३० वर्षसम्म एमालेले किन भन्न सक्दैन दासढुंगा ‘दुर्घटना’ थियो कि ‘हत्या’ ?

एमालेले ३० वर्षसम्म पनि मदन-आश्रितको दुर्घटना हो कि ‘हत्या’ हो अझै चाल पाएको छैन। यो घटनाको छानबिन गर्न एमालेलाई के कुराले रोकिरहेको छ ? एमाले नेता कार्यकर्ताले नेतृत्व तहमा यसको जवाफ माग्ने आट गर्न सकेका पनि छैनन् ।

नेपालभ्युज

३० वर्षसम्म एमालेले किन भन्न सक्दैन दासढुंगा ‘दुर्घटना’ थियो कि ‘हत्या’ ?

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटना हुँदा ज्यान गुमाएका तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु ‘हत्या’ कि ‘दुर्घटना’ भन्ने रहस्य अझै खुलेको छैन।

काठमाडौंबाट पोखरा हुँदै चितवन जाने क्रममा मदन-आश्रित चढेको जीप चितवनको ‘दासढुंगा’ मा दुर्घटना भई त्रिशूली नदीमा खसेको थियो। जिप र आश्रितको शव दुर्घटनास्थलनजिकै भेटिए पनि भण्डारीको शव भने ४ दिनपछि नारायणी नदी किनारको बोटेघाटमा भेटिएको थियोे । तर, चालक अमर लामा भने सकुशल थिए। २०६०मा चालक लामाको कीर्तिपुरमा गोली हानी हत्या भयो ।

बितेको यो ३० वर्षमा नेकपा एमालेले मदन भण्डारी पत्नी विद्या भण्डारीलाई सात वर्षसम्म देशको राष्टप्रमुख (राष्ट्रपति) बनायो । यही बीचमा नेकपा एमालेले पाँचपटक प्रधानमन्त्री बनेर सरकारको नेतृत्व लियो। दासढुंगा घटनाको सत्यतथ्य बुझ्न आवश्यक ठानेको भए एमालेले यही अवधिमा  गृह र रक्षा मन्त्रालयसमेत जिम्मा लिएको थियो, तर ठानेन।

मिलिजुली सरकारमा बसेर सत्ताको लाभ लिनबाट त एमाले प्रायः छुटेको देखिँदैन । ०५० मा मदन–आश्रितको जिप दुर्घटनापछि २०५१ मा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी पहिलोपटक कम्युनिस्ट प्रधानमन्त्रीको रूपमा सत्ताको नेतृत्वमा पुगे। अधिकारी नौ महिना प्रधानमन्त्री हुँदा एमालेका हालका अध्यक्ष केपी शर्मा ओली गृहमन्त्री थिए । एमालेले चाहेको भए त्यही बेला दासढुंगा घटनाको सत्यतथ्य बाहिर ल्याउन सक्थ्यो।

त्यसपछि, २०५४ मा पनि एमाले सत्तामै थियो । जतिबेला एमाले नेता वामदेव गौतम गृहमन्त्री थिए । वामदेवपछि पटक-पटक गरी भीम रावल, विष्णु पौडेल, खगराज अधिकारी र रामबहादुर थापा ‘बादल’ एमालेबाट गृहमन्त्री बने।

त्यसैगरी, निवर्तमान राष्ट्रपति विद्या भण्डारीसहित ईश्वर पोखरेल, भीम रावल र हरि उप्रेती एमालेबाट रक्षामन्त्री बने। गृहमन्त्रीले प्रहरी र रक्षामन्त्रीले सेनाको नेतृत्व गर्ने हुँदा दासढुंगा घटनाको सत्यतथ्य छानबिनमा अवरोध कहीँबाट हुने देखिँदैन्थ्यो। मदन-आश्रितको दासढुङ्गा घटनापछि एमालेबाट मनमोहन अधिकारी २७३ दिन प्रधानमन्त्री भए भने केपी शर्मा ओली दुईपटक गरी १ हजार ५४० दिन, माधव नेपालको ६२२ दिन र झलनाथ खनाल २०४ दिन देशको प्रधानमन्त्री भए । तर, उनीहरूले एक दिन पनि आफ्ना पूर्व सहकर्मीको ‘हत्या’ कि ‘दुर्घटना’ भन्ने कुराको फाइल खोल्नै चाहेनन्।

जनताको बहुदलीय जनवाद (जबज) का मुख्य व्याख्याता भण्डारीको मृत्युलाई एमालेले किन स्वाभाविक मृत्युजस्तै ठानिरहेको छ ? एमालेले जनताको बहुदलीय जनवाद(जबज) लाई नेपालको विशिष्ट परिस्थितिअनुरूप प्रतिकुल अवस्थामा समेत नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने मुख्य अवधारणा बनाएको भए पनि मदन भण्डारीको मृत्युमा दुई थुँगा फूल चढाउनुबाहेक अरु सम्मान गरेको देखिँदैन । यो ३० वर्षमा नेकपा एमालेले जे जति कार्यक्रम आयोजना गर्‍यो र जो जसले वक्ताको रूपमा बोले उनीहरूको एउटै स्वर छ-‘दासढुंगा घटना रहस्यमयी छ।’

मदन-आश्रितको जिप दुर्घटनापछि आन्दोलनमा उत्रिएको एमालेले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारलाई चुनौती दिँदै भनेको थियो-‘एमाले सत्तामा पुगेको २४ घन्टामा दासढुंगा घटनाको सत्य बाहिर आउँछ।’

त्यसलगत्तै २०५१ मा एमाले सत्ताको नेतृत्वमा पुग्यो र केपी ओली गृहमन्त्री भए। तर, दुर्भाग्य २४ घन्टा मागेको एमालेले ३० वर्षसम्म पनि मदन-आश्रितको दुर्घटना हो कि ‘हत्या’ हो अझै चाल पाएको छैन। यो घटनाको छानबिन गर्न एमालेलाई के कुराले रोकिरहेको छ ? एमाले नेता कार्यकर्ताले नेतृत्व तहमा यसको जवाफ माग्ने आट गर्न सकेका पनि छैनन् ।

एमालेले यो घटनालाई ‘हत्या’ हो भन्न नसक्नुले चाहिँ घटना रहस्यमयी बन्दै गएको छ। हत्या हो भन्नका लागि त्यसमा कसको संलग्नता ? किन र कसरी हत्या ? अनि योजनाकार र मतियार को-को हुन् ? स्वदेशी हुन भने किन पक्राउ परेनन् ? विदेशी हुन भने तिनलाई ल्याउने, राख्ने, हत्या गराउने र बोर्डर कटाउने प्रबन्ध कसले मिलायो ? यी र यस्तै प्रश्नहरु आफूतिर सोझिन सक्छ भन्ने त्रासले एमाले आफैं यो घटनाको ‘च्याप्टर क्लोज्ड’ त गर्दै छैन ? एमाले नेताहरूले मदन-आश्रितको दुर्घटनाको रहस्यमयी विषय भविष्यकै लागि छाडिदिएको भनेर उम्कन राजनीतिक नैतिकताले दिन्छ होला र !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved