प्रकाशमानको परिजीवी चरित्रले जितको उच्च सम्भावनामा देउवा

आश्रयदातालाई चुसेर आफू जीवित रहने चरित्र हो, परिजीवीको । त्यही चरितार्थ गर्दै प्रकाशनमाले आफ्ना ‘अघोषित’ स्वार्थ सुरक्षित राखेका छन्, तर नेपाली कांग्रेसमा बारम्बार परिक्षित पात्रलाई दोहोर्‍‍याएर।

प्रकाशमानको परिजीवी चरित्रले जितको उच्च सम्भावनामा देउवा

काठमाडौं । सजिवहरुमध्ये एकथरी हुन्छन्, जो आफू बाँच्नका लागि अर्को सजिवको आश्रय लिन्छन् । त्यही आश्रयदाताको जीवन नष्ट गर्दै आफू जीवित रहन्छन् । ती हुन् परिजीवी ।

राजनीतिमा पनि त्यस्तै परिजीवी प्रवृत्ति बारम्बार देखिन्छन् । आफैलाई हुर्काउने, बढाउने, स्थापित गर्ने आश्रयदातालाई अन्त्यमा नोक्सानी पुर्‍याएर आफ्नो स्वार्थ सुरक्षा गर्छन्।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा तेस्रो धारको नाममा च्याखेँ दाउ थापेर कृष्णप्रसाद सिटौलाले त्यो प्रवृत्ति देखाएका थिए। कोइराला क्याम्पको आड, साथ र टेकोमा उदाएका सिटौलाले आफ्नो महत्वाकांक्षा पूरा नभएपछि १३ औं महाधिवेशनमा त्यही क्याम्पका सभापति उम्मेदवार रामचन्द्र पौडेललाई पराजित गराएका थिए।

१४ औं महाधिवेशनमा प्रकाशमान सिंह त्यही पथमा लागेका छन्।

उनको यही चरित्रका कारण आमवृत्तमा गरिएको ‘दोस्रो चरणको चुनावमा देउवाइतर एकठाउँमा हुने’ अनुमान विपरीत देउवाको विजय उच्च सम्भावित भएको छ।

समानता
कृष्ण सिटौला र प्रकाशनमान सिंहमा एउटा समानता छ। दुवै कोइराला क्याम्पको नेता बन्ने महत्वांकाक्षा राख्थे। तर, आफ्नै बलबुतामा नेतृत्व हत्याउनसक्ने ल्याकत नभएको भन्दै उनीहरुलाई नेता मान्‍न क्याम्पका अन्य सदस्यहरु तयार भएनन्।

क्रमशः १३ औं र १४ महाधिवेशनमा उनीहरुले सभापतिमा पाएको मतले नै कांग्रेसमा उनीहरुको पकड कति बलियो रहेछ भन्ने प्रस्ट गरिदिएको छ।

कुनै समय कोइरालाइतर क्याम्पमा रहेका यी दुवै नेता अप्ठेरो पर्दा छहारी खोज्दै कोइरालाको सान्निध्यमा आएका थिए। हुन त झापामा राजनीति गरिरहेका सिटौलालाई कांग्रेसको केन्द्रीय राजनीतिमा कृष्णप्रसाद भट्टराईले ल्याएका थिए।

तर, ‘किशुनजी’को छत्र–छहारीमा हुर्कने र फक्रने परिस्थिती नदेखेपछि उनी गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र बन्न पुगे। दरबारसँग सम्बन्ध बिग्रिएपछि ‘साटो फेर्ने’ दाउमा रहेका कोइराला बलियो साथ चाहन्थे।

दरबार र माओवादीबीच खेलिरहेको भारत त्यही साथ बन्नपुग्यो । जसको सम्पर्क माध्यम थिए, सिटौला। १२ बुँदे समझदारीदेखि माओवादीलाई शान्ति सम्झौतामा ल्याउन खेलेको भूमिकाका कारण उनलाई गिरिजाले ०६३ सालमा अन्तरिम सरकारमा गृहमन्त्री बनाए।

पुनःस्थापित प्रतिनिधि सभाबाट धर्मनिरपेक्षता पारित गराउनुको श्रेय (आलोचकको नजरमा दोष) उनै सिटौलालाई जान्छ।

१२ औं महाधिवेशनपछि उनलाई सुशिल कोइरालाले महामन्त्री नियुक्त गरेका थिए । उनैले सिटौलालाई संविधानसभामा मस्यौंदा समितिको सभापति बनाए।

सुशिलको निधनपछि १३ औं महाधिवेशनमा तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल र सिटौला दुवै कोइराला क्याम्पको आधिकारीक उम्मेदवार बन्ने दौडधुप थाले।

नेता बन्न नपाएको झोंकमा सिटौलाले तेस्रो धार जन्माएर पौडेललाई हराउने अभियान थाले। गगन थापा, प्रदीप पौडेलजस्ता चौथो पुस्ताका नेताले उनलाई साथ पनि दिए ।

तेस्रो धारको नेताका रुपमाले सिटौलाले सभापतिमा उम्मेदवारी दिए। तीन सय २४ मत पाए। पौडेलले भने एक हजार एक सय ५४ मत पाए। कोइराला क्याम्पबाट उदाएका पौडेल र सिटौला मिलेको भए त्यतिबेलै पौडेलका प्रतिस्पर्धी शेरबहादुर देउवा पराजित हुनसक्थे।

तर, पौडेललाई हराउने ईख पालेर बसेका सिटौला दोस्रो चरणको चुनावमा सहमत भएनन्। अन्ततः दोस्रो चरणमा सिटौलाको साथ पाएर देउवा विजयी भए।

पौडेललाई हराउने ‘तुरुप’ बनेका सिटौला आफैं नेतृत्वमा स्थापित हुन भने सकेनन्। बरु, एक्लिदैं गए। पार्टीमा सिटौलाको भविष्य नदेखेरै गगन थापा रामचन्द्र पौडेल–शेखर कोइराला समूहमा मिसिए। उनी अहिले यही समूहबाट महामन्त्रीको उम्मेदवार छन्।

यस महाधिवेशनसम्म आइपुग्दा देउवा खेमामै मिसिएका सिटौलाले आफैँ नेतृत्वमा दाबी गर्ने ल्याकत पनि राखेनन्। प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउन र देउवालाई सहयोग गर्नमै उनी सिमित भए। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य सिटौलाको तेस्रो धारको उपादेयता देउवासँग बार्गेनिङ गरेर राम्रो भाग लिनेमै सिमित रहेको बताउँछन्। “उनी कांग्रेसको नेतृत्व गर्नसक्ने नेता होइनन्,” विश्लेषक आचार्य भन्छन्।

ठ्याक्कै सिटौलाकै प्रवृत्तिको पुनरावृत्ति पाइन्छ सिंहमा पनि। उस्तै विकासक्रम, उस्तै चरित्र।

गणेशमान सिंहका पुत्र प्रकाशमान पनि लामो समय कोइरालाइतर क्याम्पमा थिए। शेरबहादुर देउवाले २०५९ सालमा कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेपछि उनी त्यही पार्टीमा सक्रिय रहे।

०६२ सालमा कांग्रेस प्रजातान्त्रिकको उपसभापति बनेका उनी कांग्रेस एकिकरण भएपछि पनि ०६७ सालसम्म त्यही पदमा बसे। ०६६ सालमा कांग्रेस संसदीय दलका लागि भएको निर्वाचनमा उनले देउवा क्याम्प फेरेर रामचन्द्र पौडेललाई समर्थन गरेका थिए, उनी त्यतिबेला संसदीय दलको उपनेता चयन भए।

त्यसयता, उनी निरन्तर रुपमा कोइराला–पौडेल क्याम्पमा थिए। यसपटक उनले देउवा इतर समूहबाट आफु सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए।

जबकी, १३ औं महाधिवेशनबाट निर्वाचित महामन्त्री शशांक कोइरालासहित देउवा इतर समूहका अधिकांश सदस्यहरु रामचन्द्र पौडेललाई आफ्नो समूहको सर्वसम्मत उम्मेदवार बनाउन चाहन्थें। तर, देउवा इतर समूहमा पनि नेतृत्व परिवर्तन हुुनपर्छ भन्ने मान्यता सिंहको थियो।

“गणेशमानको परिवारले मात्रै सधैं त्याग गर्नुपर्ने?”, प्रकाशमानले विपक्षी क्याम्पको बैठकमा भनेका थिए, “रामचन्द्र दाईलाई अभिभावक मान्छु। राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदमा भागबण्डा गरौंला, सभापति मलाई दिनुस्। अन्यथा एक्लाएक्लै लडौं, पहिलो चरणमा जसको धेरै मत आउँछ, उसैलाई दोस्रो चरणमा सघाउँला।”

सिंह र डा. शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि नेतृत्वको दौडबाट आफु बाहिरिनुपरेको घोषणा पौडेलले गरेका थिए।

“शशांकले रामचन्द्र दाईलाई साझा उम्मेदवार बनाएर जाऔं भनेकै हुन्। तर धेरै सम्झाउन खोज्दा पनि शेखर र प्रकाशनमान मानेनन्। त्यहीकारण मैले सभापतिको दौडबाट अलग हुने निर्णय लिएको छु,” वरिष्ठ नेता पौडेलले प्रतिस्पर्धाबाट अलग हुनअघि रुदैं भनेका थिए।

पहिलो चरणको निर्वाचनमा देउवा–सिटौला समूहबाट देउवा सभापतिका उम्मेदवार बने।

पौडेल–कोइराला समूहबाट शेखर उम्मेदवार बने। यस समूहबाट विद्रोह गरेका प्रकाशनमान र देउवा समूहबाट विद्रोह गरेका विमलेन्द्र निधिसँगै युवा नेता कल्याण गुरुङ पनि पहिलो चरणमा उम्मेदवार थिए।

पहिलो चरणमा देउवाले सबैभन्दा धेरै दुई हजार दुई सय ७९ मत ल्याए, तर उनी ५१ प्रतिशत मत कटाउनबाट ८२ मतले चुके। उनीपछि दोस्रोमा आएका डा.शेखर कोइरालाले एक हजार सात सय २९ मत ल्याएका थिए। त्यस्तै, सिंहले तीन सय ७१, निधिले दुई सय ४९ र गुरुङले २० मत ल्याए।

कांग्रेसमा नयाँ नेतृत्वको पैरवी गर्दै आउनेहरुका लागि यो खबर सुखद थियो। विपक्षीहरु एकजुट भएमा नेतृत्त्व परिवर्तन हुने सम्भावना कायमै रहेका बेला प्रकाशमान सिंहको कदमले सबै बिथोलिदिएको छ।

उनले चाक्सीबारीस्थित आफ्नै घरमा देउवासँग उभिएर आफु पुरानै नेतृत्वको पक्षमा रहेको घोषणा गरेका छन्।

सिंहको समर्थनसँगै देउवाको पक्षमा दोस्रो चरणमा लहर देखिएको छ। उनीपछि निधिले पनि देउवालाई आफ्नो समर्थन रहने बताएका छन्। सिंह ती व्यक्ति हुन्, जसले पार्टीमा चर्को स्वरमा नेतृत्त्व परिवर्तनको कुरा उठाउँदै आएका थिए।

तर, आफुले नेतृत्त्व नपाउने भएपछि अहिले उनी आफैँले फेरिनुपर्छ भनेको नेतृत्वको पुनरावृत्तिकै पक्षमा उभिएका छन् । विपरीत ध्रुवमा अवस्थामा रहेका देउवा र प्रकाशमानबीच चाक्सीबारीमा के विषयमा सहमति जुट्यो ?

राजनीतिक लेनदेन परिणामले पुष्टि गर्छ, तर निश्चित समय आएपछि। यसै पनि कांग्रेसको नीति सम्मेलन त हुनै बाँकी छ । पार्टीको संरचनागत स्वरुपमा परिमार्जन समेत गर्नसक्ने त्यो सम्मेलनले सिंहलाई पदाधिकारीमा सुरक्षित गर्‍यो भने अन्यथा हुनेछैन।

भिन्नता
दुई नेताको बाटो उस्तै देखिए पनि उनीहरुबीच धेरै भिन्नताहरु छन् । उमेरले केही जेठा सिटौला सिंहभन्दा पहिले कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए।

तर, राष्ट्रिय राजनीतिमा आफ्नो छवि बनाउन सिटौलाले जति संघर्ष प्रकाशमानले गर्नुपरेन। किनकी, उनीसँग एकातर्फ राजनीतिको केन्द्र काठमाडौंमा हुर्कनुको लाभ र अर्कोतर्फ गणेशमानका पुत्र हुनुको विरासत थियो।

०४८ सालमा झापामा कांग्रेसको केन्द्रीय महाधिवेशन हुँदा सिटौला झापा जिल्लाको सभापति थिए। कम्युनिष्टहरुको प्रभाव क्षेत्र मानिने झापामा कांग्रेसलाई बलियो बनाउने जस उनलाई पनि जान्छ।

बहुदल प्राप्तिपछि कांग्रेसले झापामा आयोजना गरेको केन्द्रीय महाधिवेशनलाई सफल पार्न सिटौलाले खेलेको भूमिकाबाट प्रभावित भएका तत्कालीन केन्द्रीय सभापति कृष्णप्रसाद भट्टराईले उनलाई सांसद्को टिकट दिएका थिए। तर, उनी निर्वाचनमा एमालेका द्रोणप्रसाद आचार्यसँग पराजित भए।

०५० सालमा आचार्यको निधनपछि भएको उप- निर्वाचनमा भट्टराईले फेरि सिटौलालाई उम्मेदवार बनाए। तर, चुनाव जितेर संसद् छिरेपछि सिटौला पार्टीका अर्का नेता गिरिजाप्रसाद कोइरालासँग नजिकिए।

यतिबेला प्रकाशमान सिंह काठमाडौंका जिल्ला सभापति थिए। त्यसयता, समय धेरै गुज्रिसकेको छ।

दुवै नेताले देशको उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाइसकेका छन्। १२ औं महाधिवेशनले सिंहलाई महामन्त्रीमा निर्वाचित गर्दा तत्कालीन सभापति सुशिल कोइरालाले यही महाधिवेशनपछि सिटौलालाई महामन्त्री नियुक्त गरेका थिए।

सिटौलाले ६६ वर्षको उमेरमा २०७२ सालमा सभापतिमा उम्मेदवारी दिए र तीन सय २४ मत ल्याए। ६६ वर्षका प्रकाशमानले सभापतिमा यसपटक तीन सय ७१ मत पाए।

७२ वर्षको उमेरमा आइपुग्दा नेतृत्वमा दाबी गर्नसक्ने जाँगर सिटौलामा देखिएन, उनको प्रभाव नेतृत्वसँग भाग खोस्नमै सिमित रह्यो । अर्को महाधिवेशनसम्म सिंहको अवस्था के होला ?

जवाफमा राजनीतिक विश्लेषक पुरुषोत्तम बस्नेत भन्छन्, “सिटौला जसरी नै प्रकाशमानको प्रभाव घट्नेछ भन्‍न हतारो हुनेछ। प्रकाशमानसँग पारिवारिक विरासत छ। काठमाडौंमा उनको पकड बलियो छ। नेपालको राजनीति काठमाडौंबाट टाढा जानसक्दैन।”

कोइराला हुनुकै विडम्बना
परिजीवी प्रवृत्तिबाट अहिले पीडित पात्र हुन्, डा. शेखर कोइराला। तर उनको पीडाको अर्को कारण पनि छ, थरमा कोइराला हुनुको।

त्यसो त कोइराला वंशकै भएकाले यहाँसम्म आइपुगेका हुन् उनी । डा. कोइरालाका हजुरबुवा कृष्णप्रसाद कोइराला बीपी–गिरिजाकै पिता हुन्।

कोशुबाबु नामले परिचित केशवप्रसाद कोइरालाका पुत्र हुन् डा. कोइराला। चिकित्सा पेशामा संलग्न उनलाई गिरिजाले एकैपटक केन्द्रीय राजनीतिमा ल्याएका थिए, सम्भवतः आफ्नो उत्तराधिकारी हुने आशाले।

तर त्यही कोइराला वंशको विरासत अहिले आएर उनको निम्ति विडम्बना बन्नपुगेको छ।
विपक्षीका नजरमा उनी कोइराला वंशको उत्तराधिकारी हुन्।

सभापति पदका लागि पहिलो चरणको निर्वाचन नतिजा आउँदा-नआउँदै देउवानिकट बालकृष्ण खाँड सिंह निवास चाक्सिबारी पुगेर गरेको आग्रह नै कोइराला विरासतबाट पार्टीलाई मुक्त बनाउन एक हुने थियो।

तर कोइराला वंशको उत्तराधिकारी हुन पाएनन् डा. कोइरालाले, गिरिजापुत्री सुजाता कोइरालाको कारण। देउवा नेतृत्वको सरकारमा मन्त्री हुने आकांक्षा राखेकी उनले त्यसमा आफ्नै कोइरालाबन्धुको साथ नपाएको रोष पोखिन्, प्रकाशमान सिंहलाई सहयोग गरेर।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved