माधव नेपालसहित तत्कालीन १४ एमाले सांसद्को मुद्दाको सुनुवाइ आज

नेपालभ्युज

माधव नेपालसहित तत्कालीन १४ एमाले सांसद्को मुद्दाको सुनुवाइ आज

काठमाडौं। माधव नेपालसहित तत्कालीन नेकपा एमालेले निष्काशन गरेका १४ सांसद्विरुद्धको मुद्दाको सुनुवाइ आज हुँदैछ। एमालेले निष्काशन गरेका सांसद्लाई पदमुक्त नगरी नयाँ दल दर्ता गरेको र सभामुखले कारबाही नगरेको भन्दै एमालेले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध रिट हालेको थियो।

उक्त मुद्दाको आज पेशी चढेकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोग र सभामुखलाई विपक्षी बनाएको मुद्दा सुनुवाइका लागि तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ।

२७ बैशाखमा तत्कालीन प्रधानमन्त्री ओलीले विश्वासको मत लिएकोमा विश्वासको मतका लागि एमालेले ह्वीप जारी गरेको थियो। तर ओलीले विश्वासको मत लिँदा नेपालसहित २८ सांसद् अनुपस्थित भएका थिए। त्यसपछि दलको ह्वीप उल्लंघन गरेको भन्दै १ भदौमा नेपालसहित मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई निष्काशन गरिएको पत्र संसद् सचिवालयलाई पठाएको थियो।

तर सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी आयोगले दिएको भन्दै पदमुक्त नगर्ने निर्णय गरेका थिए।

दलले कारबाही गरेका तत्लकालीन एमालेका ती १४ जना सांसद्लाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले २३ भदौदेखि निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved