दुई मौसम प्रणाली एकैसाथ सक्रिय, सुदूरपश्चिम नराम्री प्रभावित

मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन्। हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

दुई मौसम प्रणाली एकैसाथ सक्रिय, सुदूरपश्चिम नराम्री प्रभावित

काठमाडौं। नेपालबाट मनसुन बाहिरिएलगत्तै ठूलो वर्षा हुन्छ भन्ने सायदै अनुमान गरिएको थियो। एक्कासि मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज (मंगलबार) नराम्ररी प्रभावित हुन पुगेको छ।

खास कारण के हो त भनेर सोधिएको जिज्ञासामा मौसमविद्ले दुई वटा प्रणाली एकैसाथ सक्रिय हुँदा भारी वर्षा भएको बताएका छन्। हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

त्यसैले भारी वर्षा गराएको वरिष्ठ मौसमविद् राजु प्रधानांगले बताए। यसले बिहीबार बिहानसम्मै प्रभाव पार्ने उनको भनाइ छ। बिहीबार दिउँसोबाट भने मौसम खुल्दै जानेछ। यो प्रणाली असोज ३१ बाटै सक्रिय भएको थियो। मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन नै सार्वजनिक गरेर सतर्क गराएको थियो।

दुई वटा प्रणाली सक्रिय हुँदा पश्चिम नेपाल (विशेष गरी सुदूरपश्चिम प्रदेश) नराम्ररी प्रभावित भएको छ। नेपालका विभिन्न क्षेत्रमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण प्रभावितको उद्धार तथा राहतमा मुलुककै ध्यान केन्द्रित भएको छ।

यकिन विवरण आइनसके पनि विभिन्न १२ भन्दा बढी जिल्लालाई प्रत्यक्ष प्रभाव पारेको छ। डोटीमा दुई र डडेलधुरा तथा कालिकोटमा एक/एक गरी चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षाका कारण कालिकोट, डडेलधुरा, बझाङ, गुल्मी, प्युठान, अछाम, डोटी, पाल्पा, कञ्चनपुर, दैलेख र बर्दियामा बढी प्रभाव परेको छ।

यसैगरी बझाङमा आज बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्। अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी बझाङको थलारा गाउँपालिका-४ डिख्लामा २३ जना बेपत्ता भएका स्थानीयले बताएका छन्। “त्यस ठाउँमा पहिरोले ७ घर बगेको जानकारी प्राप्त भएको छ। गाउँ नै विस्थापित भएको छ,” स्थानीय मदन साउदले बताए।

मुख्यगरी सेती, महाकाली, कर्णाली, पश्चिम राप्तीलगायत ठूला तथा त्यसका सहायक नदीमा बाढीको बहाव उच्च रहेको छ।

प्राप्त विवरणअनुसार बेनी–मुस्ताङ, डोटीको भीमदत्त राजमार्ग, अछामको चौखुट्टे–अछाम–बाजुरा सडकखण्ड, बझाङको जयपृथ्वी राजमार्ग, बाजुराको मार्तडी–कोल्टी र साँफे–मार्तडी सडक बाढी पहिरोका कारण अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ।

यसअघि डुबानमा परेका कञ्चनपुरका २०० प्रभावितलाई भने सुरक्षाकर्मी र स्थानीय प्रशासनको पहलमा उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। ठाउँठाउँमा फसेकालाई अहिले पनि जिल्लास्तरबाट उद्धार कार्य जारी रहेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए।

खराब मौसमका कारण विभिन्न पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकसमेत प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा कति ठाउँका पर्यटक फर्कन नसकेको बताइएको छ। प्रहरी प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुदुरपश्चिमका अधिकांश सडक अवरुद्ध भएको जानकारी दिए। प्रतिकूल मौसमका कारण हवाई उडानसमेत प्रभावित हुन पुगेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भूभागमा सामान्य बदली रही देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ। प्रदेश १ र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा भएको छ।

बुधबार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रधानांगले बताए। यसपटक मनसुनमा धेरै वर्षा भएको थियो। पोष्ट मनसुनमा समेत ठूलो वर्षा भयो। वर्षाले सुदूरपश्चिम क्षेत्रलगायत विभिन्न ठाउँलाई प्रभावित पारेपछि राहत तथा उद्धार व्यवस्थापनमा लाग्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन गरिसक्नुभएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले पनि मातहतका निकायलाई उद्धार तथा राहतका कार्यमा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारी र प्रशासनलाई निर्देशन दिइसकेका छन्। उद्धारमा सेनाको हेलिकप्टर पठाइयो

दुई हेलिकप्टरले उद्धारको प्रयास थाले पनि मौसम प्रतिकूल हुँदा उद्धार गर्न नसकेको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिए।

कञ्चनपुरमा सेनाको हेलिकप्टरबाट उद्धार गर्न गएको हेलिकप्टर अवतरण गर्न नसकेपछि अहिले धनगढीमा बसिरहेको छ। मौसम अनुकूल हुने बित्तिकै हेलिकप्टर जाने पाण्डेले बताए। उनका अनुसार महाकाली नदीको बगरमा फसेकाको उद्धार गर्ने प्रयास भइरहेको र बैतडी क्षेत्रमा उद्धारका लागिसमेत काठमाडौँबाट हेलिकप्टर पठाइएको जानकारी दिए।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले उद्धार गर्न गएको सानो हेलिकप्टर मौसम खराबीका कारण अहिले धनगढीमा बसेको र काठमाडौँबाट पठाइएको ठूलो हेलिकप्टर पनि खराम मौसमका कारण सुर्खेतमा गएर बसेकाले मौसम अनुकूल हुने बित्तिकै उद्धारमा परिचालन हुने जानकारी दिए। जमिनबाट गएका फौजले भने उद्धारको काम गरिरहेको उनले जानकारी दिए। सँगसँगै सशस्त्र र नेपाल प्रहरीसमेत उद्धारमा परिचालित छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved