दशैंपछि उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ

नेपालमा डेल्टा प्लस भेरिएन्टको जोखिम कति ?

‘‘कोभिडको अणुवांशिक परिवर्तन भएर भाइरस आक्रमक भयो भने अझै खतरा बढ्ने भएकाले सरकराले छिटो-छिटो सबैलाई खोप दिनु पर्छ”, जनस्वाथ्यविद् मरासिनी भन्छन्, ‘‘उच्च तहमा भएका व्यक्तिले नै कोभिडलाई गम्भीर तरीकाले नलिएर मास्क नलगाएर सभा, जुलुस, गोष्ठी र भीडभाड गरेको देखियो।”

दशैंपछि उकालो लाग्यो कोरोना संक्रमणको ग्राफ

काठमाडौं। दशैंअघि पाँच प्रतिशतमा झरेको कोभिड संक्रमितदर अहिले बढ्दै गइरहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २६ असोजमा १० हजारको हाराहारीमा परीक्षण गर्दा लगभग आठ सयमा संक्रमण पुष्टि भएको थियो।

२७ असोजमा ६ हजार जतिको परीक्षण गर्दा साढे तीन सयमा संक्रमण पुष्टि भयो भने २८ असोजमा ६ हजार बढीमा गरिएको परीक्षणमा साढे चार सय संक्रमित थपिए।

२९ असोजमा भने चार हजार ७१२ जनाको परीक्षण गर्दा जम्मा २७२ जनामा संक्रमण देखिएको थियो भने दशैंपछिका दिनहरुमा सात हजारको हाराहारीमा परीक्षण गर्दा पाँच सय जति संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले बताए।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीर कुमार अधिकारी भन्छन् ‘‘दशैंअघि पाँच प्रतिशतमा झरेको संक्रमितदर अहिले आठ प्रतिशतको हाराहारीमा पुगेको छ। यसले पनि दशैंपछि संक्रमति संख्या क्रमिकरुपमा बढ्दै जाने संकेत गरिरहेको छ।”

दशैँअघि नै जनस्वास्थ्यविद्हरुले चाडपर्वपछि संक्रमित संख्या बढ्न सक्ने भन्दै स्वास्थ्यका मापदण्ड पालन गर्न बारम्बार आग्रह गर्दै आइरहेका थिए। चाडपर्वको समयमा हुने भीडभाडका कारण संक्रमण बढ्ने भन्दै उनीहरुले सचेत गराएका थिए।

‘‘दशैं अघिको तुलनामा हेर्दा दैनिक संक्रमित संख्यामा थोरै मात्रामा बढिरहेको छ”, डा. पौडेल भन्छन्। तर अहिलेभन्दा पनि केही दिनपछि भने अलि बढी मात्रामा संक्रमित संख्यामा वृद्धि हुन सक्ने उनले बताए।

जनस्वाथ्यविद् बाबुराम मरासिनीका अनुसार अहिले परीक्षण कम भएकाले मात्र संक्रमित संख्यामा केही कमी देखिएको हो। ‘‘पहिले जस्तै २० हजारको हाराहारीमा परीक्षण गरियो भने संक्रमित संख्या बढ्न सक्छ, टेस्ट कम भएकाले संख्या पनि कम भएको हो”, उनले भने।

सरकारले कन्ट्याक ट्रेसिङ नगर्नु र दशैं तिहार जस्ता ठूला पर्वहरु परेकाले पनि परीक्षण कम भएको मरासिनी बताउँछन्। दशैंपछि संक्रमित संख्या जसरी बढेको देखिएको छ, त्यसरी नै तिहारपछि ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ।

मरासिनीका अनुसार नेपाल अझै पनि कोरोना संक्रमणको हिसाबले उच्च जोखिममा नै छ। जनसंख्याको ८० प्रतिशतभन्दा बढीले कोभिडविरुद्धको खोप नलगाएसम्म उच्च जोखिम कायमै रहने उनी बताउँछन्।

‘‘कोभिडको अणुवांशिक परिवर्तन भएर भाइरस आक्रमक भयो भने अझै खतरा बढ्ने भएकाले सरकराले छिटो-छिटो सबैलाई खोप दिनु पर्छ”, मरासिनी भन्छन्, ‘‘उच्च तहमा भएका व्यक्तिले नै कोभिडलाई गम्भीर तरीकाले नलिएर मास्क नलगाएर सभा, जुलुस, गोष्ठी र भीडभाड गरेको देखियो।”

जिम्मेवार व्यक्तिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमण दर घट्नुको साटो बढ्दै गइरहेको मरासिनीको भनाइ छ। संक्रमणलाई अझै कम गर्नका लागि हरेक नागरिकले स्वास्थ्यको मापदण्ड पालना गरेर आफ्नो दायित्व पूरा गर्नु पर्ने उनले बताए।

नेपालमा डेल्टा प्लस भेरिएन्टको जोखिम कति ?
केही देशहरुमा डेल्टा प्लस भेरिएन्ट देखिइरहेको समाचार आइरहेको छ। नेपालमा पनि केही समय पहिला दुई तीन जनामा डेल्टा प्लस भेरिएन्ट देखिए पनि त्यसपछि भने नदेखिएकाले नेपालमा डेल्टा भेरिएन्ट नै कायम रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए।

नयाँ भेरिएन्ट नफैलियोस् भन्नका लागि सरकारले पहिलेदेखि नै तयारी गर्दै आइरहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.पौडेलले बताए। पौडेल भन्छन्, ‘‘नाकामा एन्टिजेन टेस्ट भइरहेको छ। हवाइमार्गबाट भित्रनेहरुको अनिवार्य रुपमा पीसीआर टेस्ट गरिने र पोजेटिभ आएकाहरुको जिन सिक्वेन्सिङमा पठाइने गरिएको छ।”

हवाइमार्गबाट आएकाहरुलाई सात दिनसम्म क्वारेन्टाइनमा बसाल्ने र पीसीआर गराएर नेगेटिभ आएहरुलाई मात्र घर पठाइने गरेको पौडेलले बताए।

करीब एक महीना पहिला कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन अणुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षण टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा शुरु गरिएको थियो।

एक महिनाको फरकमा यो परीक्षण गरिने भएकाले अबको केही दिनमा मात्र नेपालमा कुन भाइरस फैलिइरहेको छ भनेर थाहा पाउन सकिने प्रयोगशालाकी निर्देशक डा.रुना झाले बताइन्।

झाका अनुसार नतिजा नआउँदासम्म पुरानै नतिजालाई आधार मानेर हेर्दा नेपालमा हाल डेल्टा भेरिएन्ट नै सक्रिय भइरहेको भन्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved