असनको साँघुरो गल्लीले फेरिदिएको जिन्दगी

अमृत श्रेष्ठ र उनका छोराछोरीको दैनिकी हो यो। असनको गल्लीमा आवातजावत गर्ने व्यक्तिलाई खाजा खुवाउँदैमा बितिरहेको छ दिनचर्या। साँघुरो ठाउँ भए पनि उनले विभिन्न परिकार बनाएर खुवाउँछन्।

असनको साँघुरो गल्लीले फेरिदिएको जिन्दगी

काडमाडौं। असनको साँघुरो गल्ली। भित्तामा काठ, भुइँमा केही इँटाका सहारामा राखिएको छ स्टोभ।

त्यहीँ बसेर ग्वारमरी बनाइरहेका छन् उनी। उनको छेउमै चिया पकाइरहेकी छन् छोरी। अलिक पर बाल्टीमा धारा बनाएर भाँडा धोइरहेका छन् उनका छोरा। अमृत श्रेष्ठ र उनका छोराछोरीको दैनिकी  हो यो। असनको गल्लीमा आवातजावत गर्ने व्यक्तिलाई खाजा खुवाउँदैमा बितिरहेको छ दिनचर्या। साँघुरो ठाउँ भए पनि उनले विभिन्न परिकार बनाएर खुवाउँछन्।

बिहानको सात बजे उनकोमा खाजा खानेको भीड लागिसकेको थियो। कोही कालो चिया मागिरहेका थिए त कोही दूध हालेको। कोही खाजा सोध्दै थिए। उनकोमा चियासहित खाजामा तरकारी सेल, मालपुवा र ग्वारमरी पाइन्छन्। अमृत् भन्छन्, “यही गल्लीमा काम गर्ने मान्छेहरू नै खाजा खान आउँछन्।”

मिजोसिलो स्वभावका श्रेष्ठको परिवारको दैनिकी ८ वर्षदेखि यसरी नै चलिरहेछ। गल्लीमा खाजा खुवाउँदा जीविकोपार्जन मात्र नभई आर्थिक अवस्था पनि सुधरिएको उनी बताउँछन्। झिसमिसेमै (४ बजे) स्टोभ अनि कराइजस्ता भाँडाकुडा लिएर गल्लीमा मा आइपुग्छन् श्रेष्ठका बाउछोरा। छोरी भने घरमा तरकारी पकाएर केही समयपछि आउँछिन्।

“खाजा आफैं पकाउँछु, पकाउन गाह्रो लाग्दैन”, अमृत भन्छन्, “हामीले कामको बाँडफाँट गरेका छौं, तर भीड हुँदा जसले जे भ्याउँछ त्यही गर्छौं।” छोरी चिया पकाउँछिन् भने खाजाको अर्डर लिने र भाँडा माझ्ने काम छोराले सम्हाल्न्छन्।

उनीहरू बिहान चार बजेदेखि दश बजेसम्म खाजा खुवाउँछन्। उनीकहाँ ५० रुपैयाँमा एक जनाले पेटभरि खाजा खान पाउँछन्। त्यसैले उनको व्यवसाय फस्टाएको छ। “सस्तो र छिटो खाजा दिने भएकाले धेरै मानिस यहीँ खाजा खान्छन्, राम्रो कमाइ हुन्छ, दिनभरि अरूकोमा दुःख गर्नुभन्दा बिहान ६ घण्टा दुख गर्नु ठिक लाग्छ।”

दुई वर्षको अन्तरालमा अमृतका दुई छोरी र एक छोरा भए। उनीहरूलाई हुर्काउन बढाउन भनेर धेरै मिहिनेत गरेको उनी बताउँछन्। भन्छन, “रसुवाको धुन्चेबाट निउरो र आलु ल्याएर कलंकीमा बेचें, त्यसबाट पनि निकै फाइदा भयो।” धुन्चेबाट एक मोहरमा निउरो ल्याएर काठमाडौंमा पाँच रुपैयाँमा बेचेको अनुभव पनि उनले बताए।

गल्लीमा खाजा खुवाएर दैनिक १५ हजार रुपैयाँभन्दा बढी कमाइ भइरहेको उनी बताउँछन्। भन्छन्, “अर्को घर आँटिसकें त्यस्तो कमाइ हुन्छ यहाँ, कमाइ नभए छोराछोरी कसरी पाल्न सकिन्छ र ?”
बिहानभरि काम गरेर दिनभरि थकाइ मार्ने उनी बताउँछन्।

भागेर काठमाडौं आएका थिए अमृत

सिन्धुपाल्चोक जलविरेका अमृतले एक कक्षा पढेका छन्। “त्यसबेला गाउँमा स्कुल थिएन, चौरमै बसेर पढ्थ्यौं, पानी आयो भने दौडेर घर पुग्थ्यौं”, भन्छन्, “सात वर्षको हुँदा चौरमा पढ्न गएको थिएँ, पढाइमा त्यति मन लाग्दैनथ्यो त्यसबेला पढ्नुपर्छ भन्ने चेतना नै थिएन,” थपे, “गाउँमा बस्न मन लागेन भागेर काठमाडौं आएँ।”

दाइहरू काठमाडौं बस्ने भएकाले काठमाडौं शहर हेर्न भागेर आइपुगेको उनले सुनाए।

नौ वर्षको हुँदा उनी पहिलोपटक काठमाडौं आइपुगेका थिए। भन्छन्, “शुरुमा आमा बुवाको याद आएर घर गइरहन्थें, दुई-चार दिनमा घर आउजाउ गरिरहन्थें। काठमाडौंमा शुरुमा आउँदा निकै दुःख पाएँ, उमेर सानो भएर काम नै पाइनँ, म एकदमै चञ्चले थिएँ।”

काम नभए पनि पनि उनी असनका गल्लीमा घुमिरहन्थे। काम पाइन्छ भनेर धेरैसँग बुझे। उलने भारी बोक्ने काम पाए। भन्छन्, “भारी बोकेर केही वर्ष बिताएँ, भारी बोम्दा असनका धेरै मानिसहरू चिनें।” बारी बोकेर कमाइ धेरै नभएपछि असनको गल्लीमा तन्ना बेच्न थाले। होलसेलबाट तन्ना लिन्थे, बिक्री भएको बेच्थे, नभएको लगेर दिन्थे। भन्छन्, “होलसेल रेटभन्दा बढीमा बेचेर फाइदा राख्थें।”

अमृत आफूलाई त्यसबेलासम्म भविष्यको चिन्ता नभएको बताउँछन्। भन्छन्, “घरमा बिहेको कुरा चलेपछि जिन्दगीले अर्कै मोड लियो।” १७ वर्षको हुँदा विवाह गरेका उनले बिहेको दोस्रो वर्षमा छोरी जन्मिइन्। “अहिले आफू सेटल भएर बच्चा जन्माउने भन्छन्, त्यसबेला केही मतलब हुँदैनथ्यो,” अमृत भन्छन्, “अहिले आफ्नो खुट्टामा उभिएर बच्चा जन्माउँछन्। हाम्रो पालामा जन्मायो सकियो।”

छोराछोरी जन्मिएपछि उनको जिम्मेवारी थपियो। छोरीको लालनपालन जिम्मेवारी उठाउन परेपछि पैसाको महत्व उनले बुझे। भन्छन्, “पैसा कमाए पनि बचत गर्दैन थिएँ, पछि पैसा बचाउन सिकें।”

दुई वर्षको अन्तरालमा अमृतका दुई छोरी र एक छोरा भए। उनीहरूलाई हुर्काउन बढाउन भनेर धेरै मिहिनेत गरेको उनी बताउँछन्। भन्छन, “रसुवाको धुन्चेबाट निउरो र आलु ल्याएर कलंकीमा बेचें, त्यसबाट पनि निकै फाइदा भयो।” धुन्चेबाट एक मोहरमा निउरो ल्याएर काठमाडौंमा पाँच रुपैयाँमा बेचेको अनुभव पनि उनले बताए।

केही समय तरकारी बेचेपछि असनमा होटल व्यवसाय गरेका उनले २१ वर्षअघि असनमा सटर लिएर होटल शुरु गरेका बताउँछन्। भन्छन्, “काठमाडौं आएदेखि असन छोडेको छैन, २६ वर्ष एउटै घरमा बसेर असनमा नै घर किनेर आफ्नै घरमा सरें।” असनमा उनले तीनतले घर किनिसके, अझै अर्को घर किन्न सक्ने अवस्थामा आफू भएको उनी बताउँछन्। भन्छन्, “यो व्यवसाय निकै फापेको छ सटरमा होटल गर्नुभन्दा गल्लीमा गर्दा निकै फाइदा हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved