भारतमा हरेक दिन १५ जनाले गर्छन् ऋणका कारण आत्महत्या

२५ नोभेम्बर राति जोशी परिवारका पाँचै सदस्यले विष पिए। २६ नोभेम्बरमा सञ्जीवकी कान्छी छोरी पुर्वी र आमा नन्दिनीको निधन भयो। २७ नोभेम्बरमा सञ्जीव र उनकी जेठी छोरी ग्रिष्माले प्राण त्यागे। त्यसको अर्को दिन सञ्जीवकी श्रीमती अर्चनाले संसार त्यागिन्, यसरी हाँस्दै खेल्दै गरेको एक परिवारको पीडादायी एक चिहान भयो।

नेपालभ्युज

एजेन्सी। मध्यप्रदेशको राजधानी भोपालमा ब्याजखोरीले एकै परिवारलाई बर्बाद गरिदिएको छ। ऋणको ब्याज तिर्दातिर्दा हैरान जोशी परिवारले मिलेर विष खाए र एक एक गरी सबैको मृत्यु भयो।

२५ नोभेम्बर राति परिवारका पाँचै सदस्यले विष पिए। २६ नोभेम्बरमा सञ्जीवकी कान्छी छोरी पुर्वी र आमा नन्दिनीको निधन भयो। २७ नोभेम्बरमा सञ्जीव र उनकी जेठी छोरी ग्रिष्माले प्राण त्यागे। त्यसको अर्को दिन सञ्जीवकी श्रीमती अर्चनाले संसार त्यागिन्, यसरी हाँस्दै खेल्दै गरेको एक परिवारको पीडादायी एक चिहान भयो।

भारतमा ऋण वा आर्थिक संकटका कारण आत्महत्या गर्नु यति सामान्य भइसक्यो कि, यसलाई ठूलो विषयका रूपमा लिन समेत छाडिसकेको छ। उदाहरणका लागि, यो वर्ष विहारको सुपौलमा एकै परिवारका ५ जनाले झुण्डिएर आत्महत्या गरेको घटनालाई नै लिन सकिन्छ। आर्थिक अभावका कारण घरपरिवार समस्यामा परेपछि उनीहरूले आत्महत्या गरेको स्थानीयले बताएका छन्।

यस्तै, असारमा उत्तर प्रदेशको शाहजहाँपुरमा एकै परिवारका ४ जनाले आत्महत्या गरेका थिए। श्रीमान् श्रीमतीले पहिले आफ्ना दुई छोराछोरीलाई झुण्ड्याए र त्यसपछि आफै पनि झुण्डिए। उनीहरूले छाडेको सुसाइड नोटमा आर्थिक अभावलाई आत्महत्यको कारणका रूपमा उल्लेख गरेका थिए।

यी त केही प्रतिनिधि घटना हुन्। इन्टरनेटमा खोज्ने हो भने तपाईंले यस्ता थुप्रै आत्महत्या भेट्नुहुन्छ, जो आर्थिक अभावका कारण भएका हुन्। गरीबीले परिवार नै ध्वस्त पारेका थुप्रै उदाहरण छन्।

राष्ट्रिय अपराध अभिलेख ब्यूरोको आत्महत्या प्रतिवेदनअनुसार गत वर्ष सामूहिक आत्महत्याका घटनामा अचानक वृद्धि हुनुको एउटा कारण आर्थिक अभाव र गरीबी हुनसक्ने उल्लेख गरेको छ। उक्त वर्ष १२१ सामूहिक आत्महत्याका घटनामा २७२ ज्यान गुमाएका थिए, जुन सन् २०१९ को तुलनमा ५१ प्रतिशतले बढी हो।

एनसीआरबीको तथ्यांकअनुसार सन् २०२० मा ऋणका कारण ५ हजार २१३ जनाले आत्महत्या गरेका थिए। यसअनुसार आत्महत्याका कारण दैनिक १५ जनाले आत्महत्या गर्ने गरेका छन्। सन् २०२० मा २०१९ को तुलनामा केही सुधार भए पनि यो संख्या पुन: बढेको हो।

ग्रामिण क्षेत्रमा बढ्दै ऋणी

संसदको हिउँदे अधिवेशनमा ऋणमा पीडित परिवारको संख्याको तथ्याङ्क मागिएको थियो। राष्ट्रिय नमूना सर्वेक्षण कार्यालय र २०१८ को सर्वेक्षण तथ्यांकका आधारमा अर्थ राज्यमन्त्री पंकज चौधरीले दिएको जवाफमा सन् २०१२ मा शहरी क्षेत्रमा २२.४ प्रतिशत घरपरिवार ऋणमा थिए। जुन सन् २०१८ मा पनि सोही बराबर थियो।

तर ग्रामिण क्षेत्रमा उक्त आँकडा ३१ प्रतिशतबाट बढेर ३५ प्रतिशत पुगेको थियो। तर केही राज्यलाई छाड्ने हो भने अधिकांश शहरी क्षेत्रमा पनि ऋणीको संख्या बढ्दो छ।

कसरी फसिरहेछन् जनता ऋणको जालमा ?

सेन्टर फर इकोनोमिक पोलिसी एन्ड पब्लिक फाइनान्स, पटनाका सहप्राध्यापक डा. सुधांशु कुमार वित्तीय साक्षरताको अभाव र नीतिगत तहमा ढिलो सम्म बस्ने बानीका कारण जनता ऋणको जालमा फसेको बताउँछन्।

एकातिर आम्दानी घट्दै गएको र सस्तो कर्जा सहजै उपलब्ध भइरहेका बेला जनताले आगामी दिनमा आम्दानी बढाउने आशामा ऋण लिन्छन्। पछि यो ऋणले मानसिक तनाव दिन थाल्छ र मान्छे टुटेर मृत्युसम्मको बाटो रोज्छन्।

डा. सुधांशुले सबैभन्दा महत्वपूर्ण कुरा वित्तीय साक्षरता भएको बताए। आम्दानी र व्यय बीचको सन्तुलन कायम गर्ने उपाय जनताले खोज्नुपर्छ। जसको आम्दानी स्थिर छैन, उनीहरूले क्रेडिट कार्ड, बीएनपीएल, ईएमआईमा किनमेल आदिबाट टाढा रहनुपर्छ। स्थिर आम्दानी भएकाहरूले यो पनि ध्यानमा राखेर मानसिक तनाबबाट बच्नुपर्ने सुझाव उनले दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved