काठमाडौं। चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिग (ईपीयल) क्रिकेटको उपाधि जितेको छ। फाइनल खेलमा पोखरा राईनोजलाई सजिलै चार विकेटले पराजित गर्दै चितवनले चौँथो संस्करणको ईपीयलको उपाधि उचालेको हो।
उपाधिसँगै चितवनले ५० लाख नगद पुरस्कार प्राप्त गर्दा उपविजेता पोखराले १५ लाख रुपैयाँ पायो। दुवै पहिलो पटक ईपीयलको फाइनलमा पुगेका टिम हुन्।

यसपटकको लिगमा पोखराविरुद्ध चितवनको यो लगातार तेस्रो जित हो। पोखराले चितवनसँग अघिल्ला दुई हारको बदला लिन सकेन।
शनिबार टियू खेल मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा पोखराले निकै खराब प्रदर्शन गरेको थियो। टस हारेर ब्याटिङ गरेको पोखराले चितवनलाई मात्र १ सय १२ रनको सहज लक्ष्य दिन सक्यो। चितवनले जुन लक्ष्य मात्र ६ विकेटको नोक्सानीमा १६ औँ ओभरमै पूरा गर्यो।

१ सय १२ रनको सामान्य लक्ष्य पच्छ्याएको चितवनले पनि शुरुआत भने निकै खराब गर्यो। इनिङको दोस्रो बलमा नै ओपनर हसिम अन्सारी डक आउट भए। अर्को ओभरमा करिम जन्नत पनि किशोर महतोको बलमा शून्य रनमै क्याच आउट भए।

चौँथो ओभरमा किशोरले चितवनका अफगानी ब्याट्सम्यान मोहम्मद सहेजादलाई पनि आउट गरेपछि सजिलो लक्ष्य पूरा गर्न समेत चितवनलाई हम्मे हम्मे पर्यो। चौँथो ओभरको खेल सकिँदासम्म मात्र २० रनमा चितवनको तीन विकेट खसिसकेको थियो।
तर यसपछि भीम सार्की र दिलिप नाथले चितवनको इनिङलाई जोगाए। यी दुईले चौँथो विकेटको लागि ५४ रनको साझेदारी गरे। भीमले सम्हालिएर ४५ बलमा ७ चौका र २ छक्काको मद्दतले ६३ रनको योगदान दिँदै चितवनको जित सुनिश्चित गरेका थिए।
यस्तै दिलिप नाथले १८ र राजेश पुलामी मगरले १४ रनको योगदान गरे।

लिग चरण र क्वालिफायरमा पनि पोखराविरुद्धका दुवै खेलमा चितवनले पछि ब्याटिङ गर्दै जित हात पारेको थियो।
पोखरालाई पूरै दबाबमा राख्दै चितवनले दुवै खेल ९ विकेटले नै जितेको थियो। त्यसैले शनिबारको उपाधि भिडन्तमा पनि चितवनले ‘टार्गेट चेज’ गर्ने लक्ष्य राख्दा पोखराले पहिले ब्याटिङ गर्यो।

पहिलो ओभरमा पोखराले एक रन मात्र जोड्यो। दोस्रो ओभरमा तीन चौका हान्दै रिचार्ड लेभीले पोखराको राम्रो शुरुआतको संकेत दिएका थिए। तर शुरुदेखि नै आवश्यकताभन्दा बढी आक्रामक पोखराको इनिङ धरापमा पर्यो। कुनैबेला ३.२ ओभरमा बिना विकेटको नोक्सानी ३७ रन जोडेको पोखराले धेरै लोभ गर्दा ६ ओभरको पावरप्ले सक्दासम्म ४३ रनमा तीन विकेट गुमायो।

तेस्रो ओभरदेखि लगातार तीन ओभरमा पोखराको तीन विकेट गयो। दक्षिण अफ्रिकी ओपनर रिचार्ड लेभीलाई चौँथो ओभरमा करिम जन्नतले आउट गरे। लेभी १५ बलमा २६ रनमा आउट भए भने त्यसपछि लगतै रित गौतम पनि मात्र दुई रनमा आउट भए।
अर्को ओभरमा श्रीलंकन खेलाडी सहन आराच्चिगेलाई दुई रनमै चितवनका कप्तान सोमपाल कामी आउट गरे। यसपछि नौऔँ ओभरमा अर्का ओपनर बिपिन रावल देखिएकोमा उनी १७ रनमा पेभोलियन फर्किदा पोखरा ५९/४ को अवस्थामा पुगेको थियो।
संकटमा परेको पोखरालाई श्रीलंकन ब्याट्सम्यान असेला गुनरत्नले सम्हाल्ने प्रयास गरेका थिए। तर चौधौँ ओभरमा उनी पनि २४ बलमा ३४ रन जोड्दै अर्का श्रीलंक बलर सेकुगे प्रसन्नको बलमा क्याच आउट भए।

खेलमा पोखराका कुनैपनि ब्याट्सम्यानले गतिलो अंक जोड्न सकेनन्। यो लिगमा अघिल्ला दुई खेलमा जस्तै चितवनको बलिङसामू पोखरा निरीह देखियो। फाइनलमा पोखराले प्रतिस्पर्धात्मक रन समेत बनाउन सकेन। कप्तान विनोद भण्डारीले पनि मात्र २२ रन जोड्न सके।
पोखराका विवेक यादव चार र विक्रम सोब एक रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव डक आउट भए। पोखराका सात ब्याट्सम्यान दोहोरो रन संख्या नछुँदै पेभोलियन फर्केका थिए।
बलिङतर्फ कमल ऐरीले ३.५ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट लिए। त्यसैगरी करिम जन्नत र सेकुगे प्रसन्नले दुई/दुई विकेट झारेका थिए।

यसअघि पोखराले प्रतियोगिताको लिग चरणमा एक खेल मात्र हारेको चितवनसँग नै हो भने पहिलो क्वालिफायरमा पनि पोखरा चितवनसँग नै पराजित भएको थियो। पोखरालाई पूरै दबाबमा राख्दै चितवनले यी दुवै खेल ९ विकेटले नै जितेको थियो।
लिगको खेलमा पहिले ब्याटिङ गरेको पोखरा २० ओभरमा मात्र १ सय २३ रनमा समेटिँदा चितवनले लक्ष्य २० बल खेल्नु अगाडि नै मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो।
त्यसैगरी पहिलो क्वालिफायरमा पनि चितवनका बलरहरु चम्किँदा पोखरा १५ ओभरमा ६६ रनमा नै अलआउट भयो। जुन ईपीयल इतिहासकै सबैभन्दा कम स्कोर थियो। चितवनले त्यो लक्ष्य मात्र आठौँ ओभरमा केबल एक विकटको नोक्सानीमा पूरा गरेको थियो।

नेपालको सबैभन्दा ठूलो फ्रेन्चाइज लिगको रुपमा स्थापित ईपीयलको सन् २०१७ को ईपीयलमा चितवन टाइगर्सले लिगको पुच्छारमा रहँदै खेल सकेको थियो। लिग चरणका पाँच खेलमा मात्र एक खेल जितेको चितवनले मात्र दुई अंक जोड्दै खराब नतिजा छाडेको थियो।
यसपछि सन् २०१८ को पछिल्लो ईपीयलमा चितवन एलिमिनेटर सम्म पुगेपनि माथिल्लो चरणमा भने उक्लन सकेन। एलिमिनेटरमा चितवनलाई भैरहवाले चार विकेटले हराएको थियो।

तस्वीर: गोपेन राई/नेपालभ्यूज