फेसबुकबाट प्रजातन्त्रमाथि खतरा !

‘‘कम्पनीको नेतृत्वलाई फेसबुक र इन्स्टाग्राम कसरी सुरक्षित बनाउने थाहा छ। तर उनीहरु त्यस्तो गर्दैनन्। मानिसभन्दा उनीहरुले आफ्नो नाफा देखेका छन्’’, हुगेनले भनिन्।

नेपालभ्युज

फेसबुकबाट प्रजातन्त्रमाथि खतरा !

एजेन्सी। समाजिक सञ्जाल फेसबुककी एक पूर्व कर्मचारीले मंगलबार अमेरिकी सिनेटको वित्तीय उपसमितिमा भएको सुनुवाइका क्रममा कम्पनीको लक्ष्यले ‘बालबच्चा, शेयर बजार र प्रजातन्त्र’ माथि नै असर पुर्‍याएको आरोप लगाएकी छन्।

३७ वर्षीय फ्रान्सिस हुगेन फेसबुक कम्पनीबाट अलग भएसँगै कम्पनीको आलोचक बनेकी छन्। उनले अमेरिकाको क्यापिटल हिलमा भएको सुनुवाइका क्रममा आफ्नो पूर्व कम्पनीको आलोचना गरेकी हुन्।

यद्यपी, फेसबुकले भने आफ्नो पूर्व कर्मचारीले आफूलाई थाहा नै नभएको विषयमा बोलेको बताएको छ। समाजिक सञ्जाल फेसबुकको विश्वभर आलोचना भई त्यसको नियमनका विषयमा प्रश्न उठिरहेका बेला पूर्व कर्मचारी हुगेनले यस्तो आरोप लगाएकी हुन्।

फेसबुक अहिले विश्वकै लोकप्रिय समाजिक सञ्जाल हो। प्रतिमहीना २ दशमलव ७ बिलियन सक्रिय प्रयोकर्ताले सञ्जालको प्रयोग गर्ने कम्पनीको दाबी छ। यस्तै सयौँ मिलियन मानिसहरुले कम्पनीको अन्य एप जस्तै इन्स्टाग्राम र ह्वाट्सएप प्रयोग गर्ने कम्पनी बताउँछ।

कम्पनीले पछिल्लो समय प्रयोगकर्ताको गोप्यता कायम गर्न नसकेको भन्दै आलोचना खेपिरहेको छ। यस्तै सञ्जालमार्फत गलत सूचना प्रवाह हुँदा समेत त्यसलाई रोक्न कम्पनीले उपयुक्त कदम नचालेको भन्दै आलोचित भएको पाइन्छ।

अमेरिकी सदनका दुवै पार्टी रिपब्लिकन र डेमोक्र्याट्सका सिनेटरले फेसबुकमा परिर्वतनको आवश्यकता रहेको औँल्याएका थिए। अमेरिकी सदनमा दुवै पार्टीका नेता एक विषयमा सहमत हुने अवस्था कमै मात्रै आउँछ।

सिनेटको वित्तीय उपसमितिमा भएको सुनुवाइ र हुगेनले दिएको जवाफका विषयमा आफ्नो धारणा राख्दै फेसबुकले भने आफ्नो पूर्व कर्मचारीको दाबी गलत भएको प्रतिक्रिया दिएको छ। यद्यपी, कम्पनीले इन्टरनेट प्रयोगकर्ता माझ नयाँ मापदण्ड ल्याउनुपर्ने विषयमा भने आफू समहत भएको बताएको छ।

‘इन्टरनेट प्रयोगको नियम अद्यावधिक भएको २५ वर्ष पुगेको छ। कम्पनीले समाजलाई आवश्यक पर्ने नियम बनाउने अपेक्षा गर्नुको सट्टा अमेरिकी सदनले त्यस विषयमा कदम चाल्नुपर्छ’, कम्पनीले जारी गरेको वक्तव्यमा बताइएको छ।

फेसबुककी पूर्व कर्मचारी हुगेनले आफूले कम्पनी सम्बन्धी कैयौँ कगजपत्र वाल स्ट्रिट जर्नललाई दिएको बताएकी छन्। उक्त कागजपत्रका आधारमा वाल स्ट्रिट जर्नलले गरेको एक अनुसन्धानमा इन्स्टाग्रामले बालिकाहरुको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने पाइएको थियो।

वित्तीय उपसमितिमा भएको सुनुवाइमा हुगेनले यही विषय उल्लेख गरेकी थिइन्। ‘‘कम्पनीको नेतृत्वलाई फेसबुक र इन्स्टाग्राम कसरी सुरक्षित बनाउने थाहा छ। तर उनीहरु त्यस्तो गर्दैनन्। मानिसभन्दा उनीहरुले आफ्नो नाफा देखेका छन्’’, हुगेनले भनिन्।

यस्तै, हुगेनले कम्पनीका संस्थापक मार्क जुकरबर्गको पनि आलोचना गरेकी छन्। उनले जुकरबर्गसँग असीमित शक्ति रहेको बताउँदै जुकरबर्ग स्वंयले बाहेक अरुले उनलाई उत्तरदायी बनाउन नसक्ने बताइन्।

हुगेनले सोमबार फेसबुकको विरोधमा विश्वभरबाट निस्किएको आवाजको प्रशंसा समेत गरेकी छन्। सोमबार अचानक विश्वभर फेसबुक सञ्चालनमा समस्या आएसँगै करीब १० मिलियन मानिसले कडा शब्दमा फेसबुकको आलोचना गरेको बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved