राप्रपा महाधिवेशन : प्रतिनिधि छनोटमै विवाद हुँदा निर्वाचन प्रक्रिया प्रभावित

कमल थापा र राजेन्द्र लिङ्देन समुहबीच महाधिवेशन प्रतिनिधिलाई लिएर मंगलबारदेखि नै विवाद शुरु भएको थियो। मंगलवार राति पार्टी कार्यालयमा दुई पक्षबीच झडप नै भएको एक नेताले बताए।

राप्रपा महाधिवेशन : प्रतिनिधि छनोटमै विवाद हुँदा निर्वाचन प्रक्रिया प्रभावित

काठमाडौं। बुधबारदेखि काठमाडौंमा शुरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको बन्दसत्र र निर्वाचन प्रक्रिया प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधि छनोटमै विवाद भएपछि  बन्दसत्र देखि निर्वाचन प्रक्रिया प्रभावित भएको हो।

अध्यक्ष कमल थापा र अध्यक्षका दावेदार राजेन्द्र लिङ्देन समुहबीच महाधिवेशन प्रतिनिधिलाई लिएर मंगलबारदेखि नै विवाद शुरु भएको थियो। मंगलवार राति पार्टी कार्यालयमा दुई पक्षबीच झडप नै भएको एक नेताले बताए। त्यसपछि महाधिवेशनको उद्घाटनसत्र सकिएपछि अन्तिम महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन गर्ने थापा र लिङ्देन पक्षबीच सहमति भएको थियो।

तर बिहीबार दिउँसोसम्म पनि महाधिवेशन प्रतिनिधिको औपचारिक नामावली प्रकाशित नभएपछि काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनको बन्दसत्रदेखि निर्वाचन प्रक्रिया प्रभावित भएको हो। महाधिवेशन प्रतिनिधिको रूपमा जिल्ला जिल्लाबाट आएका प्रतिनिधिहरू भृकुटीमण्डपमा त्यत्तिकै घमफिर गरेर समय बिताइरहेका छन्।

अध्यक्ष थापा पक्षले सर्लाहीसहित प्रदेश २ बाट प्रकाशचन्द्र लोहनी पक्षले बढी प्रतिनिधि ल्याएको आरोप लगाएका छन् भने लिङ्देन पक्षले जिल्लाबाट छानिएका भन्दा अन्यको नाम थापा पक्षले समावेश गरेर महाधिवेशन प्रतिनिधिको सूची बनाएको आरोप लगाएका छन्।

महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनमा मतदान गर्ने भएकाले दुवै पक्ष आ-आफनो लाइन हुनुपर्ने अडानसहित बसेका छन्। तर निर्वाचन समितिका सदस्य राजु बस्नेतले बिहीबार साँझसम्म माहाधिवेशन प्रतिनिधिको नामावली औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी भइरहेको दावी गरेका छन्।

अध्यक्ष थापाले प्रतिनिधि छान्ने क्रममा १ सय ६५ ओटै निर्वाचन क्षेत्रबाट जबर्जस्ती आफ्ना मान्छेको नाम समावेश गरेको आरोप लिङ्देन पक्षको छ। ती प्रतिनिधिमा हेरफेर नगरेसम्म आफूहरूले नमान्ने लिङ्देन पक्षको अडान छ।

राप्रपाले महाधिवेशन प्रतिनिधिहरूको नाम नै सार्वजनिक नगरेपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। पूर्वनिर्धारित समयतालिका अनुसार बुधबार मतदाता नामावली प्रकाशन, बिहीबार उम्मेदवारको मनोनयन दर्ता र शुक्रबार मतदान हुने मिति तोकिएको थियो। राप्रपा महाधिवेशनका लागि राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved