मुटुले रोकेको एउटा फुटबल करिअर

जसको जिन्दगी फुटबलबाहेक केही छैन। जसलाई फुटबल खेलले नै संसारभरि चिनायो। मुटुले धोका दिएपछि एउटा विश्व चर्चित खेलाडीको फुटबल यात्रा बीचैमा पूर्णविराम लाग्यो।

मुटुले रोकेको एउटा फुटबल करिअर

काठमाडौं। गत हप्ता फेरि एउटा फुटबल खेलाडी पत्रकार सम्मेलनमा भक्कानिएर रोइरहेका थिए, ठिक त्यसैगरी जसरी करिब चार महिनाअघि लियोनल मेस्सी पनि पत्रकार सम्मेलनमा रोएका थिए।

संयोग नै मान्नुपर्छ यसरी रुने अरू कोहि नभएर मेस्सीकै प्रिय मित्र तथा अर्जेन्टिनाका अर्का स्टार स्ट्राइकर सर्जियो अग्युरो थिए। अर्को संयोग यी दुवै खेलाडीका रुवाइको साक्षी बनिरहेको थियो बार्सिलोना, फुटबल क्लब पनि र स्पेनको शहर पनि।

मेस्सी आफ्नो करिब २१ वर्ष बिताएको बाल्यकालदेखिको क्लब, बार्सिलोना छोड्नुपर्दाको पीडामा रोएका थिए।

यता अग्युरोको पीडा त झन् त्योभन्दा कैयौं गुणा ठूलो थियो। मेस्सी त आफ्नो प्यारो क्लब छोड्नुपर्दा रोएका थिए। तर अग्युरोले त फुटबल खेल खेल्न नै छोड्नुपर्ने बाध्यता आइलाग्यो।

जसको जिन्दगी फुटबलबाहेक केही छैन। जसलाई फुटबल खेलले नै संसारभरि चिनायो। त्यही खेलबाट समयअघि नै संन्यास लिनुपर्दा उनी भक्कानिनु स्वाभाविक थियो।
मुटुले धोका दिएपछि एउटा विश्व चर्चित खेलाडीको फुटबल यात्रा बीचैमा पूर्णविराम लाग्यो।

गत अक्टोबर ३० मा उनी पहिलो पटक बार्सिलोनाको घरेलु मैदानमा शुरुआती टिममा रहेर खेलिरहेका थिए। यसै सिजन इंग्लिस क्लब म्यानचेर सिटीबाट बार्सा आएपछिको यो मात्र उनको पाँचौं खेल थियो।

तर स्पेनिस लिगमा एलाभेससँगको खेल दौरान ४२ औं मिनेटमा उनमा स्वाशप्रस्वाशमा समस्या देखियो। सास फेर्न कठिन भएपछि मैदानमै सुतेका उनी चार मिनेटपछि आफैं हिँडेर भने मैदान बाहिर गएका थिए।

यसपछि उपचार दौरान चिकित्सकले उनको मुटुमा समस्या देखाए। र सधैंका लागि फुटबल खेल्न छाड्न सुझाए।

आर्थिक संकट मात्र होइन यो सिजन स्पेनिस महारथि क्लब बार्सिलोनाको दुर्भाग्यपूर्ण समय पनि चलिरहेको छ। जहाँ क्लबका लागि ल्याइएका स्टार खेलाडी अग्युरो पाँच खेलबाटै बिदा हुन बाध्य भए।

यसको दुई हप्तापछि उनले आधिकारिक रूपमा फुटबल खेल्नबाट संन्यासको घोषणा गरे। बार्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा खेलाडीको रूपमा अन्तिम पटक बोल्दा उनका आँशु थामिएन।

मेस्सीले पनि यसै वर्ष यही बार्सिलोनामा नै पत्रकार सम्मेलनमा आँशु पुछ्दै बिदा भएका थिए। अग्युरो पनि त्यसै गर्न विवश भए।

आर्थिक संकट मात्र होइन यो सिजन स्पेनिस महारथि क्लब बार्सिलोनाको दुर्भाग्यपूर्ण समय पनि चलिरहेको छ। जहाँ क्लबका लागि ल्याइएका स्टार खेलाडी अग्युरो पाँच खेलबाटै बिदा हुन बाध्य भए।

३३ वर्षीय अग्युरोले म्यानचेष्टर सिटीबाट आफ्नो सान्दार फुटबल करिअर स्थापित गर्न सफल भएका थिए। म्यानचेष्टर सिटी छाड्ने भएपछि धेरै क्लबले उनलाई टिममा भित्र्याउने प्रयास गरेका थिए। अन्ततः उनी बार्सिलोना आएका थिए।

उनी आफ्नै देशका अर्का स्टार खेलाडी तथा आफ्ना प्यारा मित्र मेस्सीसँगै एउटै क्लबबाट व्यवसायिक खेल खेल्न चाहन्थे। यो धोको पूरा गर्न उनले बार्सिलोना रोजेका थिए। तर उनको दुर्भाग्य, जब उनी बार्सिलोनासँग अनुबन्धित भए लगत्तै क्लबले मेस्सीको खर्च धान्न नसक्ने भन्दै उनलाई बार्सिलोनाबाट बिदा गर्‍यो।

देशबाट जस्तै क्लबबाट पनि मेस्सीसँगै खेल्न भनेर बार्सिलोना गएका उनी मेस्सी नै क्लबमा नरहेपछि निकै दुःखी भएका थिए। एक त मेस्सी नै क्लबमा भएनन्, अर्कातिर चरम आर्थिक संकट भोगिरहेको बार्सिलोना निकै खराब फर्मबाट पनि चलिरहेको थियो। यस्तो अवस्थामा उनले आफ्नो बार्सिलोनाको बसाइ निकै कठिन हुने अनुमान पहिल्यै गरिसकेका थिए।

तर त्यो भन्दा पनि कैयौ गुणा ठूलो, आफूले अनुमान नै नगरेको भोगाइ उनले जीवनमा भोग्नुपर्‍यो, जब धेरे कुदेको उनको मुटुले विश्राम खोज्यो।

एकातिर विश्व फुटबलको महारथि राष्ट्र अर्जेन्टिना र अर्कातर्फ क्लब फुटबल दुनियाँको राजा क्लब बार्सिलोनाको प्रमुख खेलाडीको रूपमा खेलिरहेका थिए उनी। एकै झड्कामा यो सबै छोड्नु पर्दाको उनको पीडा सायदै अरू कसैले बुझ्न सक्ला।

यसै वर्ष मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना टिमले २८ वर्षपछि पहिलो प्रमुख उपाधिको रूपमा कोपा अमेरिकाको उपाधि जितेको थियो। जहाँ अग्युरोको पनि योगदान अतुलनीय थियो।

उनीसहित अर्जेन्टिना फुटबलको हालको ‘जेनेरेसन’लाई गोल्डेन जेनेरेसन मानिन्छ। तर अर्जेन्टिना यसअघिको सन् २०१५ र २०१६ को कोपा अमेरिकामा लगातार उपविजेता र सन् २०१९ मा तेस्रो मात्र भएको थियो।

लियोनल मेस्सीको कमाण्डमा रहेको यो गोल्डेन जेनेरेसनको अब एउटा अन्तिम प्रयास सन् २०२२ को कतार विश्व कप उचाल्नेमा थियो। जसका लागि सकेसम्मको योगदान दिने अग्युरोको पनि चाहना थियो। तर त्यो सपना मात्र भयो अग्युरोका लागि।

उता सन् २०१४ को विश्वकपमा फाइनलमा पराजित भएको गोल्डेन जेनेरेशनको अर्जेन्टिना गत संस्करणमा अन्तिम १६ बाटै बाहिरिएको थियो। स्टार खेलाडीहरूको बाहुल्यता रहेर पनि क्लबका लागि मात्र राम्रो खेल्ने तर राष्ट्रका लागि नतिजा निकाल्न नसक्ने आरोप लाग्दै आएको अर्जेन्टिनाको फुटबल टिमले यसै वर्ष कोपाको उपाधि उचाल्दै आलोचकको मुख बन्द गरेको थियो।

लियोनल मेस्सीको कमाण्डमा रहेको यो गोल्डेन जेनेरेसनको अब एउटा अन्तिम प्रयास सन् २०२२ को कतार विश्व कप उचाल्नेमा थियो। जसका लागि सकेसम्मको योगदान दिने अग्युरोको पनि चाहना थियो। तर त्यो सपना मात्र भयो अग्युरोका लागि।

मेस्सी टिममा अर्को वर्षको विश्व कपमा अब उनको अभाव पक्कै खड्किने छ। सन् २००६ यता राष्ट्रिय टिमबाट खेलेका १०१ खेलमा उनले ४१ गोल गरेका छन्। उनले अर्जेन्टिनाबाट पाँच पटक कोपा अमेरिका र तीन पटक विश्वकप खेलेका छन्।

उनको फुटबल करिअरको सर्वाधिक सफल पाटो म्यान्चेष्टर सिटीसँग सम्बन्धित छ। सन् २००२ मा पहिलो डिभिजनमा पुनः फर्किएपछि सिटीलाई इंग्लिस प्रिमियर लिगको मुलधारको क्लब बनाउनमा उनको प्रमुख योगदान छ।

सिटीको उनी उच्च गोलकर्ता हुन्। १० वर्ष सिटीमा रहँदा खेलेका २७५ खेलमा उनले १८४ गोल गरेका छन्। यो समयमा उनले सिटीलाई पाँच प्रिमियर लिग उपाधि दिलाएका थिए।

सन् २०११-१२ को सिजनमा, ४४ वर्षपछि सिटीले प्रिमियर लिग उपाधि जित्दाको अन्तिम खेलको निकै चर्चित तथा निर्णयक गोल उनले नै गरेका थिए। धेरैलाई थाहा नहोला उनी अर्जेन्टिनाका महान् फुटबल हस्ती म्याराडोनाका ज्वाइँ पनि हुन्। उनले डियगो म्याराडोनाको कान्छी छोरी जियानिना म्याराडोनासँग विवाह गरेका थिए। तर उनीहरूको विवाह चार वर्ष मात्र टिक्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved