‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको हस्तक्षेप देखियो’

अध्ययन प्रतिवेदन भन्छ, "नेपालमा एक तिहाइ सुर्तीको लतमा छन्"

नेपालभ्युज

‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको हस्तक्षेप देखियो’

काठमाडौं । उद्योगीको निरन्तर हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भई जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ।

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्तीमाथि लगाइने कर दक्षिण एशियामै सबैभन्दा कमजोर रहेको देखिएको छ।

सुर्ती उद्यमीले सामाजिक उत्तरदायित्वको नाममा गरिने प्रायोजन र विभिन्न उच्च पदस्थ व्यक्तिलाई नदेखिने तवरले गरिने प्रायोजनका कारण यसको नियन्त्रण हुन नसकेको देखिएको हो।

सार्वजनिक स्थलमा धुम्रपान गर्ने र विद्यालयको १०० मिटर वरपर सुर्तीको बिक्री वितरण गर्न रोक लगाउने कानुन कार्यान्वयन फितलो हुनुको कारण सुर्ती उद्यमी व्यवसायीकै अप्रत्यक्ष हात रहेको देखिएको अध्ययनकर्ता एवं प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका महासचिव शान्तलाल मुल्मीले बताए।

बिहीबार (आज) प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहले बालबालिका र महिलाहरूले समेत सुर्ती सेवन गर्ने गरेको अध्ययनमा समावेश भएको बताइन्।

त्यसैले नीतिगत व्यवस्थालाई अझ कडाइ गर्न आफूले पहल गर्ने सलोनीले बताइन्।

नेपालमा एक तिहाई सुर्तीजन्य पदार्थको लतमा

विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा राजेश सम्वाजिराओ पाण्डवले नेपालमा तीन जनामा एक जनाले अर्थात् एक तिहाइ जनताले सुर्तीजन्य पदार्थको लतमा रहेका र त्यसमा पनि ५० प्रतिशत पुरुषले सुर्ती सेवन गर्ने गरेको डरलाग्दो तथ्यांक रहेको जानकारी दिए।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को १ दशमलव ८ प्रतिशत सुर्ती सेवनमा खर्च हुने गरेको पनि बताए। बर्सेनि २५ हजार मानिस सुर्तीकै कारण मर्ने गरेका र सुर्तीकै कारण नसर्ने रोग लागेकाको, मृत्यु सरदर आयुभन्दा अगावै मर्ने गरेको पनि उनले जानकारी दिए।

सुर्तीमा करवृद्धि गरी निरुत्साहन पार्नुपर्ने, सुर्तीरहित क्षेत्र घोषणा र सबै किसिमका सुर्ती प्रचार, प्रवर्द्धनलाई निरुत्साहित पार्न सरकारलाई सुझाव पनि दिएका थिए।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका निर्देशक सुनिलराज शर्माले सुर्तीमा कर वृद्धि गर्न सरकारलाई आफूहरूले पनि घच्घच्याइरहेको बताए। सुर्तीरहित क्षेत्रका लागि प्रयास जारी रहेको पनि उनले जानकारी दिए।

उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले सुर्ती नियन्त्रणका लागि समयसान्दर्भिक रूपमा कानुनको परिमार्जन आवश्यक रहेकाले सात ओटा विषयमा संशोधनका लागि पहल भइरहेको बताए।

दैनिक ७३ जनाको ज्यान लिने सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा उद्यमीको हस्तक्षेपकै कारण अहिलेसम्म सुर्ती नियन्त्रण तथा नियमन ऐन २०६७ र नियमावलीमा भएको ९० प्रतिशत स्वास्थ्य चेतावनीअंकित चित्र सुर्तीको बट्टामा राख्ने प्रावधान कार्यान्वयन हुन नसकेको पनि बताइएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारीले जिल्लास्तरमा र स्थानीय तहका कार्यकारी अधिकृतले सुर्ती नियन्त्रणका लागि गर्नुपर्ने अनुगमन झारा टार्ने तवरले वर्षको १ घण्टामात्र गर्नुमा पनि सुर्ती उद्योगीकै प्रभाव र दबाब देखिएको प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रका महासचिव शान्तलाल मुल्मीले बताए।

अध्ययन प्रतिवेदनसम्बन्धी प्रेस वक्तव्य जारी गर्दै अध्ययनकर्ता मुल्मीले अस्पतालको छेउछाउमा समेत चुरोट बिक्री वितरण र सेवन भइरहेको, सहायक प्रमुख जिल्ला अधिकारीले वार्षिक प्रतिवेदन बनाउन र बजेट सकाउनका लागि मात्र सुर्ती नियन्त्रणको अनुगमन गर्ने गरेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved