राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौँ : एमाले अध्यक्ष ओली

राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौँ : एमाले अध्यक्ष ओली
फाइल फोटो

बिर्तामोड। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सबैभन्दा ठुलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताएका छन्। आइतबार नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा गरेको पार्टी प्रवेश कार्यक्रममा उनले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित र संवर्द्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि अनैतिक सम्झौता नगर्ने बताए।

ओलीले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने र समृद्ध नेपाल सुखी नेपाली बनाउने काममा एमाले एक ढिक्का भएर लाग्ने बताए। अध्यक्ष ओलीले भने, “राष्ट्रिय हितको संरक्षण र संवर्द्धन गर्ने कुरामा नेकपा एमालेले अनुचित सम्झौता गर्दैन, जहिल्यै नेपाली र राष्ट्रको शिर माथि उठाउने काममा प्रतिबद्ध रहन्छ।”

उनले आजै नेपाली कांग्रेस र माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी आएका पाँच हजारभन्दा बढी कार्यकर्तालाई पार्टीमा स्वागत गरे। अध्यक्ष ओलीले नेकपा एमालेले छ हजार ७४३ वटा वडाको अधिवेशन शनिबार सम्पन्न गरिसकेको बताउँदै आगामी कात्तिक ९ गते ७५३ पालिकाको अधिवेशन एकै दिन पार्टीले गर्न लागेको जानकारी दिए। उनले एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकै दिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने जिकिर गरे।

कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा पार्टीका संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले देशभर अन्य पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताउँदै भने, “अरू पार्टीमा भुईँचालोको परकम्प गए झैँ भएको छ। एमालेमा सुमधुर सङ्गीतको जस्तो आवाज देशभरबाट उर्लिएर पार्टी प्रवेशको लहर चलेको छ।”

पार्टी नेता लेखराज भट्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन प्रतिबद्ध रहेको बताउँदै नवप्रवेशीहरुलाई एमाले प्रवेश गरेकामा पछुताउनु नपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved