काठमाडौं। मुस्ताङका अधिकांश स्थानीय उच्च भेगमा हिउँका ढिस्का र स–साना हिमपहिरो खस्नुलाई सामान्य र नियमित ठान्छन्। तर, आइतबारको हिमपहिरो भने मुस्ताङवासीलाई अस्वाभाविक लाग्यो। पानी पनि बरफझैँ जम्ने मौसममा ठूलो आवाजसहित हिमपहिरो खसेपछि हिमालको काखमा बसोबास गर्ने मुस्ताङवासी निकै त्रासमा छन्।
हिमपहिरो खसेको थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन भन्छन्, “स–साना पहिरो जान्थ्यो, पहिरो हिमालको फेदसम्म मात्रै आउँथ्यो। हाम्रो ठाउँमा बस्तीमा आइपुग्ने गरी अहिलेसम्म यस्तो ठूलो पहिरो खसेको थाहा छैन।”
थासाङ गाउँपालिका–२ को कोवाङको धौलागिरि हिमशृङ्खला अन्तर्गतको ६९२० मिटर अग्लो टुकुचे पिकबाट हिमपहिरो खसेको हो। बिहान ११ बजेपछि ज्वालामुखी विस्फोट भएजसरी कालो मुस्लोसहित हिमपहिरो खसेको देखिएपछि आत्तिएर भाडदौड गर्दा ११ जना घाइते भएका छन्।
स्थानीय जनआदर्श अमरसिंह विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयसहित ११ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। हिमपहिरो खसेको क्षेत्र सदरमुकाम जोमसोमबाट करिब १९ किमी टाढा छ। मानवीय र अन्य क्षति भएको अहिलेसम्म पुष्टि हुन नसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सो भेगमा चरण क्षेत्र र चौरी गोठ भएकाले चौँरीसहित जंगली जनावर पुरिएको आशंका गरिएको छ। पहिरो गएको क्षेत्र थासाङ गाउँपालिकाबाट करिब आधा दिनको पैदल दूरी टाढा छ। क्षतिको विस्तृत आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद अधिकारीले बताए। उनकाअनुसार पहिरोले मानवीय पुर्याएको छैन।
भीषण पहिरो जानुअघि टुकुचे पिकबाट आइतबार बिहानैदेखि स–साना ढिस्का र ढुङ्गा खसेका थिए। गत वर्ष २६ कार्तिकमा मुस्ताङमा बाक्लै हिमपात भएको थियो। यसपटक अझै हिमपात शुरु नभएको घरपझोङ गाउँपालिका–४ जोमसोमका स्थानीय एवं नेपाल पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकालीले बताए।
“बिहान बेलुका चिसो भए पनि दिउँसो घमाइलो मौसम छ”, उनले भने, “वर्षा शुरु भएदेखि भदौसम्म सानातिना हिम ढिस्का खस्थे, यस्ता घटनालाई सामान्य मानिन्थ्यो। तर, अहिले हिउँ जम्ने मौसम अनि घमाइलो दिनमा यस्तो घटना हुँदा स्थानीय निकै त्रासमा छन्।” थकालीकाअनुसार सो भेगमा यो अहिलेसम्मकै ठूलो हिमपहिरो हो।
तापमानवृद्धिको असर हिमालय क्षेत्रमा
विश्वव्यापी तापमानवृद्धिको असर हिमालय क्षेत्रमा परेकाले उच्च भेगमा बेमौसमी वर्षा र हिमपहिरोका घटना बढ्न थालेका विज्ञहरूको विश्लेषण छ। जलवायु परिवर्तनको प्रभाव हिमालय क्षेत्रमा परेर हिमरेखा माथितर्फ सर्ने क्रम बढ्दा यस्तो असर देखिएको भौगर्भिक प्रकोपविज्ञ श्रीकमल द्विवेदीले बताए।
उनी भन्छन्, “हिउँले माटो, ढुङ्गा र चट्टानलाई बाँधेर राखेको हुन्छ, हिउँ पर्ने मौसममा हिउँ पर्न छाडेको छ। भएको हिउँ नै पग्लिन थालेपछि अस्वाभाविक रुपमा हिमपहिरो खस्छ।” बाक्लो बस्ती भन्दा टाढा, बिहानको समयमा पहिलो गएकाले ठूलो जनधनको क्षति नभएको द्विवेदीको बुझाइ छ। “जलवायु परिवर्तनको असर बढ्दो क्रममा रहेकाले आगामी दिनमा जुनसुकै मौसममा यस्ता घटना दोहोरिन सक्छन्”, उनले दोहोर्याए।
नेपालको पूर्वदेखि पश्चिमका उच्च भेगमा १९ वटा हिमजलाधार क्षेत्र छन्। तर, जोखिम पहिचान गर्ने गरी अध्ययन अनुसन्धान भएका छैनन्। उच्च भेगमा भारी वर्षा, हिम पहिरो जस्ता घटना बढिरहँदा पर्याप्त अनुसन्धान हुन नसकेको हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले बताए। हिमपात हुने समयमा हिमपात नभएर घाम लाग्दा अहिले मुस्ताङमा हिमपहिरो खसेको उनको ठहर छ।
“हिमाली क्षेत्र खास गरी ३० डिग्री भन्दा बढी भिरालो भेगमा सानोतिनो पहिरो गइरहेको हुन्छ। अहिले हिमपात कम भएको बेला विगतमा थुप्रिएको हिउँ पग्लिएर ठूलो पहिरो गएको हो”, उनले भने। पानी बहने ठाउँमा हिम पहिरो खसेमा हिमबाढीले ठूलो क्षति गराउन सक्ने कायस्थ बताउँछन्।
Facebook Comment
Comment