धनुषामा मतदाता नामावली सङ्कलनको अवधि बढाउन माग

समय सीमाभित्र सम्पूर्ण नयाँ मतदाताहरूको नामावली संकलन गर्न नसकिने देखिएपछि धनुषामा मतदाता नामावली सङ्कलन कार्यको समयावधि बढाउन माग बढ्न थालेको हो।

धनुषामा मतदाता नामावली सङ्कलनको अवधि बढाउन माग

जनकपुरधाम। मतदाता नामावली संकलन समयावधि बढाउनुपर्ने माग चौतर्फी रुपमा उठेको छ। निर्वाचन आयोगले मतदाता नामावली संकलनको लागि एउटा केन्द्रको लागि १५ दिन समय सीमा निर्धारण गरेको छ।

तर, उक्त समय सीमाभित्र सम्पूर्ण नयाँ मतदाताहरूको नामावली संकलन गर्न नसकिने देखिएपछि धनुषामा मतदाता नामावली सङ्कलन कार्यको समयावधि बढाउन माग बढ्न थालेको हो।

निर्वाचन आयोगले देशभरका ७५३ स्थानीय तहमध्ये ६३७ स्थानीय तहको केन्द्रबाट मतदाता नामावली संकलन कार्य शुुरु गरेको छ। सोही अनुरूप धनुषाको पनि पालिका स्तरमा मङ्सिर १७ गतेदेखि मतदाता नामावली सङ्कलन भइरहेको छ।

मङ्सिर १७ देखि आगामी पुस २ गतेसम्म १५ दिनका लागि सञ्चालन भएको पहिलो चरणको कार्यक्रममा जिल्लाको मिथिला, कमला, क्षीरेश्वरनाथ, विदेही, मिथिला विहारी, सबैला, धनुषाधाम नगरपालिका तथा औरही गाउँपालिकामा गरी आठ वटा पालिका मतदाता नामावली स‌कलन गर्ने कार्यक्रम भइरहेको छ।

मतदाता नामावली संकलन सुरु भएको शुक्रवार १५ दिन बितिसक्दा पनि केन्द्रहरूमा भिडभाड कम भएको छैन। ३ देखि ४ घण्टासम्म लाइनमा बस्दा पनि पालो नआएको मतदाता परिचयपत्र बनाउने आउने सेवाग्राहीको गुनासो छ।

निर्वाचन आयोगले एक थान कम्प्युटर उपकरण, एक जना प्राविधिक र सम्बन्धित पालिकाबाट तीन जना सहयोगी लिएर मतदाता नामावली संकलन गरिरहेको छ। ‘‘तर, त्यो पर्याप्त नभएकोले थप उपकरण र प्राविधिक थप्नुुपर्यो कि त एक साताको समयावधि बढाउनु पर्‍यो’’ सेवाग्राहीहरूले बताए।

तराइका जिल्लामा जनसङ्ख्या बढी छ। जसले गर्दा नयाँ मतदाता नामावलीमा नाम उल्लेख गराउनेको सङ्ख्या बढ्नु स्वाभाविक भएको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका सीतेश झाले जानकारी दिए। छुटेकाहरूले जिल्ला निर्वाचन कार्यालयमा गएर नामावली टिपाउन सकिने व्यवस्था भए पनि ग्रामीण तथा सवारीसाधनको सुविधा नपुगेको स्थानका वासीलाई समस्या हुने झाले बताए।

मिथिला नगरपालिकाको मतदाता नामावली केन्द्रका प्राविधिक सञ्जीव घिमिरेले फोटोसहित औँलाहरूको विद्युतीय छाप लिनुपर्दा १० देखि १५ मिनट समय लाग्ने हुँदा एक दिनमा मुस्किलले ७० देखि ८० जनाको नामावली संकलन गर्न सकिरहेको जानकारी दिए।

प्रदेश २ निर्वाचन कार्यालयका प्रमुख पुष्पा झाले १५ दिनसम्म स्थानीय केन्द्रहरूबाट नामावली संकलन गरिने र त्यहाँ छुटेकाहरूले आयोगका जिल्ला कार्यालयमा आएर नामावली उल्लेख गराउन सकिने बताए। उनले समयावधि बढाउने सम्बन्धमा केन्द्रीय निर्वाचन आयोगको निर्णयमा भर पर्ने विषय भएको भए।

जिल्लाका १८ वटा पालिकामध्ये १६ वटा स्थानीय तहमा दुई चरणमा मतदाता नामावली संकलन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन भइरहेको आयोगका प्रमुख पुष्पा झाले जानकारी दिए।

मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरणमा आठ वटा पालिका र आगामी पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुने दोस्रो चरणमा बटेश्वर, जनकनन्दिनी, लक्ष्मीनिया, मुखियापट्टी मुसहरनीया र धनौजी गाउँपालिका तथा हंसपुर, गणेशमान चारनाथ र नगराइन नगरपालिकामा नामावली संकलन गरिनेछ।

जिल्लाका बाँकी दुई स्थानीय तह जनकपुरधाम उपमहानगरपालिका र सहिदनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालय मार्फत नियमित रूपमा मतदाता नामावली संकलन भइरहेको प्रदेश निर्वाचन आयोगको कार्यालयका प्रमुख पुष्पा झाले जनाए। १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकको नाम मतदाता नामावलीमा समावेश गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved