निष्काशन भएका पाँच अफगानी फेरि नेपाल फर्कने सम्भावना

तेस्रो मुलुकको भिसा भएको आधारमा निष्कासित अफगानी शरण नपाएपछि नेपाल फर्किने सम्भावना रहेको अध्यागमन स्रोतले जनाएको छ।

निष्काशन भएका पाँच अफगानी फेरि नेपाल फर्कने सम्भावना

काठमाडौं। नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयोग (युएनएचसीआर) को चर्को दबाबबीच नेपाल सरकारले निष्काशन गरेका पाँच अफगानी नागरिक पुनः नेपाल फर्किने सम्भावना छ। अध्यागमन विभागका एक उच्च अधिकारीले दिएको जानकारी अनुसार आइतबार नेपालले निष्काशन गरेका पाँच अफगानी नागरिक नेपाल फर्किने सम्भावना रहेको बताएका छन्।

युनएनएचसीआरको काठमाडौँ कार्यालयले भने आफूसँग अफगानी नागरिकको कुनै सम्पर्क नरहेको बताएको छ। कार्यालयका अन्तर्राष्ट्रिय शाखाका वरिष्ठ सूचना अधिकारी दिपेश दास श्रेष्ठले अफगानी नागरिकसँग कार्यालयको कुनै सम्पर्क नभएको दाबी गरे। सरकारले भने दबाबबीच पाँच अफगानी नागरिकलाई देश निष्काशन गरेको हो।

एकै परिवारका पाँच जना अफगानीलाई नेपाल सरकार गृह मन्त्रालयले १० कात्तिकमा निष्काशन गर्ने निर्णय गरेको थियो। भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका ११ अफगानीमध्ये पाँच अफगानीलाई आइतबार नेपालले निष्काशन गरेको थियो। युएनएचसीआरले नेपाल सरकारलाई अफगानी नागरिकलाई देश निकाला नगर्न दबाब दिँदै गर्दा नेपालले निष्काशन गरेको थियो। निष्काशित पाँच अफगानी फेरी नेपाल फर्किने सम्भावना रहेको अध्यागमन विभागका एक अधिकारीले जानकारी दिएका हुन्।

तीन वर्ष नेपाल प्रवेशमा रोक लगाउँदै ती अफगानी नागरिकलाई नेपाल सरकारले नेपालबाट निष्काशन गरेको थियो।

“देशको शान्ति सुव्यवस्थामाथि खलल पुग्न सक्ने देखेर हामीले अफगानी नागरिकलाई देश निकाला गरेको भए पनि उनीहरू नेपाल फर्किने सम्भावना बढेर गएको देखिन्छ”, अध्यागमनका ती अधिकारीले नेपाल भ्यूजसँग भने।

आइतबार कोलम्बिया एयरवेजबाट श्रीलंका ट्रान्जिट पार्दै ती अफगानी मेक्सिको गएका हुन्। यद्यपि, उनीहरूले बोकेका अफगानी राहदानीमा श्रीलंका र मेक्सिको दुवै देशको प्रवेशाज्ञा थियो। त्यहाँबाट पनि निष्काशन हुने भएकाले अन्तर्राष्ट्रिय प्रचलनअनुसार निष्कासन गरेकै देश फर्किने हुनाले उनीहरू नेपाल फर्किने सम्भावना रहेको स्रोतले जनाएको छ।

“शरणार्थी किटान नभई सकेको अवस्थामा सम्बन्धीत देशले आफ्नो देश प्रवेश गर्न नदिने निर्णय लिन पाउने हुँदा उनीहरू नेपाल फर्किने सम्भावना बढेर गएको छ”, अध्यागमन अधिकारीले भने।

८ कात्तिकमा भैरहवा नाका हुँदै नेपाल प्रवेश गरेका ११ अफगानीहरूलाई नेपाल प्रहरीले सिनामंगलस्थित एक होटलबाट पक्राऊ गरेको थियो। पक्राऊ परेका ११ अफगानी नागरिकमध्ये पाँच जनालाई सरकारले निष्काशन गर्दा ६ जना भने अध्यागमन विभागको नियन्त्रणमा रहेका छन्।

पाँच अफगानीसँग तेस्रो मुलुक प्रवेशाज्ञा रहेकाले उनीहरूलाई निष्काशन गरिए पनि अन्यसँग तेस्रो मुलुक प्रवेशाज्ञा नभएकाले निष्काशन नगरिएको अध्यागमन विभागको दाबी छ।

यसअघि पनि नेपाल भारतको खुला सीमाको प्रयोग गर्दै नेपाल आएका अफगानीहरूलाई नेपाल सरकारले शरणार्थीको मान्यता नदिएको उदाहरण छन्। नेपालमा हाल तिब्बतियन, भुटानी, पाकिस्तानी, श्रीलंकन, अफगानिस्तानी लगायतका देशका शरणार्थी रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved