँदा गल्ती भएकै हो।”

त्यस्तै अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीका सामु आत्मसमर्पण गर्ने नेताका रुपमा चित्रित गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन हुनुका पछाडी ओलीको सम्झौतावादी प्रवृति नै मुख्य दोषि भएको समेत प्रतिवेदनमा उल्लेख भएको ती नेताले जानकारी दिए।

त्यस्तै प्रतिवेदनमा माओवादी आन्दोलनले चाहे जसरी देशमा संघीयता र पहिचनाको मुद्दा स्थापित हुन नसकेको उल्लेख गरिएको छ। संविधानसभाको माग गर्दै सशस्त्र आन्दोलन सञ्चालन गरेको माओवादी पार्टीले आजको दिनसम्म केही प्राप्त गरेको र अझै धेरै प्राप्त गर्न बाँकी रहेको उनको जोड थियो।

उनले संविधान संशोधनको मुद्दालाई फेरी उठाएका छन्। संविधान लेखनकै क्रममा आफ्नो पार्टीले भिन्न मत राखेको उल्लेख गर्दै उनले संविधानमा पार्टीको मुद्दालाई अझै स्थापित गर्न सबै क्षेत्रबाट संघर्ष गर्नुपर्ने बताएका छन्। त्यस्तै, संविधानका उपलब्धि उल्टाउने कोसिस भएको भन्दै त्यसको समना गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन्।

देशको राजनीतिक परिवर्तनमा पार्टीको भूमिका अन्य राजनीतिक दलको तुलनामा बढी रहेको बताउँदै प्रतिवेदनमा देश विकासका लागि आर्थिक आधार तयार गर्नुपर्ने उल्लेख गरेका छन्।  पार्टीका युवा नेता हिमाल शर्माका अनुसार नेपाली मौलिकता र विशेषतासहितको पूँजिवादी क्रान्ति सफल भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, नेपाली मौलिकता र विशेषताको समाजवाद प्राप्तिका लागि अघि बढ्ने कुरा पनि समेटिएको छ।

“देश विकासका लागि आगामी दिनमा आवश्यक पर्ने आर्थिक आधार कस्तो हुनुपर्छ भन्ने विषय प्रतिवेदनमा उल्लेख गरिएको छ,” नेपाल भ्यूजसँग कुरा गर्दै नेता शर्माले भने, “नेपाली मौलिकतासहितको समाजवाद प्राप्तिका लागि दलाल पूँजिवादलाई परास्त गर्नुपर्ने विषय समेटिएको छ।”

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमा धनी र गरीब देशबीच आर्थिक खाडल बढ्दै गएको उल्लेख गरिएको छ। विश्वका नामुद अर्थशास्त्रीले नै यी विषय पुष्टि गरेको बताउँदै प्रतिवेदनमा वर्गीय अन्तरविरोधको चर्चा गरिएको छ। सयजना व्यक्तिमात्रैले पनि कब्जा गर्नसक्ने भयानक अवस्था आजको विश्वमा रहेको प्रतिवेदनको दाबी छ।

त्यस्तै अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा प्रचण्डपथका विषयमा पनि समीक्षा गरिएको छ। अध्यक्ष दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रचण्डपथबाट बाहिरिनु गल्ती भएको भन्दै त्यसमा आत्मालोचना गरेका छन्। केही दिनअघि पार्टीका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले पनि प्रचण्डपथबाट पार्टीलाई विमुख बनाउनु पार्टी जीवनकै ठूलो गल्ती भएको बताएका थिए। तर अब प्रचण्डपथमा जान नसकिने पनि उनले उल्लेख गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पार्टीका कार्यकर्तालाई कृषि कर्ममा लगाउँदै श्रममा जोड्नुपर्ने प्रस्ताव पनि गरिएको छ। आफ्नो पार्टीको संगठन मजबुत भएको स्थानमा स्थानीय तहमा ५०–५० युवा परिचलान गर्दै कृषि कर्ममा लगाउनु पर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। त्यस्तै कार्यकतालाई वर्षमा कम्तिमा १५ दिन अनिवार्य श्रममा जोडिनुपर्ने र त्यसको लगत पार्टीले राख्ने प्रस्ताव प्रतिवेदनले गरेको छ।

पार्टीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रघाती नभएको बताउँदै पारित गर्नुपर्ने बताएका थिए। पार्टी महाधिवेशनअन्तर्गत दोस्रो दिन अध्यक्ष दाहालले पेश गरेको पार्टीको राजनीतिक प्रतिवेदनमा भने एमसीसीलाई यथास्थितिमा पारित गर्न नसकिने बताइएको छ। एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्रै पारित गर्ने नीति पार्टीले लिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved