रसियाका राष्ट्रपतिको भारत भ्रमण, मुख्य चासो क्वाडमा

क्वाडलाई अन्तर्राष्टिय हिसाबमा अमेरिकी साझेदार मुलुकबीचको गठबन्धनका रूपमा व्याख्या गरिन्छ। जसमा अमेरिका र भारतका अलावा जापान र अष्टेलिया पनि सहभागी छन्।

नेपालभ्युज

रसियाका राष्ट्रपतिको भारत भ्रमण,  मुख्य चासो क्वाडमा
तस्वीर : बीबीसी

एजेन्सी । रसियाका राष्ट्रपति भ्यादिमिर पुटिन आज भारत भ्रमणमा आउँदैछन्। पुटिनको भारत भ्रमणका क्रममा दुई देशबीच ‘२+२’ बैठकको आयोजना भारतको राजधानी दिल्लीमा हुँदैछ। बैठकले दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास दुवै पक्षले लिएका छन्।

हालै मात्रै गठन गरिएको दुई देशबीचको २+२ संयन्त्रमा भारत र रसियाका रक्षा र विदेशमन्त्रीबीच बैठकको आयोजना गरिदैछ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रसियाका राष्ट्रपति पुटिनबीच रक्षा, व्यापार, लगानी, ऊर्जा र प्रविधि लगायतका विषयमा छलफल हुने जनाइएको छ।

रसियन राष्ट्रपति पुटिन आज भारत भ्रमणमा आउँदै गर्दा रक्षा र विदेशमन्त्री आइतबार नै भारत आइपुगेका छन्।

रसियाका राष्ट्रपति पुटिनको भारत भ्रमणले दुई देशबीचको पुरानो सम्बन्धको याद दिलाउने आकलन गरिएको छ। मस्को-दिल्लीबीचको सम्बन्ध शीत युद्धकालिन समय प्रगाढ थियो, त्यो समयदेखिको सम्बन्ध आजसम्म पनि प्रगाढ रहेको विश्वास गरिन्छ।

सबै मौसमका साथीलाई विश्व कूटनीतिमा एक सफल सम्बन्धका रूपमा व्याख्या गरिन्छ। भारत-रसियाबीचको सम्बन्ध सोही स्तरको रहेको बताइन्छ। मोदी-पुटिनबीचको भेटले सम्बन्धमा अझैं सुधार हुने भारतीय पक्षको दाबी छ।

पुटिनको भारत भ्रमणका क्रममा व्यापार, प्रविधि, ऊर्जा लगायतका विषय सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दैगर्दा दुवै देशले केही महत्वपूर्ण विषयलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता हुन्छ।

पछिल्लो समय दुई देशले भूराजनीतिक हिसाबमा आफूलाई फरक फरक कित्तामा राखेको विषयलाई दुई देशका कार्यकारी प्रमुखबीचको भेटघाटमा महत्वपूर्ण हिसाबमा छलफल गर्नुपर्ने हुन्छ। दुई देशले यो चुनौतीलाई कसरी समाधान गर्छन्, त्यसले विश्व र क्षेत्रीय राजनीतिमा ठूलो अर्थ राख्नेछ।

भारत अमेरिका सम्बन्ध र चीन

भारत र अमेरिकाबीचको बढ्दो सम्बन्धले दिल्ली-मस्को सम्बन्धमा एक प्रकारको समस्या ल्याएको देखिन्छ। विशेषगरी यो समस्या पछिल्लो दशकबाट आएको हो। अघिल्लो वर्ष अमेरिकाको राष्ट्रपति निर्वाचनअघि भारतीय प्रधानमन्त्री मोदीले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रचारका लागि भारतमा ठूलो र्‍यालीको आयोजना गरे। यसले भारतको ठूलो समर्थन वाशिङटनलाई भएको पुष्टि गर्छ।

मस्कोले वाशिङटनसँग आफ्नो सम्बन्ध बिग्रिदै गर्दा पनि दिल्लीको उक्त कदमलाई नजरअन्दाज गरेको देखिन्छ। यद्यपि, रसियाका विदेशमन्त्री सर्जियो ल्यावरोवले भारतले क्वाडमा सहभागिता जनाउँदा भारतीय कदमको आलोचना गरेका थिए। क्वाडलाई अन्तर्राष्टिय हिसाबमा अमेरिकी साझेदार मुलुकबीचको गठबन्धनका रूपमा व्याख्या गरिन्छ। जसमा अमेरिका र भारतका अलावा जापान र अष्टेलिया पनि सहभागी छन्। क्वाडलाई गैरसैन्य गठबन्धन बताउँदै गर्दा र कुनै देशप्रति लक्षित नहरेको बताइए पनि रसियन विदेशमन्त्री यो दाबीप्रति सहमत छैनन्।

रसियन विदेशमन्त्रीले पश्चिमले, ‘भारतलाई चीन विरोधि गतिविधिमा बेस्त राख्दै आफ्नो इन्डो प्यासिफिक रणनीतिलाई बढावा दिन चाहन्छ’ भनेका थिए। मस्कोका लागि दिल्लीका पूर्व राजदूत अनिल त्रिगुनायात क्वाडलाई मस्कोले गम्भीरताका साथ लिएको बताउँदै दुई देशका नेताबीच हुने छलफलमा यो विषय प्रवेश गर्ने बताउँछन्।

बेइजिङसँग मस्कोको बढ्दो सम्बन्धका कारण क्वाडका विषयमा उसको चिन्ता बुझ्न सकिन्छ। पूर्व राजदूत त्रिगुनायातको विचारमा मस्कोलाई बेइजिङको नजिक हुन अत्यन्तै आवश्यक छ। आफ्नो आर्थिक र भूराजनीतिक स्वार्थको रक्षा गर्नका लागि पनि मस्कोलाई बेइजिङको निकट हुन आश्वयक रहेको उनी बताउँछन्। अमेरिका र उसका साझेदार देशले एसियामा आफ्नो प्रभाव विस्तारका लागि प्रयास गर्दैगर्दा रसियालाई चीन नजिक पुगेको उनको बुझाई छ।

अर्कोतर्फ चीन र अमेरिकाबीचको बिग्रिदो सम्बन्धका कारण पनि भारत र रसिया एकअर्काको नजिक पुगेका हुन्।

अमेरिकाको व्हिलसन सेन्टर थिङ ट्याङ उपकार्यकारी निर्देशक माइकल कुगेलम्यानका अनुसार परिवर्तित समयको नयाँ भूराजनीतिक यर्थाथका कारण भारत रसियाबीचको सम्बन्धलाई त्यसले असर पुग्ने बताउँछन्।

यसै सन्दर्भमा रसियन राष्ट्रपति पुटिनको भारत भ्रमणलाई महत्वका साथ हेर्नुपर्ने उनको सुझाव छ। ‘अहिलेको सन्दर्भमा रसियालाई भारतसँगको सम्बन्धलाई नयाँ र ताजकी पूर्ण बनाइ राख्न यो भ्रमणको उद्देश्य हुनसक्छ। भूराजनीतिक हिसाबमा पनि खेल परिवर्तन भईरहेको अवस्थामा पुटिनको भारत भ्रमणले महत्व राख्छ,’ उनी भन्छन्।

यद्यपि, विश्लेषकद्वय कुगेलम्यान र त्रिगुनायातको विचारमा भारत र रसियाको सम्बन्ध मज्बुत रहेका कारण एकअर्काको चासोलाई सम्बोधन गर्न सक्ने अवस्था दुवैतर्फ रहेको विश्वास व्यक्त गर्छन्।

दुवै देशलाई एकअर्कासँग सहकार्य गर्ने धेरै विषय छन्, त्यसमध्येका एक अफगानिस्तान रहेको उनीहरु बताउँछन्।

दिल्लीले अफगानिस्तान मामिलामा आफ्नो भूमिका खोज्दै आएका कारण दुई देशका नेताबीचको वार्तालापमा अफगानिस्तान विषयले प्रमुखता पाउने विश्वास गरिएको छ। भारतको क्षेत्रीय र सबैभन्दा ठूलो प्रतिद्वन्द्वि पाकिस्तानको अफगानिस्तानमा रणनीतिक रूपमा राम्रो उपस्थिति छ। पाकिस्तानले चीन, रसिया र इरानसँग अफगानिस्तान मामिलामा एक प्रकारको गठबन्धन नै बनाएका कारण पनि भारत त्यसलाई चिर्न चाहन्छ।

अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति हुँदा रहेको भारतको भूमिकालाई फिर्ता ल्याउन रसियाले महत्वपूर्ण भूमिका खेल्न सक्छ। दुवै देशले अफगानिस्तानको भविष्यका विषयमा चिन्ता व्यक्त गर्दै आएको कारण पनि सहकार्यको ठाउँ रहेको विश्वास गर्न सकिन्छ।

‘भारत र रसिया दुवै देश तालिबानी शासकसँग सचेत छन्। विशेषगरी यहाँबाट आउन सक्ने आतंकवादले आफ्नो देशलाई पनि प्रभाव पार्ने हुँदै दुवै देश अफगानिस्तान मामिलामा चासो राख्छन्। त्यसैले पनि दुवै देशका नेताबीचको बैठकमा यो विषयले महत्व पाउने देखिन्छ,’ भन्छन् अमेरिकास्थित र्‍यान्ड नामक थिङ ट्याङका वरिष्ठ सुरक्षा विश्लेषक डेरिक ग्रुजम्यान।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved