सैद्धान्तिक बहस ‘सकिएपछि’ धर्मको सहारामा राजनीतिक दल

समान्यतया हिन्दू धर्मावलम्बीहरूको बाहुल्य रहेको देशमा मन्दिर दर्शनको विषयले खास प्राथमिकता नपाउनुपर्ने हो। तर पछिल्लो समय नेपालको राजनीतिमा दक्षिणपन्थी धार झाँगिदै गएको आरोप लाग्दा दलका नेताहरूको मन्दिर दर्शनले अतिरिक्त चर्चा पाउने गरेको हो।

सैद्धान्तिक बहस ‘सकिएपछि’ धर्मको सहारामा राजनीतिक दल

काठमाडौं। सैद्धान्तिक विषयमाथि छलफल कम हुन थालेपछि नेपालका राजनीति दलहरूमा धर्मको विषयले प्राथमिकता पाउन थालेको छ। नेताहरू राजनीति सोपानका लागि धर्मलाई आधार बनाउने दिशामा उद्धृत हुन थालेका छन्।

१३ कात्तिकमा कार्यवाहक प्रधानमन्त्रीको भूमिकामा रहँदा गृहमन्त्री बालकृष्ण खाँड पशुपतिनाथ दर्शन गर्न पुगे। १२ कात्तिकमा स्कटल्याण्डको ग्लास्गोमा आयोजना भएको जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलन कोप २६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा त्यसतर्फ लागेपछि कांग्रेस नेतासमेत रहेका गृहमन्त्री खाँडलाई कार्यवाहक प्रधानमन्त्रीको भूमिका दिइएको थियो।

समान्यतया हिन्दू धर्मावलम्बीहरूको बाहुल्य रहेको देशमा मन्दिर दर्शनको विषयले खास प्राथमिकता नपाउनुपर्ने हो। तर पछिल्लो समय नेपालको राजनीतिमा दक्षिणपन्थी धार झाँगिदै गएको आरोप लाग्दा दलका नेताहरूको मन्दिर दर्शनले अतिरिक्त चर्चा पाउने गरेको हो।

पशुपतिनाथ मन्दिरको दर्शन गर्न पुगेका गृहमन्त्री खाँड दम्पतीले पशुपतिनाथको पुजारीबाट अभिषेक ग्रहण गरेका थिए। मन्दिर दर्शनका क्रममा खाँड दम्पतीले वासुकी, सत्यनारायणलगायत मन्दिरको समेत दर्शन गरेका थिए।

गृहमन्त्री खाँड दम्पति मात्रै होइन प्रधानमन्त्री देउवा दम्पतीसमेत केही समयअघि मन्दिर दर्शका लागि पुगेका थिए। ४ भदौमा पत्नी आरजुसहित ललितपुरको कुम्भेश्वरस्थित बंगलामुखी मन्दिरको दर्शनमा पुगेका थिए।

बंगलामुखी मन्दिरको पुनर्निर्माण सकिएकाले गजुर पूजाका लागि प्रधानमन्त्री सपत्नी मन्दिर दर्शनका लागि पुगेका बताइए पनि त्यसलाई धार्मिक राजनीतिसँग जोडेर हेर्नेको कमी छैन।

४ भदौमा बंगलामुखी मन्दिर पुगेका प्रधानमन्त्री दम्पतिद्वयले ६ भदौमा भारतीय जनतापार्टीका विदेश विभाग प्रमुख वियज चौथाइवालेलाई रक्षा बन्धनको दिन प्रधानमन्त्री निवास बालुवाटारमा स्वागत गरे।

प्रधानमन्त्रीपत्नी आरजु एक कदम अघि बढेर नेपाल भ्रमणमा रहेका चौथाइवालेलाई राखी लगाइदिइन्। उक्त घटनालाई कांग्रेसभित्रकै केही व्यक्ति ‘गम्भीर सन्देश’ का रूपमा बुझ्ने गरेका छन्।

यतिमात्रै होइन आरजूले आफ्नो सामाजिक सञ्जालमार्फत हिन्दू धर्म प्रवर्द्धनलाई बढावा दिएको समेत पाइन्छ। नागपञ्चमीको अवसरमा होस् वा तिजको। शिव पार्वतीको पूजा गरेको तस्वीर राखेर होस् अथवा अन्य धार्मिक अवसरमा संलग्न भएको तस्वीर सार्वजनिक गरेर। उनले फरक प्रकारको सन्देश प्रवाह गर्ने प्रयास गरेको देखिन्छ।

२९ मंसीरदेखि ८ पुष २०७५ मा काठमाडौँमा भएको कांग्रेसको महासमिति बैठकमा समेत महासमिति सदस्याहरूबीच हिन्दू धर्मको रक्षाका सन्दर्भमा गम्भीर छलफल भएको थियो।

कांग्रेस महामन्त्रीसमेत रहेका शशांक कोइराला नै हिन्दू धर्मको पक्षमा लागेपछि कांग्रेसको आन्तरिक राजनीतिमा धर्मले झनै ठूलो ठाउँ पाएको हो। यसैक्रममा पूर्वमन्त्रीसमेत रहेका कांग्रेस नेता शंकर भण्डारीको नेतृत्वमा महासमितिस्थल बाहिर हिन्दू धर्म रक्षाका लागि भन्दै हस्ताक्षर संकलनसमेत भएको थियो। करिब ८ सय महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेको दाबी गरिएको थियो।

मिति परिवर्तन नभए यही मंसीरको अन्त्यमा कांग्रेस चौधौं महाधिवेशन गर्ने तयारीमा छ। कांग्रेस नेता भण्डारी महाधिवेशनमा हिन्दू धर्मको पक्षमा रहेको नेतृत्व नै स्थापित हुने दाबी गर्छन्। “कांग्रेसको चौधौं महाधिवेशनको प्रमुख एजेण्डा नै नेपाल सनातन हिन्दू राज्य हो भन्ने हुनेछ,” नेता भण्डारी भन्छन्, “हिन्दू धर्म नेपालको पहिचानको मुख्य आधार हो, त्यसलाई कांग्रेसले अंगीकार गर्नुपर्छ।”

कांग्रेस नेता भण्डारी मंसीरमा हुने महाधिवेशनमा पनि हिन्दू धर्मको एजेण्डालाई प्रमुख बनाउने व्यक्तिले नै सभापतिको निर्वाचन जित्ने दाबी गर्छन्। यसले के देखाउँछ भने कांग्रेसभित्र हिन्दू धर्मको प्रभाव निकै छ। संवैधानिक राजतन्त्र र संसदीय व्यवस्था खारेज गरेर तत्कालीन राजा महेन्द्रले २०१९ सालको संविधानमा नेपाललाई हिन्दू राष्ट्रको मान्यता दिएका थिए। २०६३ को अन्तरिम संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको थियो।

नेपालको संविधान २०७२ मा नेपालमा धार्मिक स्वतन्त्रता रहने भन्दै अन्तरिम संविधानको व्यवस्थालाई नै निरन्तरता दिए पनि देशकै पुरानो दल नेपाली कांग्रेसको पछिल्ला गतिविधिले दलभित्र हिन्दू धर्मको प्रभाव फेरि बढ्दै गएको देखाएको छ।

प्रधानमन्त्री देउवानिकट कांग्रेस नेता मोहनबहादुर बस्नेत पनि कांग्रेस नेता भण्डारीको तर्कलाई घुमाउरो पारामा स्वीकार गर्छन्। “धर्म निरपेक्षताको कुरा २०६२÷६३ को आन्दोलनको विषय नै थिएन, कांग्रेस पार्टीभित्र हिन्दू धर्मको एजेण्डालाई प्रभावकारी रुपमा उठाउनुपर्ने आवाज छ,” नेता बस्नेत भन्छन्।

कम्युनिष्ट भनिएका केपी ओलीलगायतले पनि धर्मको कुरा गर्न थालेकाले कांग्रेसले धार्मिक विषय उठाउनुलाई अस्वाभाविक मान्न नसकिने नेता बस्नेतको तर्क छ। यसरी हेर्दा हिन्दू धर्मलाई पार्टीको आन्तरिक जीवनमा प्रश्रय दिने काम कांग्रेसले मात्रै भने गरेको छैन।

एमालेमा पनि धर्मको आस्था

तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ को भानुजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भगवान् राम भारतको अयोध्यामा नभई चितवनको ठोरीमा जन्मिएको बताए। आफ्नो दाबीलाई पुष्टि गर्न उनले ठोरीमा राम मन्दिर निर्माणको निर्देशनसमेत दिएका थिए।

१५ कात्तिकमा चितवन पुगेका ओलीले ठोरी पुगी राम मन्दिर अवलोकन गर्नुका साथै पूजासमेत गरेका थिए। यस्तै उनी नै प्रधानमन्त्री भएका बेला १२ माघ २०७७ मा उनी पशुपतिनाथमा पूजा गर्न पुगेका थिए।

पशुपतिनाथमा पूर्वप्रधानमन्त्री ओलीले विशेष पूजा गर्नुका साथै सवा लाख दीप प्रज्ज्वलन गरेका थिए। विशेष पूजा पनि गरेका थिए। यस्तै उनले पशुपतिमा सुनको जलप लगाउन ३० करोड दिन संस्कृति तथा पर्यटन मन्त्रालयलाई निर्देशनसमेत दिए।

प्रधानमन्त्रीको शपथ लिँदा ईश्वरको नाममा नभई देश र जनताका नाममा शपथ लिन्छु भन्ने ओली मन्दिर जानुलाई नै धेरै मानिसले शंकाको नजरले हेर्ने गरेका छन्।
“ओलीले मानिसको सद्भाव आफूतर्फ आकर्षित गर्न यस्तो काम गरेका हुन्,” पुराना कांग्रेस नेता लक्ष्मण घिमिरे भन्छन्, “अवस्था हेरिकन आफूलाई फाइदा हुने हिसाबले कदम चाल्न सक्ने ओलीले पछिल्लो अवस्थामा मन्दिर जाँदा आफूलाई फाइदा हुने देखेर गएका हुन्।”

अब यहाँ प्रश्न उठ्छ- मन्दिर गएर मात्रै एक राजनीतिक नेतालाई के फाइदा हुन्छ ? राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम भारतको राजनीतिमा देखिएको धार्मिक गन्ध नेपालको राजनीतिमा पनि देखिन थालेको बताउँछन्।

भन्छन्, “भारतमा जुन हिसाबले धार्मिक राजनीतिमार्फत भाजपाको शासन सत्ता चलेको छ, त्यसको प्रभाव नेपाली राजनीतिमा पनि पर्न थालेको देखिन्छ।” उनी थप्छन्, “पछिल्लो समय राजनीतिक दलका नेतादेखि परिवारका सदस्य नै मन्दिर दर्शनमा गएका फोटाहरू सार्वजनिक भएका छन्, यी सबैले देशको राजनीति त्यसैतर्फ उद्धृत रहेको संकेत गर्छ।”

वैकल्पिक राजनीति गर्ने भन्दै पार्टी खोलेका रवीन्द्र मिश्र र उनको पार्टी विवेकशील साझा पार्टीले हालै एक राजनीतिक दस्तावेज ‘मार्ग परिवर्तन’ पारित गर्‍यो। यस पार्टीको केन्द्रीय समितिको बैठकले पारित गरेको उक्त दस्तावेजले धर्म निरपेक्षताका सन्दर्भमा जनमतसंग्रह नै गर्नुपर्ने उल्लेख गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुरुवातदेखि नै हिन्दू धर्मको वकालत गर्दै आएको भए पनि पछिल्लो समय अन्य दलका नेता पनि अघोषित रूपमा त्यही दिशातर्फ अग्रसर भएको देखिन्छ।

कांग्रेसको आसन्न चौधौँ महाधिवेशनको मिति नजिकिँदै गर्दा कांग्रेस नेताहरूको भारत भ्रमण पनि बाक्लै भएको छ। नेताहरूको भारत भ्रमण यो पटक मात्रै बाक्लिएको भने होइन। यसअघि पनि नेपालका नेताहरू बाक्लै रूपमा भारत भ्रमणमा गएको प्रशस्त उदाहरण छन्। तर, कांग्रेसको आसन्न महाधिवेशनअघि भारतको समर्थन आफ्नो पक्षमा ल्याउन गुटगत रूपमा नै कांग्रेस नेताहरूको भारत भ्रमण हुने गरेको कांग्रेसकै नेताहरू बताउँछन्।

धर्म विशेषमा विश्वास राख्ने भारतको वर्तमान सत्ताको नजिक हुने कांग्रेस नेताहरूको प्रयासले देशको राजनीतिलाई पनि सोही दिशामा लैजान चाहेको आशंका पछिल्लो समय बढ्न थालेको छ।

लामो समयदेखि सभापति देउवासँग सहकार्य गर्दै आएका कांग्रेस उपसभापति विमलेन्द्र निधिले भदौमा भारतको भ्रमण गरे। आउँदो महाधिवेशनमा सभापतिको उमेद्वारी दिने घोषणा गरेका उनले काठमाडौँबाट सिधैँ दिल्ली नगएर दरभंगा विमानस्थलबाट दिल्ली पुगेका थिए।

कांग्रेस निकट रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेस नेताहरूको निरन्तरको भारत भ्रमणलाई अर्थपूर्ण रहेको बताउँछन्। “महाधिवेशनको नजिक रहेको पार्टीका नेताहरू गुटगत हिसाबमा नै भारतको भ्रमणमा जानुले राम्रो संकेत गर्दैन,” विश्लेषक आचार्य भन्छन्, “भारतीय वर्तमान सत्ताको समर्थन खोज्न भारत भ्रमणमा गएको हो भने त्यसले नेपालको राजनीतिमा झनै फरक अर्थ राख्छ।”

यसबीचमा कांग्रेसले भाजपासँग पार्टीगत सम्बन्ध नै विस्तारको पहल गरिसकेको छ। प्रधानमन्त्री देउवाको चाहनामा उनीनिकट नेताहरू प्रकाशशरण महतलगायत नेताले असोजको तेस्रो हप्ता भारत भ्रमण गरेको थियो। यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले पनि मुम्बईमा उपचार गराइराखेका कांग्रेस सांसद प्रदीप गिरीलाई भेट्न भन्दै कांग्रेस नेताद्वय दीपक गिरी र दीपक खड्कालाई साथमा लिएर भैरहवा नाका हुँदै गोरखपुरको बाटो हुँदै त्यसतर्फ गएका थिए। नेत गिरीलाई मुम्बईमा भेटी कोइराला नेतृत्वको टोली दिल्ली प्रस्थान गरेको थियो।

दिल्ली बसाइका क्रममा कोइरालाले त्यहाँ उपचार गराइराखेका कांग्रेसका अर्का नेता दावा लामालाई भेट्नुका साथै भारतीय सत्तानिकट उच्चपदस्थ व्यक्तिलाई पनि भेटेको जानकारहरू बताउँछन्।

कांग्रेस नेताहरूको भारत भ्रमणलाई पार्टीको महाधिवेशनसँग जोडर हेरिएको छ। कांग्रेस नेता मोहन बस्नेत भन्छन्, “भारतले चाहादैँमा कांग्रेसमा को सभापति बन्छ भन्ने कुराको निक्योल हुँदैन” भने पनि आफ्नो गुटको घनत्व बढाउनकै लागि नेताहरूको भारत भ्रमण बाक्लिएको कांग्रेसभित्रैका नेताहरू दाबी गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved