एक सय ९२ वर्षपछि भेटियो काठमाडौंमा पानी गौथली

यसअघि सन् १८२९मा बेलायतका ब्रायन हड्सनले नेपालका पन्छीबारे अध्ययन गर्दा उपत्यकामा पानी गौथली अभिलेख थियो।

एक सय ९२ वर्षपछि भेटियो काठमाडौंमा पानी गौथली
गत २३ असोजमा भक्तपुरको मनोहरामा भेटिएको पानी गौथली, तस्वीर: सञ्जय था श्रेष्ठ

काठमाडौं। काठमाडौं उपत्यकामा करीब दुई सय वर्षपछि सानो पानी गौथली फेला परेको छ। भक्तपुरको मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि अर्धवयस्क पानी गौथली भेटिएको हो।

सयौंको समूहमा रम्ने यो पन्छी मनोहरामा एक्लो भेटिएको हो। वन्यजन्तु फोटोग्राफर सञ्जय था श्रेष्ठले २३ असोजमा यो पन्छी फेला पारेका हुन्। “पन्छीको अन्तर्राष्ट्रिय बसाइँसराइ दिवस पारेर साथी सुगम ताम्राकारसँग ‘वर्ड वाचिङ’का लागि मनोहरा गएका थियौँ, शनिबार विहान ९ बजे यो चरा भेटियो”, श्रेष्ठले नेपालभ्यूजसँग भने।
पन्छीविद्हरू डा. हेमसागर बराल र क्यारोल इन्सकीपले पुराना अभिलेख परीक्षण गर्दा एक सय ९२ वर्षपछि उपत्यकामा पुनः पानी गौथली भेटिएको प्रमाणित भएको हो। बेलायतकी इन्सकीप पाँच दशक भन्दा अघिदेखि नेपालका पन्छीको खोज अनुसन्धानमा जुटेकी छन्।

यसअघि सन् १८२९मा बेलायतका ब्रायन हड्सनले नेपालका पन्छीबारे अध्ययन गर्दा उपत्यकामा पानी गौथली अभिलेख थियो। जीव विज्ञान र बुद्धधर्मको अन्वेषणमा रुचि राख्ने हड्सन भीमसेन थापा प्रधानमन्त्री छँदा बेलायतको तर्फबाट नेपालमा कूटनीतिज्ञका रुपमा कार्यरत थिए।

पानी गौथली तराईको रैथाने पन्छी हो। सयौं र हजारौंको झुण्डमा रहने यो गौथलीको समूह नेपालका सप्तकोशी, नारायणी, महाकाली, कर्णाली नदी र यी नदीका ठूला सहायक नदीमा भेटिन्छ।

पन्छीविद् डा. बरालका अनुसार पानी गौथली सिमसारमा आश्रित पानी चरा हो। “उड्दा अन्य गौथली जस्तै देखिने र अकाशमै उडेरै किरा, फट्याङ्ग्रा खाने स्वभावको हुन्छ”, उनले भने, “मनोहरा सानो ठाउँ भएकाले पानी गौथलीको स्वभावका हिसाबले उसले बासस्थान यतै रोजेको भने होइन।”

नेपालमा पानी गौथली दुई प्रकारका अभिलेख भएका छन्। अहिलेसम्म ठूलो र सानो पानी गौथली भेटिएका छन्। यसअघि गत ८ असारमा भक्तपुरको मनोहरामै ३८ वर्षपछि ठूलो पानी गौथली भेटिएको थियो। ८ असारमा वन्यजन्तु फोटोग्राफरद्धय सञ्जय था श्रेष्ठ र शेर्पा फ्रेन्च पेम्बाले बच्चा कोरल्दै गरेको अवस्थामा भालेपोथी भेटेका थिए।

गर्मीयामको आगन्तुक ठूलो पानी गौथलीले नेपालमा बच्चा कोरेलेको घटनालाई पन्छीविद्हरूले पहिलो र दुर्लभ संयोग मानेका छन्। पन्छीविद् बरालका अनुसार नेपालमा २१ प्रजातीका अन्य गौथली भेटिएका छन्।


Comment

One thought on “एक सय ९२ वर्षपछि भेटियो काठमाडौंमा पानी गौथली

  1. संजय जी तपाईको काम ज्यादै महत्वपूर्ण छ । मैले बाड्ने भए तपाईलाई यती धेरै काम गरे वापत सुनको मेडल प्रदान गर्थे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved