बझाङमा पहिरो : एकै घरका १८ सहित २३ जना बेपत्ता, ७ घर बगे

नेपालभ्युज

बझाङमा पहिरो : एकै घरका १८ सहित २३ जना बेपत्ता, ७ घर बगे

काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी बझाङको थलारा गाउँपालिका-४ डिख्लामा २३ जना बेपत्ता भएका स्थानीयले बताएका छन्। त्यस ठाउँमा “पहिरोले ७ घर बगेको जानकारी प्राप्त भएको छ। गाउँ नै विस्थापित भएको छ,” स्थानीय मदन साउदले बताए।

बझाङका सहायक प्रमुख जिल्ला अधिकारीले भने आफू जिल्लाबाहिर भएको र यसबारे पुष्टि गर्न गाह्रो भइरहेको नेपालभ्यूजलाई बताए। उक्त क्षेत्रमा कति मानिस बेपत्ता भए त्यसबारे एकिन जानकारी प्राप्त भइसकेको छैन।

यद्यपि मंगलबार बिहान ४ बजे गएको पहिरोमा परी २३ जना बेपत्ता भएका स्थानीय जयपृथ्वी एफएमका सञ्चालक प्रताव ओलीले जानकारी दिए। गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका उनले बताए।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका उनले जनाए। गगने सार्की रोजगारीका लागि भारतमा भएका र उनका माइला छोरा काले सार्की मात्र सकुशल रहेका उनले जानकारी दिए।

बझाङमा अहिले सूचना तथा सञ्चार विच्छेद भएको छ।

सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत् र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ। लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्कविच्छेद भएको प्रहरीले जनाएको छ।

सञ्चार सम्पर्कविच्छेद हुुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए।

विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ। नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकै कारण नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूणर् रुपमा अवरुद्ध भएको जानकारी दिए।

केही दिनयता सुदूरपश्चिम भेगमा अविरल वर्षासँगै बाढी पहिरो गइरहेको छ। अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ।

आजै बिहान बाहुली खोलामा आएको बाढीले बाढीले बाहुली खोलामा आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved