छठको दोस्रो दिन खरना, छठ पूजाको तयारी पूरा

छठको दोस्रो दिन खरना, छठ पूजाको तयारी पूरा

काठमाडौं। कार्तिक शुक्ल पञ्चमीका दिनमा आज छठका व्रतालु निर्जल उपवास बसी ‘खरना’ को विधि पूरा गर्दै छन्। निर्जल उपवास बसेका व्रतालुले मंगलबार बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खान्छन्। यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आएकी गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताउँछन्। पञ्चमीका दिन राजधानीमा छठ मनाइने गुह्येश्वरी गौरीघाट क्षेत्र र कमलपोखरीमा विशेष चहलपहल छ।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा बुधबार अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य चढाउन ६७५ वटा छठ घाट अर्थात् पूजा स्थल बनाइएको उनले सुनाए। यसमध्ये ३० वटा घाट भने निःशुल्क दिइने छ। बाँकी घाट लिन चाहनेले एक हजार १०० रुपैयाँ शुल्क बुझाउनुपर्ने समितिले जनाएको छ।

गत वर्ष कोरोना महामारीका कारण गुह्येश्वरी गौरीघाट क्षेत्रमा बृहत्रुपमा छठ नमनाइएकाले वाग्मती नदीलाई सम्याएर व्यवस्थित बनाउन असहज भएको समिति सदस्य सिंहले सुनाए। अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर नदी क्षेत्र सम्याउने, सरसफाइलगायत काम सकी छठको तयारी पूरा भएको छ। कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको संयोजन एवं समन्वयमा छठ पूजा गरिने जनाइएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि विधिवत् सुरु हुने छठ पर्व सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा समापन हुन्छ। गत वर्ष घरको छतमा छठ पर्व मनाएका बर्तालु यस वर्ष पनि कोरोनाको जोखिम केही कम भए पनि पूर्णरुपमा अन्त्य नभएकाले विसं २०७६ मा जति छठ घाट ‘बुकिङ’ गर्न नआएको समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved