काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरूको गठबन्धनको संज्ञा दिएका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले सत्ता गठबन्धन चुनावमा जान डराएको पनि आरोप लगाए। संसद् औचित्यहीन भएकाले तत्काल निर्वाचनमा जानुपर्ने आफूहरूको माग भएको उनको भनाइ छ।
रायमाझीले आफ्नो पार्टीले उठाएका माग पूरा नभएसम्म संसद् अवरुद्ध कायमै रहने पनि अडान राखे। एमसीसीबारे सरकारले आफ्नो पोजिसन क्लियर गरेपछि मात्रै आफूहरूको धारणा आउने उनले बताए।
एमाले र माओवादी केन्द्रबीच हतारमा एकता गरिएको भन्दै उनले गुनासो पोखे। नेकपा हुँदा सहमतिमै पार्टीको अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाइएको र तीन वर्षसम्म सबै ठीकठाक चलेको उनले बताए।
संविधानको पालना नहुने अवस्था आएपछि संसद् विघटन गरेर नयाँ ताजा जनादेशमा जाने कुरा संविधानको रक्षा भएकोले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेको पनि उनले जिकिर गरे।