“सत्तामा ढलिमली गर्न नपाएपछि ओलीले गठबन्धनलाई प्रतिगमन देखे”

नेपालभ्युज

“सत्तामा ढलिमली गर्न नपाएपछि ओलीले गठबन्धनलाई प्रतिगमन देखे”
फाइल फोटो

काठमाडौं। नेकपा एमाले पार्टीको वडा सम्मेलनको उद्घाटनका क्रममा आज (शनिबार) भर्चुअलमार्फत एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई प्रतिगमनको संज्ञा नै दिए। गठबन्धन परिवर्तनका साथै देशलाई अस्थिरतातर्फ धकेल्ने र अग्रमनतर्फ जान नदिएको आरोप उनले लगाए। साथै उनले अबको चुनावमा एमालले बहुमत ल्याउने दाबी गरेका थिए।

ओलीले दिएको अभिव्यक्तिप्रति भने सत्तागठबन्धनमा रहेका दलहरूले आपत्ति जनाएका छन्। नेपालभ्यूजसँग कुरा गर्दै उनीहरूले ओलीको अभिव्यक्ति, शाशनबाट हट्नु परेको आक्रोशको संज्ञा दिएका छन्।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ओलीले प्रतिगनमको परिभाषा नै थाहा नपाएको बताए। उनले भने, “जसले संसदलाई जोगाएर, संसदमार्फत देशलाई बाटोतर्फ लैजान्छ त्यो अग्रमन हो, या जनताले निर्वाचित गरेको संसदलाई विघटन गरेर अगाडि जानु चै अग्रमन हो? त्यो उनले यो बुझे भने प्रतिगमनको परिभाषा बुझ्नुहोला।”

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले संविधान, संसद, संघीयता र समावेशीता प्राणालीलाई सिध्याउन लागेका ओलीको कदमलाई रोकेको तर ओलीलाई सोही कदम प्रतिगमन भएको टिप्पणी गरे। भने, “संसद, संविधान, संघीयता, समावेशी प्राणालीलाई सिध्याउने काम ओलीले गरे, त्यो कामलाई हामीले रोक्यौं, ओलीको शासन काल भ्रष्टचारको दल दलमा चुर्लुम्म डुबेको थियो।”

ओलीको कार्यकाल भ्रष्टाचारमा डुबेको र संविधान, संघीयता र संसदको रक्षा गर्न आफूहरू उभिएको पाण्डेको दाबी थियो। “त्यही उभिएको कुरा उनलाई प्रतिगमन भयो। उनको प्रतिगमन भनेको त्यही हो। उनी बस्न पाएनन् शासनमा। बालुवाटारमा बसेर ढलिमली गर्न पाएनन्। संसदलाई पटक पटक निमठेर सिध्याउन खोजको थिए, अब फेरि निमठूला भन्ने थियो। त्यही काम गर्न नपाएको हुँदा उनलाई प्रतिगमन लागेको हो,” पाण्डेले बताए।

पाँचदलीय गठबन्धन प्रतिगमनका लागि नभई अग्रमनका लागि भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बताए। “यो गठबन्धन प्रतिगमनविरुद्ध हो, प्रतिगमनका लागि होइन,” उनले भने, “प्रतिगमनविरुद्ध, संविधान राष्ट्रिय स्वाधीनता रक्षाका लागि बनेको हो गठबन्धन।”

के पाँचदलीय गठबन्धनले प्रतिगमनकै नेतृत्व गरेको छ त?

एमाले अध्यक्ष ओल‍ीले भनेझैं के अहिले पाँचदलीय गठबन्धनले प्रतिगमनको नेतृत्व नै गरेको छ त ? राजनीतिक विश्लेषक झलक सुवेदी भने ओलीले केवल सत्तामा हुँदा आफूले गरेका कामको औचित्य पुष्टि गर्न दिएको अभिव्यक्ति मात्र भएको बताउँछन्। भन्छन्, “ओलीले आफ्नो सत्ता र संसद विघटन गरेका थिए, त्यसको औचित्य पुष्टि गर्नका लागि मात्र हो।”

ओलीले सरकारको नेतृत्व गर्दा दुई पटक संसद विघटन गर्दै नयाँ जनादेशका लागि भन्दै निर्वाचन घोषणा गरेका थिए। ओलीले संसद विघटन गरेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसको विपक्षमा उभिएका थिए।

ओलीको कदमको विपक्षमा उभिएका दलहरूले अन्तत गठबन्धन बनाएर नै ओली नेतृत्वको सरकारलाई विस्थापित गरेका थिए। सरकार परिवर्तन गरेसँगै गठबन्धनले संविधान र संसदको रक्षाको लागि गठबन्धन बनेको बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved