कांग्रेस महाधिवेशन

मतदानको तयारी पूरा, शीर्ष नेताबीच आरोप प्रत्यारोप कायमै

देउवा र कोइरालाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यी दुई नेताले एक आपसविरुद्ध आरोप प्रत्यारोप जारी राखेका छन्।

मतदानको तयारी पूरा, शीर्ष नेताबीच आरोप प्रत्यारोप कायमै

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।

सभापतिसहितको पदाधिकारी र केन्द्रीय सदस्यका लागि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए।

सोमबार बिहान ८ बजेदेखि मतदान शुरु हुनेछ। कांग्रेस केन्द्रीय समितिका लागि सभापतिसहित १ सय ३४ पदका लागि झन्डै पाँच सय जनाले उम्मेदवारी दिएका छन्।

आइतबार दिउँसो निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।

निर्वाचनलाई मध्यनजर गरेर आइतबार दिउँसोदेखि नै महाधिवेशनस्थल र वरपर भृकुटीमण्डप, राष्ट्रियसभा गृह र नेपाल प्रहरी क्लबमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्रमा रहेको फोटो हेरेर मात्रै भित्र छिर्न दिइएको छ। महाधिवेशन प्रतिनिधिबाहेक कसैलाई छिर्न दिइएको छैन। प्रतिनिधि नभएका नेता कार्यकर्तालाई आइतबार दिउँसैदेखि महाधिवेशनस्थल भृकुटीमण्डपसहित राष्ट्रियसभा गृहमा प्रवेशमा रोक लगाइएको छ।

निर्वाचन प्रयोजनका लागि अन्तिम उम्मेदवारी नामावली सार्वजनिक भएसँगै प्रत्याशी उम्मेदवारहरू मत माग्न व्यस्त छन्। सभापतिका उम्मेदवारसहितका केन्द्रीय सदस्यहरूका उम्मेदवारहरू पनि महाधिवेशनस्थल भृकुटीमण्डपसहित प्रतिनिधि बसिरहेको होटेल, लजसहितको ठाउँमा पुगेर मत माग्ने क्रम चलिरहेको छ।

आइतबार साँझ वर्तमान सभापति शेरबहादुर देउवा, सभापतिका उम्मेदवार शेखर कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहले प्रतिनिधिसँगै खाना खाएका थिए। महाधिवेशनस्थलमा प्रतिनिधिसँग खाना खाने क्रममा पदाधिकारी र केन्द्रीय सदस्यहरूका उम्मेदवारहरू समेत सहभागी थिए।

आरोप–प्रत्यारोप कायमै

सभापतिमा पाँच उम्मेदवार रहे पनि वर्तमान सभापति शेरबहादुर देउवा र सभापतिका अर्का दाबेदार शेखर कोइरालाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यी दुई नेताले एक आपसविरुद्ध आरोप प्रत्यारोप जारी राखेका छन्।

देउवाले आइतबार साँझ कमलादीस्थित एउटा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरे। कार्यक्रममा पार्टीमा विगतमा सभापति र प्रधानमन्त्री फरक–फरक व्यक्ति हुँदा समस्या देखिएको भन्दै आफू दोहोरिनुपर्ने कारण पेस गरे। त्यसअघि उनले आइतबारै बिहानै आफू निकट प्रतिनिधिहरूलाई सम्बोधन गर्दै सभापतिमा हारेमा वर्तमान सरकार नै ढाल्ने र अहिलेको सत्तागठबन्धन पनि धरापमा पर्ने दाबी गरे।

देउवाले यस्तो आरोप लगाएपछि अर्का प्रत्याशी कोइरालाले आइतबार साँझ छुट्टै पत्रकार सम्मेलन गरे । आफूहरू जितेपछि अहिले गठबन्धन थप बलियो बन्ने कोइरालाले गरे। देउवाले भने जस्तो सरकार नै परिवर्तन गर्ने पक्षमा आफू नरहेको उनले बताए।

कोइरालाले देउवामाथि महाधिवेशनमा सत्ताको दुरुपयोग गरेको आरोप समेत लगाए। उनले आफ्नो निवासमै देउवाले अनुसन्धानको मानिसहरू खटाएर सुराकी गर्न लगाएको दाबी गरे। तर, उनको त्यसको विस्तृत विवरण आफू पछि दिने भन्दै थप बोल्न मानेनन्। यसरी एक अर्काको बारेमा दुवै नेताहरू कटाक्ष गरेको विषय सामाजिक सञ्जालमा चर्चामा छ।

दोस्रो चरणमा देउवाविरुद्ध मोर्चाबन्दी : निधि

महाधिवेशन प्रतिनिधिलाई भेट्न भृकुटीमण्डप पुगेका सभापतिका अर्का प्रत्याशी बिमलेन्द्र निधिले सोमबार हुने मतदानमा दोस्रो चरणमा मात्रै सभापति निर्वाचन हुने दाबी गरे। निधिले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा देउवाविरुद्धको मोर्चाबन्दीमा आफू, कोइराला र अर्का प्रत्याशी प्रकाशमान सिंह सहभागी हुने दाबी गरे।

निधिले आफूहरू देउवाको विकल्पमा सभापतिको उम्मेदवार बनेको भन्दै दोस्रो चरणपछि बढी मत ल्याउनेलाई समर्थन गर्ने बताए। आफूसहित देउवाइतर पक्षमा रहेका कोइराला र सिंहबीच दोस्रो चरणमा गठबन्धन हुने उनले बताए। निधिले नेपाली काग्रेसको इतिहासमा तराई मधेसको योगदान महत्त्वपूर्ण रहेको भन्दै आफू आममधेशी प्रतिनिधिको रुपमा कांग्रेस सभापतिमा उम्मेदवारी दिएको पनि दाबी गरे।

देउवालाई सभापतिमा दोहोर्याएर निर्वाचनमा जानुपर्छ: सिटौला

उम्मेदवारी दर्ता अगावै देउवासँग समीकरण बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले वर्तमान सभापति देउवालाई नै पुन: निर्वाचित गराउनुपर्ने बताए। उनले देउवाकै नेतृत्वमा तीन तहको निर्वाचनमा जानुपर्ने धारणा राखे।

सभापति देउवासँगै आइतबार साँझ पत्रकारहरूमाझ उपस्थित भएका सिटौलाले पाँच वर्षमा देउवाले पार्टीमा सहमतिको संस्कार विकास गरेको पनि दाबी गरे। उनले सभापति देउवा र महामन्त्रीमा युवा पुस्ताका प्रदीप पौडेल जस्तो समीकरण बनेका कारण पार्टीमा नयाँ उत्साह आएको दाबी गरे।

पुस्तानान्तरणका लागि यो महाधिवेशन महत्त्वपूर्ण :गुरुङ

सभापतिमा उम्मेदवारी दिएका अर्का नेता कल्याण गुरुङले भने पार्टी रुपानान्तरणका लागि पुस्तान्तरण आवश्यक रहेको दाबी गरे। नेपालभ्यूजसँग भृकुटीमण्डपमा कुरा गर्दै गुरुङले पार्टीमा पुस्तान्तरण नभए रूपान्तरण सम्भव अब नरहेको दाबी गरे। ‘‘पार्टी सबैले सुधार गर्छु भनिरहेका छन्,’’ उनले भने ‘‘तर, मेरो निष्कर्षमा नेतृत्वमा अर्को पुस्ता नआएसम्म पूराना पुस्ताले यो गर्न सक्दैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved