अर्जुन हत्या प्रकरण : आफन्तले आठबुँदे माग राखी गाउँपालिका कार्यालय बन्द गराए

पीडित पक्षले हत्यामा संलग्नलाई आजीवन काराबास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेका छन्।

अर्जुन हत्या प्रकरण : आफन्तले आठबुँदे माग राखी गाउँपालिका कार्यालय बन्द गराए

धनगढी। कैलालीको जानकी गाउँपालिका-९ का २५ वर्षीय अर्जुन दासका आफन्तले बिहीबार गाउँपालिका कार्यालय बन्द गराएका छन्। हत्या भएको ६ दिनसम्म पनि संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै ८ बुँदे माग राखेर पीडित पक्षले पालिका बन्द गरेका हुन्।

पीडित पक्षले हत्यामा संलग्नलाई आजीवन काराबास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेका छन्।

मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए। बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरिएका छन्।

गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा फेला परेका थिए। दासको हत्याको जिम्मेवारी लिएको अडिओ उनकी श्रीमतीको फेसबुक म्यासेन्जरमा समेत पठाइएको थियो।

सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरू तीन जना फरार रहेका प्रहरीले बताएको छ। घटनापछि उनीहरू गौरीफन्टा नाका हुँदै भारत प्रवेश गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले हत्यामा संलग्नहरूको पहिचान भइसकेको तर उनीहरू फरार भएकाले खोजी जारी राखिएको बताए।

पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन्। अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ। जानकी गाउँपालिकाले बिहीबार पीडित पक्षले उठाएका माग सम्बोधनका विषयमा छलफल गर्ने भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved