घट्यो विद्यार्थी भर्नादर

कोभिड संन्त्रासपछि भएको लकडाउनका कारण देशभरका विद्यालय बन्द भए। विद्यालयमा पढ्ने वातावरण हुन नसकेपछि विद्यार्थी इन्टरनेटको सहायताले घरमै पढ्न बाध्य छन्। ढुक्क भएर अभिभावकले आफ्ना सन्तान विद्यालय पठाउन नसक्दा पनि भर्नादरमा कमी आएको हो।

घट्यो विद्यार्थी भर्नादर

काठमाडौं। चालु शैक्षिक सत्रमा पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्मका विद्यार्थी भर्नादरमा कमी आएको छ। तर ५ देखि १२ कक्षासम्मका विद्यार्थी संख्यामा भने वृद्धि पनि भएको छ।

शैक्षिक सत्र २०७७ को तुलनामा ०७८ मा पूर्वप्राथमिक तहदेखि कक्षा ५ सम्म २५ हजार ९७७ जना घटेका छन् भने ५ देखि १२ कक्षासम्म ८९ हजार ३३६ जना बढेका शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकमा उल्लेख छ।

तल्लो तहमा विद्यार्थीको संख्या कम हुनुमा एउटा मात्र कारण नहुने शिक्षाविद् विद्यानाथ कोइराला बताउँछन्। “सानो उमेरका बालबालिकाको संख्या कम हुँदैछ,” उनले तर्क गरे।

कोरोनाले अभिभावकमा अन्योल बढाएकाले संस्थागत विद्यालयमा शुल्क मात्र तिर्नुपर्ने भएकाले स्कुल नपठाएको हुन सक्ने उनले आकलन गरे।

कोभिड संन्त्रासपछि सरकारले गरेको लकडाउनका कारण देशभरका विद्यालय बन्द भए। विद्यालयमा पढ्ने वातावरण हुन नसकेपछि विद्यार्थी इन्टरनेटको सहायताले घरमै पढ्न बाध्य भए। कतिपय विद्यालयमा त यो पनि सम्भव भएन।

विस्तारै कोरोना संक्रमण ओरालो लाग्दै गएपछि सरकारले विद्यालयलगायत क्षेत्र खोल्दै गयो। तर कतिपय अभिभावकमा कोरोनाको त्रास हट्न सकेको छैन। स्वास्थ्यसम्बन्धी मापदण्ड पनि पूर्ण रूपले पालना गर्न नसक्ने विद्यालयमा आफ्ना बालबच्चा पठाउन उनीहरू तयार भएका छैनन्। सरकारले हरेक २ वैशाखबाट विद्यार्थी भर्नाको समय तोक्ने गरेको छ।

अनलाइनको पहुँचमा आउन नसकेका कारण बालबालिकाको सिकाइ हुन नसकेको युनेस्कोको रिपोर्ट छ। तर अघिल्लो वर्षको तुलनामा आफ्नो विद्यालयको भर्नादरमा वृद्धि भएको विश्व निकेतन माविका प्रध्यानाध्यापक हेरम्भराज कँडेल बताउँछन्।

“साना बालबालिकाको भर्नादर उस्तै छ तर माथिल्लो तहमा भने वृद्धि भएको छ,” उनले बताए। यस विद्यालयमा गत वर्ष तीन हजार २२० विद्यार्थी भर्ना भएका थिए भने यस शैक्षिक सत्रमा ३ हजार ७ सय पुगेका उनले जानकारी दिए।

कोभिड त्रासका केही अभिभावकले अझै पनि बालबालिकालाई घरमै पढाउन सिकाउन थालेका उनको अनुमान छ। भन्छन्, “अभिभाबकले बालबालिकाको ज्ञानमा भन्दा पनि ज्यानलाई बढी महत्व दिएको देखियो।”

श्रमजितकिशोर माविका प्रध्यानाध्यापक गणेशप्रसाद खनाल पनि यस्तै तर्क गर्छन्। भन्छन्, “कोभिडका कारण साना कक्षालाई बढी प्रभाव परेको छ।” माथिल्लो तहमा भने विद्यार्थी संख्या अलि बढेको उनले सुनाए।

तुलनात्मक रूपमा भने भर्नादर बढ्यो

केन्द्रको तथ्यांकलाई समग्रमा आधारमा मान्ने हो भने चालु शैक्षिक सत्रमा भर्नादर केही बढेको छ। पोहोरभन्दा विद्यार्थीको संख्या ६३ हजार ५१४ ले बढेको तथ्यांकले देखाएको छ।

गत वर्ष देशैभर ८१ लाख ३२ हजार ४३५ जना विद्यार्थी भर्ना भएका थिए भने यस वर्ष ८१ लाख ९५ हजार ९७५ विद्यार्थी भर्ना भएका छन्। अघिल्लो शैक्षिक सत्रको तुलनामा ०७८ मा पूर्वप्राथमिक तहमा १२ हजार ४०९ जनाले भर्नादर घटेको केन्द्रको तथ्यांक छ।

केन्द्रका अनुसार ०७७ मा पूर्वप्राथमिक तहमा ११ लाख २६ हजार ५ जना विद्यार्थी भर्ना भएका थिए भने यस वर्ष ११ लाख १३ हजार ५९६ जना भर्ना भएका छन्। कक्षा १ देखि ५ सम्म अघिल्लो शैक्षिक सत्रको तुलनामा १३ हजार ५६८ जना विद्यार्थी संख्या कम छ। ०७७ मा पाँच कक्षासम्म ३५ लाख ३४ हजार ४९० जना भर्ना भएका थिए भने यस वर्ष ३५ लाख २० हजार ९२२ जना भर्ना भएका तथ्यांकमा समावेश छ।

६ कक्षादेखि ८ सम्म चालु शैक्षिक सत्रमा भने विद्यार्थी संख्यामा वृद्धि भएको छ। यो वर्ष ४४ हजार ४०४ जना विद्यार्थी बढेका छन्। केन्द्रका अनुसार यी कक्षामा गत वर्ष १७ लाख ७२ हजार ३७५ जना विद्यार्थी भर्ना भएका थिए। यो वर्ष भने १८ लाख १६ हजार ७७२ जना भर्ना भएका छन्।

त्यसैगरी माध्यमिक तह ९९(१०० मा पनि चालु शैक्षिक सत्रमा २४ हजार ९७६ विद्यार्थी बढेका छन्। केन्द्रको तथ्यांकमा ०७७ मा यो तहमा १० लाख ३९ हजार ७७७ जना विद्यार्थी भर्ना भएका थिए भने यो वर्ष १० लाख ६४ हजार ७४४ जना भर्ना भएका उल्लेख छ।

माध्यमिक तह ९११(१२० मा चालु शैक्षिक सत्रमा १९ हजार ९५३ जना विद्यार्थी बढेका छन्। ०७७ मा यो तहमा ६ लाख ५९ हजार ७८८ जना विद्यार्थी भर्ना भएका थिए भने ०७८ मा ६ लाख ७९ हजार ९४१ जना रहेका केन्द्रले जनाएको छ।

तस्वीर : गोपेन राई


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved