गणतन्त्र ज्ञानेन्द्रले नै ल्याएका हुन्, हामीले होइनः प्रधानमन्त्री देउवा

‘‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन। मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भनेँ। तर मलाई जेलमा थुनियो”, देउवाले भने।

नेपालभ्युज

गणतन्त्र ज्ञानेन्द्रले नै ल्याएका हुन्, हामीले होइनः प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र पूर्व राजा ज्ञानेन्द्रले नै ल्याएको बताएका छन्। उनले पूर्वराजाकै कारण देशमा गणतन्त्र आएको बताए।

‘‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन। मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भनेँ। तर मलाई जेलमा थुनियो”, देउवाले भने, ‘‘त्यसकरण एकाएक जनता तातिए। प्रजातन्त्र आइसकेको देश प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन्। त्यसकारण अगाडि बढे भइहाल्यो नि, मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, अरु हुनै सक्दैन।”

बुधबार गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रको विरुद्धमा नलाग्न चेतावनी दिए।

देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौती दिएका छन्। उनले पूर्वराजा शाहलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिने बताउँदा आफूलाई जेलमा हालेको स्मरण गर्दै शासन व्यवस्थाविरुद्ध नलाग्न चेतावनी दिए।

‘‘उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि। चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ?”, देउवाले भने, ‘‘यो अहिले सबैभन्दा राम्रो संविधान छ। समावेशी, समानुपातिक छ। सबैलाई अटाएको छ। केही समस्याहरु आउन सक्छन्, हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ।”

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए। उनले निर्वाचन आयोग र वडादेखि नै हुने चुनाव निष्पक्ष र धाँधलीरहित हुनुपर्ने बताए।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको बताए। उनले संविधानका केही कुरामा आफ्नो पनि असहमति रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताए।

‘‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन हेर्नुस्, जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ। त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ”, देउवाले भने, ‘‘प्रजा भनेको जनता नै हो, यसमा अर्को पाटो हो निष्पक्ष चुनाव, कसैले पनि धाँधली गर्न नसकोस्, बद्मासी गर्न नसकोस्, त्यसैले निर्वाचन आयोग छ, त्यो अत्यन्तै स्वतन्त्र हुनुपर्छ।”

निर्वाचन आयोग कुनै पार्टीसँग मिल्ने नभएर स्वतन्त्र रहने संस्था भएको भन्दै देउवाले आयोगले कसैको कुरा नमान्ने र आफ्नो नीतिअनुसार हिँड्ने बताए। उनले निष्पक्ष निर्वाचन आयोगका साथसाथै वडा–वडाबाट नै निष्पक्ष चुनावबाट जो आउँछ मान्नुपर्ने बताए।

‘‘उपाय नै छैन, जितेपनि हारेपनि सहर्ष स्वीकार गर्नु हाम्रो कर्तव्य हो”, देउवाले भने, ‘‘सरकारले जनताप्रति काम गरेन भने अर्को आउँछ। जनताप्रति पजातन्त्रलाई कसरी उत्तरदायी बनाउने त्यतातिर लागौँ न हामी, मैले त धेरै पटक भनिसकेको छु।”

देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको पनि बताए। उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई विस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढिरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए।

देउवाले क्लाइमेट चेन्ज (जलवायु परिवर्तन)का कारण देशका हिमालहरुमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए।

भिडिओ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved